होली म्यूजिक फेष्टिवल आज

आर्थिक आवाज

पोखरा, ६ चैत । पोखरामा आज ‘पोखरा होली म्यूजिक फेष्टिवल–२०७५’ कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा लेकसाइड हल्लनचोकस्थित क्याम्पिङचौरमा ‘पोखरा होली म्यूजिक फेष्टिवल–२०७५’ हुन लागेको हो । कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ कार्यक्रम गर्न लागेको आयोजक पोखरा कलाकार संघले जनाएको छ ।

प्रवेश निःशुल्क रहेको ‘पोखरा होली म्यूजिक फेष्टिवलमा पोखराका चर्चित कलाकारहरुले प्रस्तुती दिने भएका छन् । पोखरामा पोखरेली चर्चित कलाकारहरु पहिलोपटक एकै दिन एउटै स्टेजमा घन्किन लागेका हुन् । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा सांगीतिक कलाकार संघ नेपालले जनाएको छ । कार्यक्रम हिमाअस एजुकेसन कन्सल्टेन्सीको प्रस्तुती र कफी बियाँको मूख्य प्रायोजनमा हुने उनले जानकारी दिए ।

पोखरेली कलाकारहरुले संयुक्त रुपमा पहिलोपटक आयोजना गर्न लागेको यो कार्यक्रम चैत ६ गते पूर्वाह्न ११ बजेदेखी साँझ ६ बजेसम्म हुने अध्यक्ष थापाले बताए । कार्यक्रमको शुरुवातमा डिजे सेसन हुने उनले जानकारी दिए । उनका अनुसार पूर्वाह्न ११ बजेदेखी दिउँसो २ बजेसम्म डिजे सेसन हुनेछ । डिजे सेसनमा डिजे ललितले डिजेइङ गर्नेछन् । दिउँसो २ बजेदेखी ३ः३० बजेसम्म सोलो आर्टिष्टहरुले प्रस्तुती राख्ने उनले बताए । उनका अनुसार सोलो आर्टिष्टमा बिनोद बानिया, भाई गुरुङ, सागर साह, आनन्दराज बज्राचार्य, प्राप्ती तुलाचन, बबी सुनारलगायतले प्रस्तुती राख्नेछन् । त्यसपछिको समयमा पोखरेली चर्चित व्याण्डहरु कन्दरा व्याण्ड, डि–मर्चा व्याण्ड, लेकाली र देउराली व्याण्डले प्रस्तुती राख्ने उनले जानकारी दिए ।

राष्ट्रको गहना मानिने कलाकार आर्थिक अभावका कारण अकालमै मृत्यूको मुखमा पुग्ने अवस्था अहिलेपनि रहेकाले उनीहरुको उपचारमा सघाउनका लागि कलाकार उपचार अक्षयकोष तथा कलाकार कोष अभिबृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष थापाले बताए । उनले कला संगीतको विकास सँगसँगै पर्यटन प्रवद्र्धनमा समेत कार्यक्रमले सघाउने बताए । फागु पूर्णिमाको दिन रंगसँग संगीत जोडेर होलीलाई विशेष बनाउने प्रयास भएको बताउँदै उनले भने,‘पर्वलाई विशेष रुपमा मनाएर रमाइलोसँगै पर्यटन प्रवद्र्धनमा सघाउनुका साथै पोखरेली कलाकारको हक, हित र अधिकार स्थापित गर्दै उनीहरुको उपचारका लागि अक्षय कोष र कलाकार कोषको अभिबृद्धि गर्ने कार्यक्रमको उद्देश्य छ ।’

You might also like

Comments are closed.