‘होटल पोखरा ग्राण्डमा बस्दा पर्यटकले गर्वानुभूति गर्छन्’

पोखराको एक मात्र पाँचतारे होटल पोखरा ग्राण्डमा हालको अकुपेन्सी कस्तो छ ?

हाम्रो होटलमा अहिले अकुपेन्सी धेरै राम्रो छ । नयाँ वर्षका लागि भनेर कोठा खोज्ने धेरै आउनु हुन्छ । तर यो बेलाका लागि कोठा प्रि बुकिङ भइसकेका छन् । यसबेला त शतप्रतिशत नै छ होटलको अकुपेन्सी ।

२०१८ मा होटलको अकुपेन्सी कस्तो रह्यो ?
२०१८ होटल पोखरा ग्राण्डका लागि राम्रै रह्यो । पर्यटकहरु केहि बढे । आम्दानी पनि बढेको छ । तर डिसेम्बर महिना भने खराब रह्यो । मेरो बिचारमा अहिलेको डिसेम्बर अहिलेसम्मकै सबैभन्दा खराब रह्यो । त्यस्तै ५५ प्रतिशत मात्रै भयो होला डिसेम्बर महिनाको अकुपेन्सी । यो अघिल्लो वर्षको डिसेम्बर महिनाको भन्दा १० प्रतिशत कम हो । यो वर्ष पर्यटक आगमनमै अलि कमी भयो डिसेम्बरमा ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष कस्तो रह्यो ?
अघिल्लो वर्षको तुलनामा यो वर्षको अकुपेन्सी ८ प्रतिशतले बृद्धि भयो । अघिल्लो वर्ष करीब ६२ प्रतिशत थियो अकुपेन्सी । तर यो वर्ष बढेर करीब ६८÷७० प्रतिशतको हाराहारीमा पुग्यो होटलको अकुपेन्सी । समग्रमा राम्रै भयो भन्नुपर्छ पर्यटकको आगमन । तर सोंचेजस्तो अझैपनि हुन बाँकी छ ।

आन्तरिक कि बाह्य पर्यटक बढी हुन्छन् ?
हाम्रोमा बाह्य पर्यटक नै बढी हुन्छन् । पहिले पहिले त झन् बाह्य पर्यटक मात्रै हुन्थे भन्दापनि हुन्छ । तर पछिल्ला वर्षहरुमा नेपाली पर्यटकको संख्या बढ्दै गएको छ । अहिले ८० प्रतिशत बिदेशी र २० प्रतिशत जति नेपाली पर्यटक होला । खास गरेर आवासीय सम्मेलन तथा सेमिनार गर्ने प्रचलन बढेको छ । त्यहि कारणले नेपाली पर्यटकको संख्या बढेको हो ।

बाह्य पर्यटकमा कुन देशका बढी आउँछन् ?
हाम्रो होटलमा बढीजसो चिनियाँ पर्यटक बढी हुन्छन् । हाम्रो होटलको अकुपेन्सीको झण्डै २५ प्रतिशत पर्यटक चिनियाँ हुन्छन् । अझ चिनियाँको आगमनमा केहि कमी आउन थालेको छ । नत्र त पहिले झन् धेरै हुन्थ्यो । अहिले हामीले होटलका खानाको गुणस्तर बृद्धि गर्नुका साथै फ्यासिटीहरुपनि धेरै दिदै प्राइस पनि केहि बढाएका छौं । त्यसैले सस्तो खोज्ने चाइनिजहरु डाइभर्ट हुँदा हाम्रो होटलमा चाइनिजको संख्या केहि कमी भएको हो । तर हामीले चाइनिजको सट्टा आन्तरिक पर्यटक लक्षित गरेर गुणस्तरीय पर्यटक भित्राउन थालेका छौं । यसले गर्दा अकुपेन्सीमा पनि सुधार आएको छ भने आम्दानीमा पनि बृद्धि भएको छ । पेमेन्ट पनि सजिलै र चाँडै आउँछ । हाम्रो होटलमा चिनियाँ, पछि जापनिज पनि धेरै आउँछन् ।

पोखरा सडक महोत्सवले होटलको अकुपेन्सीमा कत्तिको सघाउँछ ?
स्वाभाविक रुपले महोत्सवकै कारण पर्यटक आगमनमा बृद्धि हुन्छ । अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएकाहरुको होटल पोखरा ग्राण्ड पहिलो रोजाइमा पर्छ । किनकि सस्तो र राम्रो होटल नै पोखरा ग्राण्ड हो । ठिक्क मूल्यमा पाँचतारे होटलमा बस्न पाउनु पर्यटकका लागि अवसर पनि हो । अन्य बेला भन्दा अंग्रेजी नयाँ वर्षको समयमा पर्यटक बढ्छन् । होटलको अकुपेन्सी बढ्छ । यो सब महोत्सवकै कारण हो ।

