होटल ग्राण्ड र टीका रिसोर्टमा एनआइसीका ग्राहकलाई विशेष छुट

पोखरा । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एशिया बैंकले पर्यटकीय नगरी पोखराका दुई ठूला होटल तथा रिसोर्टसँग सम्झौता गरेको छ । पोखराको पार्दी बिरौटामा रहेको होटल पोखरा ग्राण्ड र पोखराको लेकसाइडमा रहेको टीका रिसोर्टसँग एनआइसीले सम्झौता गरेको हो । सम्झौतासँगै यी दुवै वटा होटलमा एनआइसीका ग्राहकले विशेष छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेशका प्रादेशिक कार्यालयका प्रमुख दीपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहकलाई होटल पोखरा ग्राण्डका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान हुने शर्माले जानकारी दिए ।

टीका रिसोर्टसँग बैंकका तर्फबाट शर्माले र रिसोर्टका तर्फबाट अध्यक्ष टीका पौडेलले हस्ताक्षर गरेका छन् । उक्त रिसोर्टमा बैंकका ग्राहकवर्गले १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको देशभर २ सय ९२ शाखा छन् । ३ सय २ वटा एटिएम, ५१ एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ इकाईको वृहत सञ्जाल छन् । हाल बैंकका ग्राहकको संख्या १७ लाखको हाराहारीमा रहेको शर्माले जानकारी दिए ।

You might also like

Comments are closed.