३४ अर्ब लगानीमा वीरेठाँटी–मुक्तिनाथ केबलकार

सुरेन्द्र पौडेल
पोखरा, १६ जेठ । कास्की र पर्वतको सीमाक्षेत्र वीरेठाँटीदेखि प्रशिद्ध धार्मिक क्षेत्र मुक्तिनाथ जोड्नेगरी केवलकार सञ्चालन हुने भएको छ । मुक्तिनाथ दर्शन प्रालिले ३४ अर्ब रुपैयाँ लगानीमा केवलकार निर्माणको तयारी गरेको हो । ८१ दशमलव ५ किलोमिटर लामो केवलकार निर्माण गरिने प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रीधर सापकोटाले जानकारी दिए । केवलकार निर्माणको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न १८ महिना लाग्नेछ । डीपीआरको लागि नेपाल लगानी बोर्डले प्रालिलाई स्वीकृति दिइसकेको छ । डीपीआरको काम गर्न सरकार र प्रालिबीच छिट्टै समझदारी पत्रमा हस्ताक्षर (एमओयु) हुने सापकोटाले बताए । ‘एमओयुको ड्राफ्ट तयार छ,’ उनले भने, ‘अब केही दिनमा हस्ताक्षर हुन्छ र काम सुरु गर्छौं ।’

१८ महिनामा डीपीआर र इएआइ सकेपछि सरकारले पीडीए गर्छ । त्यसपछि २ वर्षभित्रमा अर्थ व्यवस्था गरी निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउने प्रालिको लक्ष्य छ । लक्ष्य अनुसार काम भएमा ५ देखि ६ वर्षभित्र केवलकार पूर्ण रुपमा सञ्चालनमा आउने सापकोटाले बताए । कूल लगानी मध्ये विदेशी लगानी २८ अर्ब रुपैयाँ हुनेछ । ६ अर्ब रुपैयाँ स्वदेशी लगानी मध्ये ३ अर्ब ३० करोड रुपैयाँ नेपाली प्रवद्र्धकहरुले लगानी गर्नेछन् । २ अर्ब ७० करोड रुपैयाँ सर्वसाधरण सेयरबाट जम्मा गर्ने प्रालिको तयारी छ । सम्भाव्यता अध्ययनको लागि ५ देखि ६ करोड रुपैयाँ र डीपीआर तयार पार्नका लागि १५ करोड खर्च हुने प्रालिको अनुमान छ । विदेशी ख्यातिप्राप्त कम्पनीले सम्भाव्यता अध्ययन गर्ने सापकोटाले बताए ।

वीरेठाँटीबाट सुरु भएको केवलकार घोरेपानी, तातोपानी, लेते, मार्फा, जोमसोम, कागबेनी हुँदै मुक्तिनाथ पुग्नेछ । ३ घन्टा भन्दा कम समयमा वीरेठाँटीबाट मुक्तिनाथ पुग्न सकिने सापकोटाले जानकारी दिए । प्राविधिक रुपमा ३० मिनेट भन्दा बढी केवलकारमा यात्रा गर्न नमिल्ने भएकाले ठाउँ ठाउँमा स्टेसन राखेर यात्रुलाई विश्रामको सुविधा प्रदान गरिने सापकोटाले जानकारी दिए । ‘बिहान पोखराबाट हिडेको व्यक्ति साँझ पोखरा नै आउन सक्ने गरी सेवा प्रदान गर्नेछौं,’ उनले भने ।

नेपालीलाई ६ हजार रुपैयाँमा, भारतीयलाई ६ हजार भारु र विदेशीलाई १ सय डलरमा सेवा प्रदान गर्ने प्रालिको लक्ष्य छ । वर्षमा ३६ लाख पर्यटनलाई मुक्तिनाथ पु¥याउन सक्ने क्षमता प्रालिसँग रहने बताइएको छ । ‘दिनकोे १० हजार पर्यटकलाई मुक्तिनाथ लैजान सकिन्छ,’ सापकोटाले भने ।

विश्व प्रशिद्ध प्रविधिको प्रयोग गरेर केवलकार निर्माण गरिने सापकोटाले जानकारी दिए । भूकम्प जाँदा नजिकको गोन्डुलासम्म सहजै पुग्न सकिने तथा सय किलोमिटर प्रति घण्टा सम्मको हावाले पनि कुनै असर नगर्ने प्रविधि केवलकारमा हुने उनले बताए । ठाउँठाउँमा रेस्क्यु स्टेसन, रेस्क्यु सवारी साधन र भ¥याङ तयारी अवस्थामा राखिने बताइएको छ । रेस्क्युका लागि निजी हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिने सापकोटाले बताए ।

केवलकारमा ५ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने प्रालिको योजना छ । ‘अप्रत्यक्ष रुपमा धेरैले रोजगारी पाउनेछन्,’ सापकोटाले भने । होेटलहरुको संख्या प्रशस्त बृद्धि हुनुका साथै पर्यटन क्षेत्रमा अन्य लगानी बढाउन पनि केवलकारले योगदान पु¥याउने प्रालिको दावी छ । ‘साइड टुरिजमहरु प्रशस्त बढ्छन्,’ सापकोटाल भने । केवलकार निर्माणको लागि प्रालिले अध्ययन अनुमति पाइसकेकाले छिट्टै एमओयु हुने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । वैदेशिक लगानी भित्र्याउन र पर्यटक बढाउन केबलकार निर्माणले सहयोग पुग्ने उनले बताए । प्रालिले लगानी बोर्डमा गरेको प्रस्ताव अनुसार समयमा नै काम हुनुपर्ने उनले बताए ।

You might also like

Comments are closed.