एकमात्र पाँचतारे होटलमा त अकुपेन्सी फुल हुनुपर्ने होइन र ? किन अकुपेन्सी फुल हुन सकेनजस्तो लाग्छ तपाईंलाई ?
हो, पोखराको एकमात्र पाँचतारे होटलमा अकुपेन्सी फुल हुनुपर्ने हो । स्थायी सरकार छ । राजनीतिक स्थिरता छ । तर पूर्वाधार बन्न सकेको छैन । अनि कहाँबाट आउँछ पर्यटक ? काठमाडौंबाट पोखरा आउन अझैपनि ८ घण्टा लाग्छ । हवाई जहाजबाट आउँछु भन्यो भने मौषमले साथ दिदैन । आउने भनेर टिकट काटेर बसेका पर्यटकको पनि ३÷४ घण्टा फ्लाइट डिले भईदिन्छ । पोखरामा होटलको संख्या पनि थपिदै गएको छ । पर्यटकको संख्या नबढ्ने तर होटलको संख्या बढिरहँदा त्यसको असरपनि सायद देखियो होला । त्यस्तै, हामीले सुविधा दिने तर सस्तो भन्दा महंगो रेट तिर्न तयार पर्यटकलाई केन्द्रीत गरेका छौं । त्यसैले केहि महंगिदा त्यसको असरपनि परेको हुनसक्छ सायद ।

पर्यटक आगमन उच्च बनाउन के गर्नुपर्ला ?
सबैभन्दा पहिले त पूर्वाधार (ईन्फास्ट्रक्चर) बनाउनु पर्छ । पोखरा–काठमाडौं, पोखरा–चितवन, पोखरा–भैरहवालगायत जोड्ने बाटो राम्रो बनाउनु प¥यो । त्यसपछि अन्र्तराष्ट्रिय जगतमा प्रचारप्रसार गर्नुप¥यो । अहिलेपनि मार्केटिङ जिरो छ । माउथ टु माउथ पव्लिसिटीकै कारणले अहिलेसम्म पर्यटक आउने गर्छन् । अहिले वर्षमा एकपटक चलिए पोखरा हुन्छ त्योबाहेक केहिपनि छैन । अब अनलाईन मार्केटिङ गर्नुपर्छ । सँगसँगै नयाँ नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्छ ।

होटल पोखरा ग्राण्ड नै पर्यटकको रोजाइमा पर्नुको कारण के हो ?
होटल पोखरा ग्राण्ड नै पर्यटकको रोजाइमा पर्नुको कारण भनेको यो पोखराको एक नम्बर होटल हुनु नै हो । यो पोखराको एक मात्र पाँचतारे होटलपनि हो । यसमा बस्दा पर्यटकले गर्वानुभूति गर्छन् । हामीसँग सबैभन्दा राम्रो सुविधा छ । पर्यटकमैत्री वातावरण छ । कोठाहरु धेरै छन् । हामीसँग सभा, सेमिनार गर्ने ५ वटा ठूला वैंक्युट हलहरु छन् । जहाँ ८० जनादेखी ५ सय जनासम्म अटाउन सक्छन् । प्रशस्त पार्किङ छ । रमणीय बगैंचा छ । विहान बेलुका वा दिउँसो हिंड्नको लागि प्रशस्त ठाउँ छ । त्यतिमात्र होइन हामी पाहुनालाई उत्कृष्ट सर्भिस दिन्छौं । आतिथ्यता दिन्छौं । सेफ्टी एण्ड सेक्युरिटीको ज्ञारेन्टी हुन्छ । होटलमा ८० वटा सिसी क्यामराहरु जडान गरिएको छ र हरेक पलपलको निगरानी भइरहेको हुन्छ । यी सबै हाम्रा प्लस प्वाइन्टहरु हुन् । त्यसमा होटलको रुमबाटै हिमश्रृंखला देखिनु अर्को यसको महत्वपूर्ण विशेषता हो । त्यसले हिजोआज हाम्रोमा धेरै भन्दा धेरै सरकारी कार्यक्रम र भिभिआइपी कार्यक्रमहरु हाम्रोमा नै हुन्छ ।

होटल पोखरा ग्राण्डमा पर्यटक अटाउने क्षमताचाहिं कति छ ?
हाम्रो होटलमा १ सय ४० वटा कोठाहरु छन् । सबैमा डबल बेड गर्दा २ सय ८० जना अटाउँछन् । हामीसँग सबैभन्दा ठूलो हलमा ५ सय जना सम्म बसेर कार्यक्रम गर्ने हल छ । अर्को २ सय ५०, १ सय ८०, १ सय ५० र ८० जना अटाउने हलहरु छन् ।

पोखरामा होटलहरुको भविष्य कस्तो देख्नु हुन्छ ?
पोखराको भविष्य एकदम राम्रो छ । यो नेपालको वान अफ द बेष्ट टुरिष्ट डेष्टिनेसन हो । यो एकदमै सम्भावना बोकेको ठाउँ हो । यहाँ तालहरु छन् । प्राकृतिक सुन्दरता छ । हिमालहरु छन् । साहसिक खेलकुद (एडभेञ्चर स्पोर्टस्)को गन्तव्य बन्दै गएको छ । त्यस्तै नयाँ नयाँ प्रोडक्ट थपिदै छ भने नयाँ नयाँ एक्टिभिटिजहरुपनि भइ नै रहेका छन् । अझै केहि नयाँ प्रोडक्टहरु र यसको प्रचारप्रसारलाई अन्र्तराष्ट्रियकरण गर्न सकियो भने धेरै नै राम्रो सम्भावना छ पोखराको ।

बार्बिकी चाहीँ कहिलेदेखि सञ्चालनमा आउँदैछ ?
बार्बिकीको तयारी भइरहेको छ । सायद चाँडै नै हुन्छ होला । जनवरी फिप्टिनबाट शुरु गर्नेगरी काम भइरहेको छ । ओपन पुलबार बनाउँदैछौं । त्यसैले अहिले बार्बिकीमा केही ढिलाई भएको हो ।

प्रस्तुति : सन्देश श्रेष्ठ

You might also like

Comments are closed.