सन्देश श्रेष्ठ ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत हेमजा सडक खण्ड हिलाम्मे हुँदा स्थानीयले शास्ती बेहोर्नुपरेको छ । कास्की जिल्लामा पर्ने हेमजा सडक खण्ड निर्माणमा ढिलाई भएसँगै बर्षा याम शुरु भएर वर्षा भएपछि सो सडक खण्ड अन्तर्गत हेमजास्थित अम्विका स्कुलदेखि घट्टेखोलासम्म करीब डेढ किलोमिटरको क्षेत्र हिलाम्मे हुँदा स्थानीयले शास्ती बेहोर्नुपरेको हो । सडक हिलाम्मे भएपछि पोखरा–बागलुङ राजमार्ग भएर आवतजावत गर्ने यात्रु तथा स्थानीयबासीले आफूहरु हैरानीमा परेको बताएका छन् ।
शर्मा एण्ड कम्पनीले ठेक्का लिएर पोखराको याम्दीदेखि घट्टेखोलासम्म इलेट कम्पनी र सुइखेतदेखि नयाँपुलसम्म स्वच्छन्द ईलेट जेभी कम्पनीले निर्माण गरिरहेको छ । आगामी भदौमा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएपनि समयमा नसकिने निश्चित देखिएको छ । ६ लेनमा बिस्तार गरिरहेको सो सडकमा यसअघि २ लेनको पिचसमेत भत्काइएको छ । पुरानो भत्काएको र नयाँ नबनेका कारण सडक हिलाम्मे हुँदा करिब २० मिनेटको बाटो पार गर्न २ घण्टा बढी लाग्ने गरेको स्थानीयबासी बैकुण्ठ भण्डारीले बताए । उनका अनुसार हिलाम्मे बाटो हिंड्दा कयौं यात्रु दुर्घटनामा पर्नुका साथै हिलोमा फस्ने गरेका छन् । उसो त हिलाम्मे बाटोबाट हैरानी खेपिरहेका यात्रुहरु कास्कीकोट–सराङ्कोट हुँदै पोखरा निस्किने वैकल्पिक बाटोको प्रयोग गर्न बाध्य भएको उनले बताए । धम्पुसबासीसमेत नजिकको सिधा बाटो छाडेर वैकल्पिक बाटोबाट पोखरा आउनुपर्ने बाध्यतामा रहेको उनको भनाई छ ।
स्थानीयले सडक निर्माण कम्पनीले बाटो निर्माणमा ढिलासुस्ती गर्नुका साथै गुणस्तरहिन सामग्रीको प्रयोग गरिरहेको आरोप लगाएका छन् । हेमजा विकास निर्माण समन्वय समितिका अध्यक्षसमेत रहेका स्थानीय कृष्ण खड्काले भने, ‘बाटो निर्माणमा लापर्वाही भएको छ, ढिलासुस्तीसँगै गुणस्तरमा पनि तलमाथि भएको छ ।’
स्थानीय ईन्द्रप्रसाद पौडेलले ठेकेदारले डिपिआर लुकाएको तथा मापदण्ड अनुसार काम नगरेको आरोप लगाए । उनले अहिलेकै स्थितिमा बाटो बन्ने हो भने ३ महिनामा बाटो दब्ने दाबीसमेत गरे ।
तर बाटो निर्माणको जिम्मा लिएको इलेट कम्पनीका प्रोपाइटर राजु रानाभाटले भने बाटो निर्माणका लागि गुणस्तरमा सम्झौता नगरिएको जिकिर गरे । साथै उनले बाटो निर्माणमा ढिलाई हुँदा वर्षाले बाटो हिलाम्मे भएर स्थानीय र यात्रुले हैरानी बेहोर्नुपर्दा आफू चिन्तित रहेको बताउँदै भने, ‘भोलिदेखि नै हिलो हटाउन शुरु गर्छौं, ३ दिनभित्र हिलो हटाएर बाटो सहज बनाउँछौं । उनले कोरोनाका कारण ४५ जना मजदुरबाट अहिले १५ जनामा झरेको, निर्माण सामग्रीको अभाव र बिजुलीको पोल सार्न ढिलाई भइरहेकाले तोकिएको मितिमा कुनैपनि हालतमा बाटो बनाउन नसक्ने बताए । सरकारले १ वर्ष म्याद थपिदिएको खण्डमा भने बाटो निर्माण गर्न सकिने बताए ।
यसैबीच, बाटोको अनुगमन गर्दै गण्डकी प्रदेश सांसद रामजी बरालले प्रतिबद्धता अनुसार ३ दिन भित्रमा हिलो हटाएर आवागमन सहज बनाउन निर्देशन दिए । ‘मध्य पहाडी लोकमार्ग देशकै गौरवको आयोजना हो,’ उनले भने, ‘त्यसैले राज्यको ईज्जत राख्नेगरि ईमान्दार साथ काम गर्नुस्, ३ दिन भनेर हिलो हटाउन १५ दिन नलगाउनुस् ।’ व्यवस्था बदलिएकाले कार्यशैली बदल्नसमेत ठेकेदार कम्पनीलाई चेतावनी दिए ।
Comments are closed.