७८ करोड कर तिर्न पत्र आएपछि बेहोस

काठमाडौं, २६ पुस । राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेष्ठले गृहजिल्ला पाँचथर छाडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । संयोगले पत्र आएका वेला उनका दाइ घर पुगेका थिए । उनले सो पत्र काठमाडौं ल्याएर भाइलाई दिए ।

पत्र खोलेर पढेका मात्र के थिए, लीलाप्रसाद बेहोस भए । आफन्तले उनलाई हतार–हतार अस्पताल पुराए । किनभने त्यो सामान्य पत्र थिएन । पत्रमा लेखिएको थियो, ‘तपाईंको नाममा रहेको सुन्द्रादेवी टेलिटक प्रालि (स्थायी लेखा नम्बर ६०२४१८४२१) ले कर दाखिला नगरेको हुँदा यस कार्यालयमा उपस्थित हुनुहोला ।’ कम्पनीको नाममा ७८ करोड रुपैयाँ कर दायित्व थियो । कहिल्यै व्यापार नगरेका लीलाप्रसादलाई ७८ करोड तिर्नुपर्ने पत्र आएपछि बेहोस भएका थिए ।

उनका कतिपय आफन्तलाई पत्र नक्कली हो कि भन्ने लाग्यो । तर, कर कार्यालयमा गएर बुझ्दा पत्र सक्कली नै भन्ने खुल्यो । थप विवरण हेदा अरूले नै उनको नागरिकताका आधारमा कम्पनी दर्ता गरेर कारोबार गरेको खुल्यो । आर्थिक वर्ष ०७१÷७२ को ९ महिनाको अवधिमा सो कम्पनीले २ अर्ब ४२ करोडको कारोबार गरेको थियो । त्यसपछि कर कार्यालयमा सम्पर्क नराखेपछि नागरिकताका आधारमा लीलाप्रसाद श्रेष्ठको नाममा पत्र लेखिएको थियो ।

नेपाल स्याटेलाइट नेपाल प्रालिसँग सहकार्य गरी एनसेलको सिम तथा रिचार्ज कार्ड बिक्रीको जिम्मा लिएको सो कम्पनीले नौ महिनामा २ अर्ब ४२ करोडको कारोबार गर्दा एक रुपैयाँ पनि कर तिरेको थिएन । लीलाप्रसाद श्रेष्ठ स्याटेलाइट कम्पनी गएर बुझ्दा विजयनारायण श्रेष्ठ नामका व्यक्तिले कारोबार गरेको खुल्यो । तर, विजयनारायण फेला परेनन् । उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा गएर उजुरी दिए । त्यसपछि अनुसन्धान सुरु भयो ।

अनुसन्धान ब्युरोले सुरुमा काभ्रे घर भई कोटेश्वर बस्ने विजयनारायण श्रेष्ठलाई पक्राउ ग¥यो । उनले लीलाप्रसादको नागरिकता कोटेश्वरको बाटोमा भेट्टाएको बयान दिए । त्यसपछि रमेश दाहालसँग मिलेर काम गरेको बताए । नागरिकताका आधारमा कम्पनी दर्ता गर्ने जिम्मा रमेशलाई दिएका थिए ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा बिचौलियाको रूपमा काम गर्ने शरद रिजालमार्फत कम्पनी दर्ता गरेको रमेशले बताए । शरदले कार्यालय सहयोगी सुनील कार्कीको नाम लिए । सुनीललाई पक्राउ गरी सोधपुछ गर्दा उनले अधिकृत टेकबहादुर पुलामीको संलग्नता खुलाए । टेकबहादुरलाई पनि सिआइबीले पक्राउ गरी मुद्दा दायर गरेको छ । उनले सहसचिव तोयानाथ अधिकारीले कम्पनी स्वीकृत गरेको बताएका छन् । तोयानाथलाई समेत प्रतिवादी बनाएर लिखतसम्बन्धी कसुर मुद्दा दायर गरिएको छ । नयाँ पत्रिका दैनिकबाट ।

You might also like

Comments are closed.