हिमाल पारी शिखर इन्स्योरेन्सको शाखा, स्याउ किसानलाई राहत

पोखरा, २० वैशाख । शिखर इन्स्योरेन्सले हिमाल पारीको जिल्ला जोमसोममा शाखा बिस्तार गरेको छ । हालै एक कार्यक्रमका बीच शाखाको शुभारम्भ गरिएको हो । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईं, बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की, युके एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमका टिम लिडर बलजित बोहरा, मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन, जिल्ला कृषि कार्यालय, जिल्ला प्रहरी कार्यालय, बैंकका ाप्रतिनिधि र स्याउ किसानहरुको उपस्थितिमा शाखा शुभारम्भ गरिएको हो ।

स्याउ खेतीका किसानहरुले समयमा बर्षात नहुँदा फूल कम लाग्ने र स्याउको उत्पादन कम हुने समस्या व्यहोरिरहेका छन् । साथै असिनाको कारणले पनि स्याउ उत्पादन कम हुने र कम गुणस्तरको स्याउ फल्ने समस्या व्यहोरिरहेका छन् । शिखर इन्स्योरेन्स कम्पनीले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहयोगमा नेपालमै पहिलोपटक स्याउ खेती गर्ने जुम्लाका किसानलाई लक्षित गरेर मौसम सूचकांकको आधारमा बीमा शुरु भएको थियो ।

कम्पनीले हाल मुग, कालिकोट र डोल्पामा समेत मौसम सुचकांक बीमा बिस्तार गरेको छ । शिखर इन्स्योरेन्सबाट हालसम्म १ हजार ५ सय भन्दा बढी किसानको करिब ९ करोड बराबरको ४२ हजार स्याउको रुखको बीमा भइसकेको छ । मुस्ताङ शाखाबाट उक्त सेवा अझ प्रभावकारी रुपमा अगाडि बढ्ने कम्पनीको विश्वास छ ।

मुस्ताङका किसानले मध्य चैत देखि मध्य जेठसम्म ४० मिमि वा सो भन्दा कम बर्षात भएमा बीमा गरेका किसानले स्वत क्षतिपूर्ति पाउने छन् । असिनाबाट परेको क्षतिको पनि बीमा गरिने कम्पनीले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मार्फा शाखाको बर्षातको तथ्यांकलाई आधार मानेर क्षतिपूर्ति प्रदान गरिनेछ । बीमा अवधिमा जति कम बर्षात हुन्छ त्यहि अनुसार क्षतिपूर्ति रकम बढ्ने गर्छ । किसानले मौसमी बीमाको लागि सरकारी अनुदान कटाएर बीमाङ्क रकमको २ प्रतिशत र असिनाको क्षतिको बीमाको लागि लागत मूल्यको ०.२५ प्रतिशत बीमा शुल्क तिर्नुपर्छ ।

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको हो । उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईंले बीमाको महत्व बताउँदै शिखरको जोमसोम शाखा उद्घाटन भएकोमा खुशी व्यक्त गरे ।

प्रमुख कार्यकारी अधिकृत पाण्डेले शिखर इन्स्योरेन्सले शहरी क्षेत्र मात्रै केन्द्रित नभएर विभिन्न स्थानमा शाखा बिस्तार गरेको जानकारी गराए । मौसममा आधारित स्याउ खेती बीमा कृषि बीमाको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हुने उनले विश्वास व्यक्त गरे । कम्पनीले निकट भविष्यमा नै सयवटा शाखा पु¥याउने लक्ष्य रहेको उनले बताए । मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले शिखरको जोमसोम शाखा आएपछि बीमा गर्न पोखरासम्म पुग्नुपर्ने बाध्यता अन्त्य हुने धारणा राखे । सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बेलायत सरकार र नेपाल सरकारबीचको द्विपक्षीय सहयोगमा लुइस बर्जरद्वारा अन्य संस्थासँगको सहकार्यमा नेपालमा कार्यान्वयन भइरहेको छ ।

You might also like

Comments are closed.