सन्देश श्रेष्ठ
पोखरा, ५ जेठ
जिल्ला समन्वय समिति कास्कीले अत्याधुनिक सभाहल निर्माण गर्ने भएको छ । १० करोडको लागतमा जिससले अत्याधुनिक सभाहल निर्माण गर्ने तयारी गरेको हो । दुइ वर्ष भित्र बनाइसक्ने लक्ष्य राखेर सभाहलको डिपीआर बनाउने काम भइरहेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । उनका अनुसार यहि आर्थिक वर्षमा टेण्डर खोल्ने तयारी गरिएको छ । जतिसक्दो चाँडो डिपीआर बनाउने प्रयासमा छौं–उनले भने,‘डिपीआर बन्यो भने यहि आर्थिक वर्षमा टेण्डर खुल्छ ।’
जिल्ला समन्वय समिति कास्कीको कार्यालय परिसरभित्रै निर्माण गर्न लागिएको सभाहल एक हजार सिट क्षमताको हुनेछ । जसमा अन्डर ग्राउण्ड पार्किङ हुने बताइएको छ । उसो त जिसस परिसरमा पनि पर्याप्त पार्किङ रहेको छ । तर सभाहल नै निर्माण गर्ने भएपछि त्यसका लागि ब्यबस्थित पार्किङ बनाउनका लागि अन्डर ग्राउण्ड पार्किङ निर्माण गर्न लागिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।
अत्याधुनिक भवनमा पाँचवटा हल हुनेछन् । भवनको भुईंतलामा मुख्य हल हुनेछ । जुन एक हजार सिट क्षमताको हुनेछ । त्यसपछि माथिल्लो तलामा थप ३ वटा हल हुनेछन् । जुन पचास, सय र एक सय पचास सिट क्षमताको हुनेछ । ठूला तथा साना सबै किसिमका कार्यक्रमहरु जिससकै हलमा गर्नेगरि फरक÷फरक क्षमताको हल बनाउन लागेको प्रमुख क्षेत्रीले बताए । यो भवन बनेपछि अर्को हल खोज्ने समस्या नहोस भनेर यसो गरेका हौं–उनले भने,‘यो हल बनेपछि हल खोज्न कोहिपनि भौतारिनु पर्दैन, सानोदेखि ठूलो कार्यक्रमसम्मका लागि यहि भवन पर्याप्त हुनेछ ।’
पाँचवटा सभाहलको कास्कीका पाँच स्थानिय तह पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिकाको नामबाट राखिने जनाइएको छ । जस अनुसार भुईंतलामा हुने मुख्य सभाहललाई ‘पोखरा सभाहल’ नाम दिइनेछ । माथिल्लो तलामा हुने थप चारवटा हलहरुको नाम ‘अन्नपूर्ण हल’, ‘माछापुच्छ्रे हल’, ‘रुपा हल’ र ‘मादी हल’ राखिने प्रमुख क्षेत्रीले बताए । सबै स्थानिय तहलाइ अपनत्व महशुष गराउँदै स्वामित्व ग्रहण गराउने उद्धेश्यले स्थानिय तहहरुको नामबाट हलहरुको नाम राख्न लागिएको उनको भनाई छ ।
जिल्ला समन्वय समितिको कोषमा रहेको करीब ७ करोड रुपैयाँ भवन निर्माणका लागि खर्चिने तयारी रहेको प्रमुख क्षेत्रीले जानकारी दिए । त्यसबाहेक प्रदेश सरकार र सहरी विकास तथा भवन निर्माण कार्यालयले पनि सहयोग गर्ने बचन दिएको उनले बताए ।
Comments are closed.