९ सय ७० जना चालक र सहचालकको आँखा परीक्षण

पोखरा, १३ फागुन ।

६५ वर्षीय गंगाप्रसाद जोशीले ३० वर्षदेखि सार्वजनिक यातायात चलाउँदै आइरहेका छन् । अझै पनि उनको दैनिकी सार्वजनिक यातायात चालकबाट नै चल्दै आइरहेको छ । उनी आइतबार निकै खुसी भए । सार्वजनिक यातायात चालक र सहचालकका लागि आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा आफ्नो आँखा जचाउन पाउँदा जोशी मात्र होइन करिब १ हजार जना चालक र सहचालकहरु खुसी देखिन्थे ।

लायन्स क्लब अन्तर्राष्ट्रिय स्थापनाको सय वर्ष तथा हिमालयन आँखा अस्पताल पोखराको २५औं वार्षिकोत्सवको अवसरमा आइतबार पृथ्वीचोकमा उक्त शिविर आयोजना गरिएको हो । डिष्ट्रिक्टको रिजन ४ अन्तर्गतका क्लबहरुको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरबाट ९ सय ७० जनाको आँखा परीक्षण गराइएको रिजन चियरपर्सन तथा कार्यक्रम संयोजक विनोद ढुंगानाले जानकारी दिए । पोखरा क्षेत्रमा रहेका यातायातसँग सम्बन्धित सम्पूर्ण संघसंस्थाहरुको सहयोग तथा सहकार्यमा कार्यक्रम गरिएको हो ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले चालक र सहचालकका लागि आयोजित आँखा परीक्षण कार्यक्रमलाई डिष्ट्रिक्टले प्राथमिकतामा राखेको बताए । ‘एउटा चालकको आँखाले सयौं यात्रुको आँखाको प्रतिनिधित्व गर्छ,’ उनले भने, ‘चालकहरुको आँखा परीक्षणले दुर्घटना न्युनीकरणमा समेत योगदान पु¥याउँछ ।’ विशेष अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष तथा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले लायन्सले गरेको सामाजिक काम प्रशंसनीय रहेको धारणा राखे ।

हिमालयन आँखा अस्पताल पोखराका अध्यक्ष डा. दीलबहादुर क्षेत्रीले सामाजिक संघसंस्थासँग सहकार्य गरेर आँखा परीक्षण शिविर सञ्चालनमा अस्पतालले साथ दिने प्रतिबद्धता व्यक्त गरे । रिजन चियरपर्सन विनोद ढुंगानाको सभापतित्वमा आयोजित शिविरको उद्घाटन कार्यक्रममा हिमालय आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र महर्जन, गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात समन्वय समितिका अध्यक्ष पदमबहादुर केसी, डिष्ट्रिक्टका सेन्टेनियल प्रोग्राम र सेलेबे्रसन डिपार्टमेन्ट चिफ तथा सिनियर एडभाइजर राजेन्द्रकुमार बाटाजू, साइट फस्ट र भिजन डिपार्टमेन्ट चिफ तथा सिनियर एडभाइजर सुचित्रा थापा लगायतले बोलेका थिए ।

चालक र सहचालकका लागि आँखा परीक्षण पश्चात आवश्यकता अनुसार चस्मा तथा औषधी समेत निःशुल्क वितरण गरिएको डिष्ट्रिक्टका मिडिया रिलेसन कमिटि मेम्बर तथा कार्यक्रमका प्रचारप्रसार संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए । ‘कार्यक्रम निकै प्रभावकारी बन्यो,’ उनले भने ।

शिविर आयोजक क्लबहरुमा रिजन अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्याड्स, गार्डेन सिटी, पिस चौतारी, मेट्रो सिटी, मिड टाउन, पिस हिमालयन सिटी, लायन्स सिटी र पिस प्याराडाइज रहेका थिए ।

 

 

You might also like

Comments are closed.