म्याग्दी । वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहरणका लागि ४२ जनाले अनुमति लिएका छन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ ।
वसन्तयामका लागि चार समुहका ३० पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिइन् ।
उनका अनुसार वसन्तयामका लागि हालसम्म नेपालका पाँच वटा हिमाल आरोहरण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण आरोहण गर्नेहरू छन् । अघिल्लो वर्षभन्दा यो वर्ष अन्नपूर्ण आरोहण गर्न अनुमति लिने आरोहीहरू बढेका छन् ।
अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएबापत विभागले रु एक करोड ४७ लाख ९ हजार चार सय २० शुल्क संकलन भएको विभागका निर्देशक न्यौपानेले जानकारी दिइन् । उनका अनुसार अघिल्लो वर्षको वसन्तयाममा २५ जनाले अनुमति लिँदा रु ५९ लाख ६१ हजार सात सय ८० शुल्क संकलन भएको थियो ।
अनुमति लिएका आरोहीहरू आधार शिविर पुग्न थालेका अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोज पदमार्गका अभियन्ता तेज गुरुङले बताए । अन्नपूर्ण आरोहणका लागि योयाम उपयुक्त मानिन्छ । उनका अनुसार अन्नपूर्णको हालसम्म चार सय ८८ जनाले सफल आरोहण गरेका छन् ।
आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आगामी जेठ २० गते अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविरमा विशेष कार्यक्रमको तयारी गरेको पालिका कार्यालयले जनाएको छ ।
सन् १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्णमा पहिलो पटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण आरोहण गरेको तीन वर्षपछि सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । रासस
Comments are closed.