१० लाखको लागतमा खुल्यो किसान बजार

सन्देश श्रेष्ठ

पोखराको विरौटामा किसान बजार सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाको १० लाखको लागतमा विरौटाचोक भन्दा केहि माथि किसान बजार खुलेको हो । बजारको मंगलबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे ।

विरौटाको किसान बजारमा २५ वटा स्टलहरु रहेका छन् । विहान ६ बजेदेखि पूर्वाह्न १० बजेसम्म मात्रै बजार सञ्चालन हुने जनाइएको छ । किसानलाई सिधै उपभोक्तासँग जोडेर ताजा र अर्गानिक तरकारी खुवाउने उद्देश्यले सञ्चालनमा ल्याइएको बजारमा किसानलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ । हाल निःशुल्क स्टल उपलब्ध गराइएपनि केहि समयपछि न्यूनतम मात्रामा शुल्क लिइने पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । किसानलाई पालैपालो स्टल उपलब्ध गराइने उनले बताए ।

किसान बजारमा स्थानिय किसानले उत्पादन गरेका सामानहरु मात्रै बेच्नका लागि स्टलमा राख्न पाइने भएको छ । आयातित फलफुल तथा तरकारी भने बेच्न नपाइने प्रमुख कडरियाले बताए । किसान बजारमा तरकारी, फलफुलदेखि स्थानिय उत्पादनहरु कुखुरा, हाँस, खसी, बोकालगायतपनि बेच्नका लागि राख्न पाइने उनले जानकारी दिए । त्यस्तै, चामल, गहुँलगायतका स्थानिय रुपमा उत्पादित खाद्य सामग्रीपनि राखिने उनले बताए । उनका अनुसार स्थानियबासीले उत्पादन गरेका ह्याण्डिक्रयाफ्टका सामानहरुपनि बजारमा राखिनेछ ।

किसान बजारमा होलसेल मूल्य भन्दा २० देखि ३० प्रतिशत बढी मूल्य राखेर खुद्रा बिक्री गरिने कडरियाले बताए । जसका कारण अन्य बजारको तुलनामा सामान सस्तो पाइने उनको भनाई छ ।

महानगरले विरौटाको किसान बजारजस्तै बगर, अमरसिंचोक, वडा नम्बर १५ को कुनै एक स्थान तथा वडा नम्बर ३१ को बेगनासतालमा पनि बजार स्थापना गर्ने तयारी गरेको कडरियाले जानकारी दिए ।

किसान बजारमा बिचौलियालाई प्रवेश निषेध

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले किसान बजारमा बिचौलियालाई प्रवेश निशेध गरिने बताएका छन् । पोखरा १७ विरौटामा मंगलबारदेखि सञ्चालनमा आएको किसान बजारको उद्घाटन कार्यक्रममा बोल्दै उनले बास्तविक किसानलाई मात्रै स्टल उपलब्ध गराइने बताएका हुन् । उनले भने,‘किसान बजारमा बास्तविक किसानलाई मात्रै स्टल दिइन्छ, अर्काको उत्पादन ल्याएर बेच्ने र बढी फाइदा खाने बिचौलियालाई प्रवेश निशेध गरिन्छ ।’

प्रमुख जिसीले अर्गानिक तरकारीलाई प्राथमिकता दिइने बताए । यो बजारमा किसान र उपभोक्ता दुबैलाई फाइदा हुने उनले बताए ।

You might also like

Comments are closed.