होलीमा पोखराका सबै कलाकार एउटै मञ्चमा घन्किने

 

पोखरा, ३ चैत

पोखरामा होलीको दिन पोखराका सम्पूर्ण कलाकार एउटै मञ्चमा घन्किने भएका छन् । पोखरा सांगीतिक कलाकार संघ नेपालले यहि चैत ६ गते फागु पूर्णिमाको दिन आयोजना गर्न लागेको ‘पोखरा होली म्यूजिक फेष्टिवल–२०७५’ कार्यक्रममा पोखराका सम्पूर्ण कलाकार एउटै मञ्चमा घन्किने भएका हुन् । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ लेकसाइड हल्लनचोकस्थित क्याम्पिङचौरमा हुने बृहद सांगीतिक कार्यक्रम ‘पोखरा होली म्यूजिक फेष्टिवल–२०७५’ को तयारी लगभग सकिएको हो । कार्यक्रमका लागि प्रायोजक खोज्नेदेखी प्रचारप्रसारलगायत सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष सुनिल थापाले जानकारी दिए । उनले भने,‘स्टेज निर्माणबाहेकका अन्य सबै तयारी पूरा भएको छ, सबै हिसाबले कार्यक्रमलाई भव्य बनाउने तयारी गरेका छौं ।’ कार्यक्रम हिमाअस एजुकेसन कन्सल्टेन्सीको प्रस्तुती र कफी बियाँको मूख्य प्रायोजनमा हुने उनले जानकारी दिए ।

पोखरेली कलाकारहरुले संयुक्त रुपमा पहिलोपटक आयोजना गर्न लागेको यो कार्यक्रम चैत ६ गते पूर्वाह्न ११ बजेदेखी साँझ ६ बजेसम्म हुने अध्यक्ष थापाले बताए । कार्यक्रमको शुरुवातमा डिजे सेसन हुने उनले जानकारी दिए । उनका अनुसार पूर्वाह्न ११ बजेदेखी दिउँसो २ बजेसम्म डिजे सेसन हुनेछ । डिजे सेसनमा डिजे ललितले डिजेइङ गर्नेछन् । दिउँसो २ बजेदेखी ३ः३० बजेसम्म सोलो आर्टिष्टहरुले प्रस्तुती राख्ने उनले बताए । उनका अनुसार सोलो आर्टिष्टमा बिनोद बानिया, भाई गुरुङ, सागर साह, आनन्दराज बज्राचार्य, प्राप्ती तुलाचन, बबी सुनारलगायतले प्रस्तुती राख्नेछन् । त्यसपछिको समयमा पोखरेली चर्चित व्याण्डहरु कन्दरा व्याण्ड, डि–मर्चा व्याण्ड, लेकाली र देउराली व्याण्डले प्रस्तुती राख्ने उनले जानकारी दिए ।

राष्ट्रको गहना मानिने कलाकार आर्थिक अभावका कारण अकालमै मृत्यूको मुखमा पुग्ने अवस्था अहिलेपनि रहेकाले उनीहरुको उपचारमा सघाउनका लागि कलाकार उपचार अक्षयकोष तथा कलाकार कोष अभिबृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष थापाले बताए । उनले कला संगीतको विकास सँगसँगै पर्यटन प्रवद्र्धनमा समेत कार्यक्रमले सघाउने बताए । फागु पूर्णिमाको दिन रंगसँग संगीत जोडेर होलीलाई विशेष बनाउने प्रयास भएको बताउँदै उनले भने,‘पर्वलाई विशेष रुपमा मनाएर रमाइलोसँगै पर्यटन प्रवद्र्धनमा सघाउनुका साथै पोखरेली कलाकारको हक, हित र अधिकार स्थापित गर्दै उनीहरुको उपचारका लागि अक्षय कोष र कलाकार कोषको अभिबृद्धि गर्ने कार्यक्रमको उद्देश्य छ ।’

कार्यक्रमका लागि हङकङबाट १ लाख रुपैयाँ आएको महासचिव राजेन्द्र अधिकारी ‘अपूर्ण’ले जानकारी दिए । भेट्रान्स ग्रुप हङकङबाट आएको १ लाख पत्रकार भेटघाट कार्यक्रमको अवसरमा प्रतिनिधि अर्जुन गुरुङले पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष सुनिल थापालाई हस्तान्तरण गरे । त्यस्तै युकेबाट कान्ति गुरुङ श्रेष्ठ र अनुप श्रेष्ठले १ लाख संकलन गरेर पठाउने क्रममा रहेको पत्रकार भेटघाटमा जानकारी दिइयो । यसैगरी सिमपानी १ एचके गाईजले हङकङबाटै ५० हजार पठाएको अध्यक्ष थापाले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गर्न करीब ६ लाख लाग्ने अनुमान गरिएको पोखरा सांगीतिक कलाकार संघका उपाध्यक्ष सागर शाह ‘एन.जे.’ जानकारी दिए । कार्यक्रमबाट १४ लाख संकलन गरेर ८ लाख बचत गर्ने लक्ष्य राखिएको उनले बताए । बचत रकम कलाकार कोष र कलाकार उपचार अक्षय कोषमा दामासाहीले बाँिडने उनको भनाई छ । कुनैपनि कलाकार विरामी भएमा सोहि कोषबाट उपचारका लागि सहयोग गरिने उनले स्पष्ट पारे ।

You might also like

Comments are closed.