१ करोडको लागतमा कास्कीको मादीस्थित लम्तरीमा मन्दिर बन्ने

सन्देश श्रेष्ठ
पोखरा, २२ मंसीर

कास्कीको नादा (लम्तरी)मा एक करोडको लागतमा मन्दिर निर्माण गरिने भएको छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर १० र ११ मा पर्ने लम्तरीमा नादा तमु समाज पोखराको अगुवाईमा मन्दिर निर्माण गरिने भएको हो । समुन्द्री सतहदेखी २ हजार ४६ मिटरको उचाईमा रहेको लम्तरीमा देश विदेशबाट सहयोग रकम संकलन गरेर मन्दिर निर्माण गर्न लागिएको मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष ईश्वरबहादुर गुरुङले जानकारी दिए ।

१६ हजार वर्गफिटको क्षेत्रफल रहेको कम्पाउण्ड भित्र ११० वर्ग स्क्वायर फुटको गोलाई र २३.९ फिटको उचाई भएको लम्तरी मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष गुरुङले बताए । हाल मन्दिर मात्र निर्माण गरिएपनि निकट भविष्यमा मिनि केबलकार निर्माण गर्ने योजना रहेको उनले बताए । उनका अनुसार मिनि केबलकारको लागत स्टिमेट तयार गर्न बाँकी छ ।

बाइसे चौविसे राजाको पालामा दरबार रहेको लम्तरीमा हाल भने मान्छेको बसोबास नभएको नादा तमु समाजका आजिवन सदस्य तथा लम्तरी मन्दिर निर्माण समितिका उपाध्यक्ष ए.एस.पी.नारायणप्रसाद गुरुङले बताए । उनका अनुसार पानीको अभाव र सुविधाको खोजी गर्दै नादाका स्थानिय मादी गाउँपालिका अन्तर्गतकै याङ्जाकोट, भाचोक, वारचोक, पोखरा झरेका छन् । लम्तरीमा बसोबास नभएपनि मानिसहरु पूजा गर्नका लागि लम्तरीका पुराना बासिन्दा अहिलेपनि लम्तरी पुग्ने गरेको उपाध्यक्ष गुरुङले बताए । उनका अनुसार लम्तरीमा हरेक वर्षको साउने सक्रान्तीमा लम्तरी माताको सामुहिक पूजा गरिन्छ । व्यक्तिले पनि आफ्नो ईच्छा अनुसार पूजा गर्नेगरेको उनको भनाई छ । लम्तरी माता लम्तरीबासीको आस्थाको केन्द्र भएको बताउँदै गुरुङले भने,‘हामी लम्तरीबासी दुःखमा होस् वा शुभ कार्यमा, लम्तरी मातालाई नै पहिले सम्झन्छौं, लम्तरी माता हामी सबैको आस्थाको केन्द्र हो ।’

मन्दिर निर्माणका लागि हालसम्म ६३ लाख ९८ हजार ९ सय ७४ रुपैयाँ संकलन भइसकेको मन्दिर संरक्षण तथा विकास समितिका कोषाध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए । मन्दिर निर्माणका लागि नादा तमु समाज हङकङबाट २१ लाख ९४ हजार १ सय ७५, नादा तमु समाज यू.के.बाट २१ लख ७१ हजार ७ सय ८७ र नादा तमु समाज पोखराबाट २० लाख ३३ हजार १२ रुपैयाँ प्राप्त भएको हो । सहयोग रकम शनिबार आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको छ । मादी गाउँपालिकाले पनि ५ लाख दिने घोषणा गरेको र सो रकम मन्दिरको गेट र कम्पाउण्ड घेर्न खर्च गरिने सो अवसरमा जानकारी दिईयो ।

सहयोग रकम सफाचट तरिकाले खर्च गर्ने मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष ईश्वरबहादुर गुरुङले प्रतिबद्धता जनाए । उनले सरकारको आशामा बस्ने हो भने विकास गाउँसम्म नपुग्ने बताउँदै भने,‘सरकार गर्छु मात्र भन्छ, केबलकार बनाउँछु भन्छ, बाटो बनाउँछु भन्छ, तर बनाउँदैन, यदी बनाई हाल्यो भनेपनि हामीसँगै पैसा उठाउने हो ।’

नादा तमु समाज पोखराका अध्यक्ष आसपुर गुरुङले हिसाबकिताब चुस्तदुरुस्त राखेर समयमै मन्दिर निर्माण गर्न आग्रह गरे ।

नादा तमु समाज यू.के.का अध्यक्ष उत्तमबहादुर गुरुङले मन्दिर निर्माणका लागि रकम अपुग भए पछिपनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नादा तमु समाज हङकङका अध्यक्ष लालप्रसाद गुरुङले पनि मन्दिर निर्माणका लागि सबैको होस्टेमा हैंसे रहने भन्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.