हुन्डाईको नयाँ स्यान्ट्रो नेपाली बजारमा, मूल्य र विशेषतासहित

काठमाडौं, ३ फागुन । हुन्डाईको अल न्यु स्यान्ट्रो नेपाली बजारमा औपचारिक रुपमा भित्रिएको छ । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले एक विशेष कार्यक्रमका बीच नयाँ हुन्डाइ स्यान्ट्रो भित्र्याएको हो । लक्ष्मी इन्टरकन्टिनेन्टल र हुन्डाई मोटर्सको साझेदारी १० वर्ष पुगेको उपलक्ष्यमा हुन्डाई स्यान्ट्रो सार्वजनिक गरिएको छ ।

विभिन्न ६ कलरमा उपलब्ध हुन्डाइको नयाँ स्यान्ट्रो चार भेरिएन्टमा उपलब्ध छ । यसको बेस भेरिएन्ट अर्थात म्याग्नाको मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी म्याग्ना एएमटीको मूल्य २८ लाख ५६ हजार, स्पोट्र्जको मूल्य २६ लाख ९६ हजार र स्पोट्र्ज आस्टाको मूल्य २९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

मोडर्न र स्टाइलिस डिजाइन, आरामदायी र प्रिमियम क्याबिन, नयाँ युगको टेक्नोलोजी, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफर्मेन्सका साथ नयाँ स्यान्ट्रो गाडी पुनः नेपाली बजारमा भित्रिएको छ । नयाँ स्यान्ट्रोमा १०८६ सीसी, ४ सिलिन्डर पेट्रोल इन्जिन छ, जसले ६९ पीएस पावर र ९९ एनएमको टर्क प्रदान गर्नेछ ।

टलब्वाई डिजाइन
नयाँ हुन्डाई स्यान्ट्रोले टलब्वाई डिजाइनलाई फेरि ल्याएको छ । यो सेगमेन्टमा यसलाई सबैभन्दा अग्लो र फराकिलो कारमा गन्ती गर्न सकिन्छ । यसको उचाई १६४५ एमएम, चौडाई १५६० एमएम र लम्बाई ३६१० एमएम छ ।

सेगमेन्टमै पहिलो
नयाँ हुन्डाई स्यान्ट्रोको टप भेरिएन्टमा ७ इन्चको इन्फोटेनमेन्ट सिष्टम उपलब्ध छ । यसमा भएको रियर एसी भेन्टले यो सेगमेन्टमा यसलाई विशेष बनाएको छ । यसमा रिभर्स क्यामेरा पनि छ । अघिल्लो भागमा एक यूएसबी पोर्ट पनि उपलब्ध छ । पावर विन्डोजका साथ स्टेयरिङ माउन्टेड कन्ट्रोल्स उपलब्ध छ । यसमा इन्डिकेटर्स सहितको पावर एड्जस्टेबल फोल्डिङ विङ मिरर पनि छ ।

एक एयरब्याग
यसमा ड्राइभर साइडमा एउटा एयरब्याग राखिएको छ । ईबीडीका साथ एबीएस छ । सिटबेल्ट रिमाइन्डर, रियर डिफगर र वाइपर पनि छ । त्यसैगरी रियर पार्किङ सेन्सर छ ।

एएमटीको प्रवेश
हुन्डाईले पहिलो पटक एएमटीको उपयोग स्यान्ट्रोमार्फत गरेको छ । कम्पनीले पहिलो पटक कम मूल्यमा अटोमेटेड म्यानुअल ट्रान्समिसन ९एएमटी० उपलब्ध गराएको छ । यसमा फाइभ स्पिड एएमटी उपलब्ध छ ।

पहिले कुनै समय प्रचलित हुन्डाई स्यान्ट्रोको उत्पादन बीचमा बन्द भएको थियो । नयाँ हुन्डाई स्यान्ट्रोमा भएका विभिन्न फिचर मध्ये कुनैले पुरानो हुन्डाई स्यान्ट्रोलाई सम्झाउने छन् भने कुनैले नयाँ जमानाको कार सावित गर्ने छन् ।

सन् १९९८ मा पहिलो पटक बजारमा उपलब्ध यो कारले भारतीय बजारमा निकै नै सफलता पाएको थियो । तर यो कारको निर्माण सन् २०१४ मा बन्द गरिएको थियो । सो कारको धेरैले ब्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका थिए । अब यसको प्रतिस्पर्धा मारुती सुजुकी वागन आर, टाटा टियागो, मारुती सुजुकी सेलेरियो र रेनो क्विड आदिसँग हुनेछ ।

You might also like

Comments are closed.