अधिकारीको शव शुक्रबार पोखरा ल्याईंदै

आर्थिक आवाज
पोखरा, १६ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टी शुक्रबार पोखरामा हुने भएको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री अधिकारीको अन्त्येष्टी शुक्रबार गृहजिल्ला कास्कीको पोखरास्थित रामघाटमा गरिने भएको हो । अधिकारीको अन्त्यष्टी पोखरामा हुने भएपछि उनका बाबाआमा बिहीबार नै पेखरा आएका छन् ।

अन्येष्टी अघि पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । प्रदर्शनी केन्द्रको दक्षिणी साइडमा श्रद्धाञ्जलीका लागि शव राख्ने ठाउँसमेत तयारी अवस्थामा राखिएको छ । श्रद्धाञ्जलीका लागि अधिकारीको शव शुक्रबार दिउँसो १२ बजेपछि ल्याइने नेकपाका नेता राजकाजी गुरुङ ‘करण’ले जानकारी दिए । यसअघी शुक्रबार विहानै शव ल्याएर प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि ४ घण्टा राख्ने तयारी गरिएपनि काठमाडौंबाटै शव ल्याउन ढिला भएपछि प्रदर्शनी केन्द्रमा करीब २ घण्टा मात्रै श्रद्धाञ्जलीका लागि राख्ने तयारी गरिएको गुरुङले बताए ।

बिहीबार अपराह्न देखिनै काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राख्ने तयारी गरिएपनि पोष्टमार्टममा ढिलाई भएपछि शुक्रबार विहान ८ बजेदेखी पूर्वाह्न ११ बजेसम्म राखिने भएको छ । काठमाडौंमा ११ बजेसम्म राखेर त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत अधिकारीको शव पोखरा ल्याइने गुरुङले जानकारी दिए । अधिकारीको शव लिएर आएको सेनाको हेलिकप्टर सिधै प्रदर्शनी केन्द्रमा अवतरण हुने बताइएको छ ।

प्रदर्शनी केन्द्रमा करीब २ घण्टा राखेपछि शव यात्रासहित रामघाटमा अन्त्येष्टी गरिने नेता गुरुङले जानकारी दिए । उनका अनुसार अन्येष्टीअघी प्रदर्शनी केन्द्र नयाँबजारबाट शुरु भएको शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोकहुँदै रामघाटमा लगेर अन्त्येष्टी गरिनेछ ।

अधिकारीको राजकीय सम्मान साथ अन्त्येष्टि गर्ने नेपाल सरकारले यसअघी नै निर्णय गरिसकेको छ । अन्त्येष्टीमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री, मन्त्रीहरु तथा नेकपा नेता बामदेव गौतमलगायतका नेताहरु सहभागि हुन पोखरा आउने नेकपाका नेता राजकाजी गुरुङ ‘करण’ले जानकारी दिए । अन्त्येष्टीमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सहभागि हुने सम्भावना कम रहेको श्रोतले बताएको छ । व्यस्तताका कारण उहाँहरु सहभागि हुने सम्भावना कम रहेको नेकपा निकट श्रोतको भनाई छ ।

यसैबीच, नेकपा गण्डकीले फागुन १९ गते प्रदेशका सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको छ । नेकपाका नेता भीम कार्कीले सतहत्तरै जिल्लाका पार्टी कार्यालयमा राखिएका झण्डा ३ दिन आधा झुकाउने निर्णय भएको जानकारी दिए । उनका अनुसार प्रदेशका सबै पालिकाहरुमा २४ गतेसम्म शोक सभा गर्ने निर्णय भएको छ ।

पर्यटन मन्त्री अधिकारीसहित हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाको शव विहीबार ताप्लेजुङबाट काठमाडौं लगिएको थियो । काठमाडौं लगेलगत्तै पोष्टमार्टमका लागि टिचिङ हस्पिटल लगिएको थियो । पोष्टमार्टममा पर्यटनमन्त्री रवीन्द्र अधिकारी र उनका सुरक्षा गार्ड अर्जुन आचार्यको मात्रै शव पहिचान भएपछि अन्यको शव पहिचानका लागि डि.एन.ए.टेष्ट गर्नुपर्ने भएको छ ।

You might also like

Comments are closed.