हिलेखर्कमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय २७ जनाको स्वास्थ्य परिक्षण

तनहुँ ९,मंसिर
रोटरी क्लब अफ दमौलीको आयोजनामा आइतबार आबुँखैरेनी गाँउपालिका वडा नं ६ हिलेखर्कमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरीको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित उक्त निशुल्क स्वास्थ्य शिविर आबँुखैरेनी गाउँपालिकाको सहआयोजना, र मणिपाल शिक्षण अस्पताल पोखराको प्रविधिक सहयोगमा र डाबर नेपाल लगायत अन्य विविध संघसंस्थाको विशेष सहयोग हिलेखर्कमा सम्पन्न भएको हो ।
उक्त शिविरमा ३ सय २७ जनाले उपचार तथा परामर्श लिएका कार्यक्रम संयोजक दामोदर भण्डारीले जानकारी दिए । मणिपाल शिक्षण अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ कृष्ण कोइरालाको नेतृत्वमा आएको विशेषज्ञ टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा एक महिनाको शिशु देखी १०३ वर्षीय वृद्धसम्मको स्वास्थ्य परिक्षण गरिएको आयोजकले जानकारी दिएको छ । शिविरमा १ सय ८७ जना महिला र १ सय ४० जना पुरुषको स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरिएको थियो ।
शिविरमा नाक कान, घाँटी र थाइराइड रोगका विशेषज्ञ डा. कृष्ण कोइराला ,जनरल फिजिसीयन डा. लेखनाथ लम्साल, सुदिप ओली, सुजन शर्मा, बाल रोग विशेषज्ञ डा. सुवास बस्नेत, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. अप्राजिता सिन्हा, असिस्टेंट नर्स सविना रानाभाट, असिस्टंटे फार्मेसी सुरेश आचार्य, सिएमए राजेश क्षेत्रीले सेवा प्रदान गरेका थिए । शिविरमा सम्बन्धित रोगका बिरामीलाई निशुल्क औषधी वितरण तथा स्वास्थ्य सम्बन्धी सल्लाह र परामर्श लगायतका सेवा प्रदान गरिएको थियो ।
रोटरी क्लबका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले सरकारको नजर पुग्न नसकेका दुर्गम क्षेत्रमा रोटरीले सेवा गर्दै आएको बताए । सेवासँगै रोटरीले ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे प्रवद्र्धनमा सहयोग गर्दै आएको उनले बताए । ग्रामीण भेगका मानिसको आर्थिक उन्नतिका लागी यस्ता कार्यक्रमलाई पर्यटनसँग जोडेर हेर्न उनले आग्रह गरे ।
शिविरको आबुँखैरनी गाँउपालिका अध्यक्ष गिर बहादुर थापाले १०३ वर्षीय मंगल बहादुर गुरुङलाई औषधी दिएर उद्धघाटन गरेका थिए । कार्यक्रममा रोटरी क्लब अफ दमौलीका संस्थापक अध्यक्ष एवम् पुर्व सांसद रामचन्द्र पोख्रेल, गाँउपालिका उपाध्यक्ष पुष्पदवी श्रेष्ठ, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत, श्रीकृष्ण पौडेल, डिष्ट्रिक्ट ट्रेनिङ को–ट्रेनर हरिसिं गुरुङ, रोटरी क्लब रिप्लेका इस्ट भर्जिनिया अमेरिकाका पूर्व अध्यक्ष चक कनर, वडा अध्यक्ष सुनाराम गुरुङ, गाँउपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र जोशी, रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ, हिलेखर्क भृकुटी समूहका अध्यक्ष चन्द्रप्रकाश गुरुङ, स्वस्थ्य चौकी प्रमुख रामकृष्ण चौधरी, समाजसेवि नेपाली सेनाका पूर्व कर्णेल सुधिर गोदार, लगायत रोटरीका पूर्व अध्यक्षहरु तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो । उक्त शिविरमा रोट्रयाक्ट क्लब अफ दमौली र इनरह्विल क्लब अफ दमौलीले समेत स्वयंसेवकको रुपमा सहयोग गरेका थिए ।

You might also like

Comments are closed.