काठमाडौं । गत असोज १७ देखि १९ गतेसम्म परेको अबिरल वर्षाका कारण देशभरका सडक तथा पुलमा ठूलो क्षति पुगेको छ । सडक विभागको प्रारम्भिक विवरणअनुसार, नेपालका मुख्य सडक र पुलमा मात्रै करिब ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।
विभागका अनुसार, सडक संरचनामा ७ अर्ब रुपैयाँ र पुलमा ९१ करोड रुपैयाँ बराबरको क्षति भएको हो । लगातारको वर्षाका कारण बीपी राजमार्गसहितका मुख्य राजमार्गहरू विभिन्न स्थानमा अवरुद्ध बनेका थिए, जसका कारण देशभरको आवागमन र आपूर्तिमा गम्भीर असर परेको थियो ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म मेची राजमार्ग, बीपी राजमार्ग, अरनिको राजमार्गलगायत ठूला तथा साना गरी ९ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको विभागले जनाएको छ ।
विभागका अनुसार, लगातारको वर्षाका कारण पहिरो र सडक ध्वंसजस्ता घटनाले जनजीवनमा पनि ठूलो असर पारेको छ । सडक पुनर्स्थापना र यातायात सञ्चालनका लागि सम्बन्धित निकायहरूलाई तत्काल पहल गर्न निर्देशन दिइएको जनाइएको छ ।
Comments are closed.