१ सय ३४ किसानलाई कृषि सामग्री

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २० ले वडा भित्र रहेका अति विपन्न कृषकहरुलाई सहयोग सामग्री वितरण गरिएको छ । वडाभित्र रहेका १ सय ३४ किसानलाई कृषि सामग्री वितरण गरिएको हो । वडा स्तरीय बजेट १० लाख मध्ये पशुपालक किसानलाई ५ लाख र खेतीपाती गर्ने किसानलाई ५ लाखको सामग्री वितरण गरिएको हो । जसमध्ये कृषि तर्फ ७७ र पशुपालनतर्फ ५७ जना कृषकलाई आधुनिक कृषि सामग्री प्रदान गरिएको छ ।

किसानलाई आधुनिक शैलीबाट खेतीपाती गर्नका लागि हाते ट्रयाक्टर, टनेल प्लाष्टिक, असिना जाली, फलामे हलो जस्ता सामग्री वितरण गरिएको वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए । सामग्रीसंगै किसानहरुलाई प्राङगारिक तथा गड्यौला मल बनाउने तालिम र वेमौसमी तरकारी खेती सम्बन्धि तालिम प्रदान गरिएको छ । आधुनिक कृषि सामग्री प्रदान गर्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले आधुनिक कृषितर्फ उन्मुख महानगर बनाइ महानगर भित्र उत्पादन भएका कृषि सामग्रीको उपयोगलाई महानगरले पहिलो प्राथमिकतामा राखेको बताए । पोखराका सम्पूर्ण वडाहरु कृषिजन्य बस्तुको उत्पादन हुने वडा भएकाले यहांका वडालाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको जिसीले वताए ।

वडाले ७ थान हाते ट्याक्टर जसमा देउराली अर्गानिक सहकारी र पिपलडाली सहकारीलाई १÷१ थान, महेन्द्र उच्च मावि वाली विज्ञान अध्ययनका लागी १ थान, र मौजा र भलाममा गरी ४ थान प्रदान गरिएको छ । जसले टोलछिमेक वरपर ट्रयाक्टर जाने ठाउ हेरी अन्य ब्याक्तिको समेत जग्गामा उपयोग गर्ने गरी वितरण गरेको वडा अध्यक्ष गुरुङले जानकारी दिए ।

वडाले २५ जना कृषकलाई प्लाष्टिक टनेल, २५ जनालाई असिना जाली र २० जनालाई फलामे हलो प्रदान गरेको छ । पशुपालन तर्फ ४३ विपन्न वर्गका किसानलाई कुखुराको चल्ला वितरण गरिएको छ भने १ वटा फर्मलाई कुखुरा फर्म सुदृढीकरण, २ किसानलाई उन्नतजातको बोका खरिदका लागि अनुदान प्रदान गरिएको छ । तीनवटा पशुपालक किसानलाई चाप कटर घांस काट्ने मेसिन, ३ वटा कृषकलाई गोठ सुधारका लागि अनुदान, २ वटा कृषकलाई खोर सुधार, प्रजनन योग्य उन्नत जातको रागो खरिदका लागी २ जना कृषकलाई अनुदान प्रदान गरिएको छभने डिपिङ ट्याङ्क खरिदका लागी समेत रकम छुट्याइएको छ ।

वडास्तरीय वजेट अन्तर्गत अघिल्लो वर्ष प्रदान गरिएको अनुदान रकम बास्तविक किसान समक्ष नपुगेको गुनासो आएपछि यो पटक बास्तविक किसान समक्ष पुगोस भनी विभिन्न समितिहरु निर्माण गरी परम्परागत कृषि प्रणालीलाई विस्थापन गरी आधुनिक कृषि प्रणालीलाई अंगीकार गर्ने गरी यो पटक किसान र पशुपालक किसान त्यसमा पनि अति विपन्नलाई लक्षित गरी प्रदान गरिएको वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.