होलिको दिन ‘पोखरा होली म्यूजिक फेष्टिवल’ हुने

पोखरा, ३ फागुन

पोखरामा कलाकारको सहयोगार्थ ‘पोखरा होली म्यूजिक फेष्टिवल–२०७५’ हुने भएको छ । पोखरेली कलाकारका लागि कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ आगामी चैत ६ गते कार्यक्रम हुन लागेको हो । लेकसाइड हल्लनचोकस्थित क्याम्पिङचौरमा पूर्वाह्न ११ बजेदेखी साँझ ६ बजेसम्म कार्यक्रम हुने संघका अध्यक्ष सुनिल थापाले जानकारी दिए ।

पूर्वाह्न ११ बजेदेखी दिउँसो २ बजेसम्म डिजे सेसन रहने र सो समयमा पोखरेली चर्चित डिजेहरुले डिजइङ गर्ने र त्यसपछिको समयमा सोलो आर्टिष्ट र अन्त्यतिर पोखरेली चर्चित व्याण्डहरुले प्रस्तुती राखने अध्यक्ष थापाले बताए । उनका अनुसार सोलो आर्टिष्टमा बिनोद बानिया, भाई गुरुङ, सागर साह, आनन्दराज बज्राचार्य, प्राप्ती तुलाचन, बबी सुनारलगायतले प्रस्तुती राख्नेछन् । त्यसपछिको समयमा पोखरेली चर्चित व्याण्डहरु कन्दरा व्याण्ड, डि–मर्चा व्याण्ड, लेकाली र देउराली व्याण्डले प्रस्तुती राख्ने उनले जानकारी दिए ।

कार्यक्रमको तयारी शुरु भइसकेको प्रचार संयोजक बिनोद बानियाले जानकारी दिए । उनका अनुसार कार्यक्रमका लागि कार्यक्रम स्थलको अनुमति लिने, टिकट बनाउने, प्रायोजनका लागि प्रोपोजल बनाउनुका साथै प्रोपोजल लिएर प्रायोजन खोज्ने काम शुरु भइसकेको छ । प्रोपोजल स्थानिय सरकारदेखी प्रदेश तथा संघ सरकारसम्मलाई बुझाइने उनले बताए ।

राष्ट्रको गहना मानिने कलाकार आर्थिक अभावमा उपचारबाट बञ्चित हुने अवस्था आएकाले उनीहरुको उपचारमा सघाउनका लागि कलाकार उपचार अक्षयकोष तथा कलाकार कोष अभिबृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष थापाले बताए । उनले कला संगीतको विकासमा समेत कार्यक्रमले सघाउने बताए ।

फागु पूर्णिमाको दिन रंगसँग संगीत जोडेर होलीलाई विशेष बनाउने प्रयास भएको बताउँदै उनले भने,‘पर्वलाई विशेष रुपमा मनाएर रमाइलोसँगै पोखरेली कलाकारको हक, हित र अधिकार स्थापित गर्दै उनीहरुको उपचारका लागि अक्षय कोष र कलाकार कोषको अभिबृद्धि गर्ने उद्धेश्यले गरिएको कार्यक्रमलाई सम्पूर्ण पोखरेली मिलेर सफल बनाउनका लागि म अपिल गर्न चाहन्छु ।’ उनले प्रायोजन गरेर सहयोग गरिदिनपनि आग्रह गरे ।

कार्यक्रम सम्पन्न गर्न करीब १४ लाख लाग्ने अनुमान गरिएको अध्यक्ष थापाले जानकारी दिए । बचत रकम कलाकार कोष र कलाकार उपचार अक्षय कोषमा बराबर बाँडिने बताए । यद्यपी शुभचिन्तकले कोष रोजेर आर्थिक सहयोग गरे जे का लागि सहयोग गरेको हो, सोहि कोषमा राखिनेपनि स्पष्ट पारे ।

You might also like

Comments are closed.