‘अहिले कोरोनाले सबैलाई रुवाएको छ, आशा गरौं छिट्टै सुनौला दिनहरु फर्कनेछन्’

कोरोना भाइरस (कोभिड–१९)ले यतिबेला संसारभरको पर्यटन क्षेत्रले नराम्रो मार व्यहोर्नुपरेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । देशभरका पर्यटन क्षेत्र यतिबेला सुनसान छन् । यसैक्रममा पर्यटन क्षेत्रले भोग्नुपरेको समस्या, अबको सम्भावना लगायत समसामयिक विषयमा पर्यटन व्यवसायी मदन शर्मासँग आर्थिक आवाजले गरेको कुराकानीः

कोरोना महामारीले पर्यटन क्षेत्रमा कस्तो असर पार्ला ?

jutta mela

कोरोना महामारीले विश्वको जुनसुकै स्थानमा पनि ठुलो असर पारेको छ । साच्चै भन्ने हो भने कोरोनाले नरुवाएको कोही छ जस्तो मलाई लाग्दैन । कोरोना महामारीलाई सहज ढङ्गले लिनुपर्छ । पक्कै पनि हाम्रा सुनौला दिनहरु फर्कनेछन् आशावादी बनौं ।

नेपालमा पर्यटकलाई के कुराले आर्कषण गर्छ ?

प्रकृतिले नेपाललाई सुन्दर बनाएको छ । पर्यटकलाई यिनै प्राकृतिक सुन्दरताले तानेका छन् । विदेशीले नेपालीलाई धेरै माया गरे जस्तो लाग्छ मेरो विचारमा । नेपाल प्राय सबै देशका पर्यटकको घुम्ने सूचिमा पर्ने गर्छ । पर्यटनका लागि नेपालमा धेरै कुराहरु छन् । हामी यसमा धनी छौं । तर, हाम्रा पनि धेरै कमजोरी छन् । भौतिक पुर्वाधार विकास हुन नसकेका कारण कतिपय स्थान अझैपनि ओझेलमा परेका छन् । प्राकृतिक दृष्य अवलोकनका साथै सहासिक पर्यटनको लागि पनि नेपाल उत्कृष्ट गन्तव्य मान्ने गरेको पाइन्छ । कतिपय पर्यटकले नेपाललाई हनिमुन स्पटको रुपमा पनि लिने गरेका छन् । नेपालको बारेमा सकारात्मक सन्देश पनि पर्यटनबाट जाने गरेका छन् ।

कोरोना महामारीकै कारण नेपाल भ्रमण वर्ष स्थगित भयो । यसमा तपाईंको धारणा के छ ?

म केही आध्यात्मिक पनि छु । २०२० नेपाल भ्रमण वर्षका रुपमा सफल हुन्छ भन्ने मलाई लागेको थिएन । हिन्दु परम्परा अनुसार पछाडि शून्य आएको समयमा गरिएको काममा कुनै पनि फल प्राप्त हुँदैन भन्ने छ । २०२० मा असफल हुन्छ भन्ने मलाई पहिला नै लागेको थियो । कोरोना महामारी एउटा वहाना पनि बन्यो । हामीले यसमा हतार गरेका छौं । पहिला भौतिक संरचनाको विकास गर्नुपर्छ । ठुला ठुला परियोजनाका निर्माणको काम भइरहेका छन् । यी काम सम्पन्न भएपछि धेरै भन्दा धेरै पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिन्छ । संसारभर घटेका घटना तथा गतिविधिले पर्यटन क्षेत्रमा असर पार्छ । पर्यटक आउनका लागि सबैखालको वातावरण मिल्नुपर्छ । अहिले महामारीको असर संसारभर परेको छ । नेपालमा पनि पर्नु स्वभाविक हो ।

पोखरामा रहेका अन्य होटल तथा रिसोर्ट भन्दा वरदान कसरी फरक छ ?

पोखरा रहेका अन्य रिसोर्ट भन्दा हामी भिन्न छौं । हामीले महानगरको मापदण्ड पुरा गरेर भौतिक संरचना बनाएका छौं । सुन्दर र शान्त छ । १ तले घर छन् । काठले बनेका कटेज आकर्षक र वातावरणमैत्री छन् । अपार्टमेन्ट पनि साढे २ तलाको मात्र छ । निर्माण सामग्री र कालिगढ हामीले भक्तपुरबाट ल्याएर बनाएका हौं । वातानुकुलित घर बनाएका छौं । वास्तुशास्त्रलाई पनि ध्यान दिएका छौं । भूकम्प प्रतिरोधी छ र स्वास्थ्यवद्र्धक छ । मार्वल, ग्रेनाइटको प्रयोग गरेका छैनौं । नेपाली परम्परा झल्कने बनाएका छौं । पर्यटकको स्वागत सत्कार पनि राम्रोसँग गर्छौं । पर्यटकलाई नेपाली कला, रीतिरिवाज, संस्कृतिका बारेमा जान्ने अवसर प्रदान गर्छौं । एक पटक आएपछि पटक पटक आउनुहुन्छ । अरुलाई पनि हाम्रो वारेमा भन्नुहुन्छ । होटल सानो छ तर कम्प्लिट प्याकेज छ । होटलबाट आम्दानी भएको पैसाले कर तिरेर होटलको खर्च तथा कर्मचारीको तलबसँगै बाँकी पैसाले हामीले बालबालिकालाई पढाउने गरेका छौं । सामाजिक उत्तरदायित्व वहन गर्दै बालबालिकालाई प्राथमिकतामा राखेर पढाएका छौं, जसले हामीलाई आत्मसन्तुष्टी मिलेको छ ।

पर्यटन व्यवसायमा आउन चाहनेहरुलाई के भन्नुहुन्छ ?

पर्यटन व्यवसायमा आउनभन्दा पहिले यस बारेमा अध्ययन गर्नुपर्छ भन्ने मलाई लाग्छ । यस क्षेत्रमा लाग्न चाहनेलाई म गम्भिर भएर अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गर्दछु । पर्यटन क्षेत्रमा विभिन्न तरिकाले असर पारिरहेको हुन्छ । नेपाली इतिहासमा हेर्ने हो भने लामो समयसम्म ढुक्कले पर्यटन व्यवसाय सञ्चालन गर्न सकेको अवस्था छैन । २०७२ सालको भूकम्प र नाकावन्दी पछि उकासिन लागेको पर्यटन क्षेत्र अहिले कोरोना महामारीले फेरी नराम्रोसँग थलिएको छ । समग्रमा हेर्ने हो भने यस क्षेत्रमा खासै प्रगति भएको पाइदैन ।

पर्यटन क्षेत्रका लागि बैंक तथा वित्तीय संस्था, सरकार लगायत सम्वन्धित निकायले के गर्नु आवश्यक छ ?

बैंकले पर्यटन क्षेत्रका लागि केही गर्न सक्दैन । बैंक भनेको पैसा किनेर पैसा नै बेच्ने ठाउँ हो । सरकारसँग पनि पैसा छैन । साधन र स्रोत छैन । सरकारले गर्नुपर्ने काम त धेरै छन् तर सरकारले गर्दैन । सरकारसँग मागेर पनि केही पाइदैन त्यसैले व्यवसायी साथीहरुलाई मेरो आग्रह डेलिगेसन जानु पीडा सुनाउनुको कुनै अर्थ छैन । सरकारले केही गर्दैन । यस्तो महामारीको समयमा कुनै योजना छैन सरकारसँग । हामी आफै कसरी टिक्ने भनेर सोचौं । व्यवसाय धान्नेतर्फ लागौं ।

You might also like

Comments are closed.