१०४ जनाद्वारा आँखादानको प्रतिबद्धता

पोखरा, २७ कात्तिक । पोखरामा १ सय ४ जनाले मरणोपरान्त आँखादान गर्ने प्रतिबद्धता गरेका छन् । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजनामा बुधबार आयोजित आँखादान तथा सचेतना कार्यक्रममा उनीहरुले आँखादानको प्रतिबद्धता गरेका हुन् ।

मृत्युपछि आँखादान गरेर अन्य दृष्टिबिहीनहरुलाई प्रत्यारोपण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर ईन्दु लम्सालले आँखादानको घोषणा गर्नु महान पुण्यको कार्य भएको बताइन् । ‘मृत्युपछि आँखादान गर्न सकिन्छ भन्ने सचेतना फैलाउन पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भनिन् ।

एकजनाले आँखादान गर्दा कम्तीमा पनि २ जना दृष्टिबिहीनले संसार देख्न सक्ने हिमालय आँखा अस्पताल पोखराका कम्युनिटी इन्चार्ज सुवास नेपालले बताए । ‘आँखादानको निकै ठूलो महत्व छ,’ उनले भने, ‘मरेपछि खेर जाने आँखा दान गर्दा अन्य व्यक्तिले संसार देख्नु निकै ठूलो पुण्य कार्य हो ।’

कार्यक्रममा डिष्ट्रिक्टका फस्ट भाइस गभर्नर मनबहादुर रोका सर, सेकेण्ड भाइस गभर्नर विशेश्वर आचार्य, क्याबिनेट सेक्रेटरी विनोद ढुंगाना, नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, जोन चियरपर्सन ठाकुरप्रसाद अधिकारी, प्रथम उपाध्यक्ष विश्वास भण्डारी, द्वितीय उपाध्यक्ष रविराज भुत्र्याल, सहसचिव त्रिलोचन गौतम लगायतले बोलेका थिए । क्लबका सचिव विकास भुर्तेलको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.