हुन्डाइको नयाँ स्यान्ट्रो फागुन पहिलो साता नेपालमा

काठमाडौं, २३ माघ । भारतमा लन्च भइसकेको हुन्डाईको नयाँ स्यान्ट्रो अब नेपाली बजारमा समेत उपलब्ध हुने भएको छ । आगामी फागुन २ गते हुन्डाई स्यान्ट्रो नेपालमा लन्च हुने भएको छ । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सो कार लन्च गर्नेछ ।

सबै कुरा सामान्य भएमा फागुन २ गते सो कार लन्च गर्ने कम्पनी स्रोतले बताएको छ । यद्यपि, कुन भेरिएन्ट आउने र यसको मूल्य कति हुने भन्ने वारेमा भने अहिले केही खुलाइएको छैन ।

कुनै बेलामा निकै नै चर्चित रहेको ब्रान्ड स्यान्ट्रो यो वर्ष पुनः लन्च गरिएको हो । सानो कार भएर पनि नयाँ स्यान्ट्रोको पछिल्लो भागमा एसी भेन्ट्स दिइएको छ, जुन निकै नै राम्रो हो । १.१ लिटर पेट्रोल इन्जिनयुक्त नयाँ स्यान्ट्रो म्यानुअलका साथै स्मार्ट अटोमेटिक गियरबक्सका साथ उपलब्ध छ ।

कम्पनीका अनुसार हुन्डाईको यो नयाँ इन्ट्री लेभलको कार ५ भेरिएन्टमा बजारमा छ । जसमा इरा, म्याग्ना, स्पोर्टेज, स्पोर्टेज (ओ) र आस्टा छन् । यसको सुरुवाती मूल्य ३ लाख ५० हजार भारतीय रुपैयाँ छ । नेपाली बजार मूल्य सार्वजनिक भइसकेको छैन । यद्यपि भारतीय बजारको मूल्य अनुसार अन्दाज भने लगाउन सकिन्छ ।

सबै भेरिएन्टमा सुरक्षालाई विशेष प्राथमिकतामा राखेर एबीएस, इबीडी, अगाडि दुईवटा एयरब्यागजस्ता फिचर दिइएको छ । म्याग्नाभन्दा माथिका सबै भेरिएन्टमा स्टेयरिङ माउन्ट अडियो कन्ट्रोल सिस्टम दिइएको छ ।

यसमा दिइएको सेग्मेन्ट फस्ट फिचरमा रियर एसी भेन्ट, ५ इन्च टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम छ, जसले एन्ड्रोइड अटो र एप्पलकार प्ले सपोर्ट गर्ने छ । स्पोर्टेजको ९ओ० र आस्टा भेरिएन्टमा अलोई ह्वीलसमेत दिइएको छ ।

स्यान्ट्रोमा ११ सय सीसी इन्जिन क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ, जुन भारतीय एमिसन मापदण्ड ‘बीएस–६’ मा आधारित रहेको बताइएको छ । ५ स्पिड म्यानुअल र अटोमेटिक गियर अप्सनमा कार उपलव्ध हुने छ ।

नेपाली बजारमा कुनै समय स्यान्ट्रोले निकै ख्याती कमाएको थियो । पहिले यो कार सिधै कोरियाबाट पनि आयात गरिन्थ्यो । नेपालमा ह्याचव्याक सेग्मेन्टको बजार स्थापित गर्ने श्रेय स्यान्ट्रो कारलाई जाने गरेको छ । बीचमा उत्पादन रोकिएपछि पुनः नयाँ डिजाइनका साथ बजारमा आएको यो कारले भारत र नेपालको दुवै बजारमा लोकप्रियता हासिल गर्ने विश्वास लिइएको छ ।

You might also like

Comments are closed.