५ वर्षमा गर्ने विकासका काम २ वर्षमै गर्न मुख्यमन्त्रीको निर्देशन

सन्देश श्रेष्ठ
पोखरा, ८ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पहिलो पटक गाउँ सभालाई सम्बोधन गरेका छन् । मुख्यमन्त्री गुरुङले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको सभालाई पहिलोपटक सोमबार सम्बोधन गरेका हुन् । माछापुच्छ्रे गाउँपालिकाको चौथो गाउँ सभालाई सम्बोधन गर्न मुख्यमन्त्री गुरुङ सोमबार दिउँसो गाउँपालिकाको कार्यालय पुगेका थिए ।

गाउँपालिकालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले हचुवाको भरमा विकासका काम नगर्न निर्देशन दिएका छन् । हतारमा विकासका काम गर्दा बिनास निम्तिने चेतावनी दिदै उनले भने,‘हतार गरेर, हचुवा वा लहडको भरमा विकासका कामहरु नगर्नुस्, यसले विकास भन्दापनि बिनास निम्तिन सक्छ ।’ उनले विकासका काम गर्दा गुरु योजना बनाएर काम गर्न सुझाव दिए । मुख्यमन्त्री गुरुङले जुनसुकै काम गर्दा विधि र प्रक्रिया पु¥याएर काम गर्न आग्रह गरे । गाउँपालिका सिक्ने ठाउँपनि भएको बताउँदै उनले भने,‘कुनैपनि काम गर्दा विधि र प्रक्रिया पु¥याएर मात्रै गर्नुहोला ।’

मुख्यमन्त्री गुरुङले ५ वर्षमा गर्नुपर्ने विकासका काम अबको २ वर्ष भित्र गरिसक्ने गरी काम गर्नपनि निर्देशन दिए । जनताको अपेक्षा सगरमाथा भन्दा पनि ठूलो भएको बताउँदै उनले भने,‘२ वर्ष यताउता गरेरै गइसक्यो, पछिल्लो १ वर्ष चुनाव लागिहाल्छ, त्यसैले अबको २ वर्षमै विकासका सबै काम गरि सक्नुपर्छ ।’ श्रोत र साधानको अभावमा काम गर्न नसकेको बताउँदै उनले भने,‘संघीयता पछिको ऐतिहासिक जिम्मेवारी पाएका छौं, यसले गर्दा नाम त लेखिने भयो तर कामचाहिं नहुने भयो ।’

मुख्यमन्त्री गुरुङले गाउँपालिकालाई समाजवाद उन्मुख भएर काम गर्नपनि निर्देशन दिए । समाजवादकै मर्म अनुसार शिक्षा र स्वास्थ्य सरकारले लिने बताए । उनले शिक्षातर्फको नीजि लगानी १०÷१५ वर्ष सम्ममा गैर नाफामूलक बनाउँदै त्यो पुँजीलाई उद्योग तथा कलकारखानामा लगाइने बताए ।

मुख्यमन्त्री गुरुङले अधिकांश नगर तथा गाउँपालिकाका उपाध्यक्षहरुलाई उपेक्षा गरिएको भन्द्र त्यस्तो नगर्न सचेत गराए । उनले भने,‘उपाध्यक्ष अध्यक्षको छायाँमात्र होइन, न्याय प्रमुख पनि हो, उपाध्यक्षपनि कार्यकारी नै हो, त्यसैले न्यायोचित तरिकाले कामको बाँडफाँड गर्नुपर्छ ।’ उनले गाउँपालिकाका सदस्यहरुपनि संघ र प्रदेशका विधायक जत्तिकै हैसियत राख्ने भन्दै उनीहरुलाई पनि समुचित तरिकाको सेवा सुविधा उपलब्ध गराउनुपर्ने र त्यसका लागि आफुले आवाज उठाउँदै आएको बताए । उनले भने,‘संघ र प्रदेशका सांसदले ऐन, कानून बनाउँदा सेवा सुविधा पाउने, अनि गाउँपालिकाका सदस्यलेचाहिं किन नपाउने ? यो विभेद हो, यस्ता विभेद हटाउनुपर्छ र न्यायोचित तरिकाले सेवा सुविधा वितरण हुनुपर्छ ।’

मुख्यमन्त्री गुरुङले संघीय सरकारले जेठो दाइको मानसिकता राखेर अंश नदिदा जनताले दुःख पाइरहेको बताए । दाजुभाईमा समान अंश लागिनुपर्ने बताउँदै उनले भने,‘संघीय सरकारले जेठो दाइको मानसिकता राखेको छ र सबै अंश लिन खोजेको छ, तर उसले माइलो प्रदेश र कान्छो स्थानिय तहलाई पनि बुबाआमाले झैं गरेर समान अंशवण्डा गर्नुपर्छ ।’ उनले जेठो दाइको मानसिकताले कामै नभएपनि ४७ हजार कर्मचारी राखेको तर प्रदेश र स्थानिय तहमा थोरैमात्र कर्मचारी पठाएको आरोप लगाए । संघमा १५ हजार कर्मचारी भए पुग्ने बताउँदै उनले बाँकी कर्मचारी प्रदेश र स्थानिय तहमा पठाउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री गुरुङले बामपन्थीको दुई तिहाईबाट त्रसित दक्षिण तिरको शक्ति भित्रभित्रै षडयन्त्रमा लागिरहेको आरोप लगाए । नेपालमाथीको प्रभुत्व हट्दै गएपछि भारत आत्तिएको बताउँदै उनले भने,‘दुई तिहाईको सरकार बनेपछि भारतको प्रभुत्व हट्दै गएको छ, अहिले उसलाई छटपटी भएको छ, यो सरकार ५ वर्ष सम्मै टिक्यो भने नेपालको प्रभाव भारतमा पनि देखिन्छ भन्ने उसलाई डर छ, त्यसैले त उसकै षडयन्त्रमा दुईं तिहाईको सरकारले केहि गर्न सकेन, दुई तिहाई आएरपनि स्थिरता छैन भन्दै हल्ला चलाइएको छ, भ्रम फैलाइएको छ ।’ उनले बाम सरकार बनेपछि १०५० को सन्धी पुनरावलोकन गर्ने वातावरण बनेको र त्यसको आधा काम भएपछि भारत त्यसको स्वामित्व लिन डराएको टिप्पणी गरे ।

मुख्यमन्त्री गुरुङले नेपाल अन्र्तराष्ट्रिय कम्युनिष्टको केन्द्र बन्दै गएको बताए । उनले नेपाल कम्युनिष्टको केन्द्र बन्दै गएपछि अमेरिका पनि नेपालसँग निकट हुन खोजेको र धेरैपछि नेपालको परराष्ट्रमन्त्रीलाई बोलाएर सौहाद्रता देखाउन खोजेको बताए । उनले चीन निकट मित्र बन्न खोजेपनि अन्र्तराष्ट्रिय चासोका कारण सहज भने नभएको बताए ।

You might also like

Comments are closed.