अबको नेतृत्व सहमतिमा सर्वसम्मत चयन हुन्छ : अध्यक्ष पन्त (अन्तर्वार्ता)

हरिराज पन्त
अध्यक्ष, अधिकृत बिक्रेता संघ (ड्याप)

अधिकृत बिक्रेता संघ (ड्याप)को अधिवेशन पुस ५ गते शनिबार पोखरामा हुँदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशन मिति नजिकिदै गर्दा नयाँ नेतृत्वबारे बहस सुरु भएको छ । बर्तमान अध्यक्ष हरिराज पन्तलाई नै सर्वसम्मत अध्यक्ष बनाउने प्रयास समेत भएको छ । नेपाल बितरक महासंघका महासचिव समेत रहेका पन्त पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य पनि हुन् । यसैक्रममा अधिकृत बिक्रेता संघ कास्कीको अधिवेशन, अधिकृत बिक्रेताहरुका समस्या लगायत विविध विषयमा केन्द्रित रहेर पन्तसँग आर्थिक आवाजले गरेको कुराकानीः

अधिकृत बिक्रेता संघ कास्कीको अधिवेशन तयारी कस्तो छ ?
आगामी पुस ५ गते शनिबार पोखरामा अधिकृत बिक्रेता संघ कास्कीको अधिवेशन हुँदैछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । हरेक २ वर्षमा हामीले निर्वाचन गर्दै आइरहेका छौं । अधिवेशनको तयारीलाई तिब्र बनाएका छौं । सम्पूर्ण साथीहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहनुभएको छ । समिति र उपसमितिहरु बनाएर अधिवेशनको तयारी गरिरहेका छौं ।

सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कस्तो छ ?
बिगतमा सधैं सर्वसम्मत नेतृत्व चयन हुँदै आइरहेको अवस्थामा गत अधिवेशनमा भने निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने अवस्था आयो । निर्वाचनबाट नेतृत्व चयन गर्दा संस्थाको हितमा हुँदैन भन्ने आम व्यवसायीहरुलाई अनुभव भएको मैले महसुस गरेको छु । यसपटक सर्वसम्मत रुपमा संस्थाको नेतृत्व चयन गर्ने सम्भावना बढेको छ । पूर्व अध्यक्षहरु सहित अग्रज व्यवसायीहरु पनि सर्वसम्मत नेतृत्व चयन होस् भन्ने पक्षमा रहेको पाएको छु ।

jutta mela

अध्यक्षमा पुनः तपाईंले नै दोहो¥याउने सम्भावना हो ?
अधिकृत बिक्रेता संघ स्थापना भएदेखि मैले यस संस्थामा धेरै पसिना बगाएको छु । योगदान गरेको छु । यस अगाडि पनि अध्यक्षहरुले २ कार्यकाल संस्थाको नेतृत्व गरेको इतिहास छ । यस पटक मेरो चाहनाले भन्दा पनि अग्रजहरु, पूर्व अध्यक्षहरु तथा व्यवसायी साथीहरुले नै तपाईं पुनः संस्थाको नेतृत्वमा आउनुपर्छ भन्नु भएको छ । व्यवसायी साथीहरुको आग्रह भएमा म पुनः अध्यक्ष भएर काम गर्ने योजनामा छु । सम्पूर्णको साथ हुनेछ भन्नेमा म विश्वस्त छु । हामी सल्लाह तथा छलफलकै क्रममा छौं ।

संस्थामा चुनाव हुँदा कस्तो असर गर्दो रहेछ ?
गत अधिवेशनमा मतदानमार्फत नेतृत्व चयन गरेका थियौं । चुनाव हुँदा संस्थालाई हित गर्दैन भन्ने आम व्यवसायीले बुझेको अवस्था छ । अघिल्लो पटक चुनाव भएपनि हामीले सबै व्यवसायीलाई समेटेर अगाडि बढ्यौं । चुनाव भएपछि अवश्य पनि केही न केही असर गर्छ । चुनावी घाउ मेटाउन केही समय लाग्छ । त्यसैले अब सर्वसम्मत नेतृत्व चयन गरेर आम व्यवसायी एकजुट छन् भन्ने सन्देश प्रवाह गर्नुपर्ने देखिन्छ ।

आधिकारिक बिक्रेताहरुका व्यासायिक समस्या के–के छन् ?
हामीले पुलको रुपमा काम गर्ने हो । कम्पनीले उत्पादन गर्छ । आयातकर्ताले आयात गर्छन् । बीचको माध्यमबाट बजारसम्म सहज रुपमा सामान पठाउने काम अधिकृत बिक्रेताले गर्ने हो । हरेक व्यावसायिक क्षेत्रमा समस्याहरु छन् । यहाँ पनि कम्पनीको एउटा समस्या छ । अधिकृत बिक्रेता र व्यवसायीको अर्को छुट्टै खालका समस्याहरु छन् । मालबस्तुहरु नचल्दासम्म अधिकृत बिक्रेताले धेरै दुःख गरेर सामानलाई बजारीकरण गर्छन् । बजारमा चिनाउँछन् । जब मालबस्तुहरु चल्न थाल्छन् त्यसपछि कम्पनीहरुबाट पनि केही दादागिरी हुने गरेको हामीले पाएका छौं । बजारमा उधरोको समस्या छ । चेकको समस्या हुन्छन् । कर्मचारीको समस्या पनि छ । यद्यपि, समग्रमा यो व्यवसाय राम्रो छ ।

पोखरामा अधिकेत बिक्रेताहरुकोे व्यावसायिक सम्भावना कस्तो छ ?
यो एउटा स्थायी र सजिलो व्यवसाय हो । विश्वकै नमुना व्यवसाय पनि हो । सामान ल्याउने र बेच्ने काम गर्छौं । पाएभन्दैमा जस्तो ब्राण्ड पनि लिने र आफ्नोबाट गुमाउनु पर्दा चिन्तित बन्ने प्रचलन पनि छ । स्थायित्व हुने गरी काम गर्नसकेमा बजारको व्यावसायिक सम्भावना राम्रो छ ।

You might also like

Comments are closed.