आगरा–पोखरा सिधा बस सेवा माग

आगरा, १८ असार । उत्तर भारतको पर्यटकीय शहर आगराका व्यवसायीले सो शहर र पोखरा विच सिधा बस सेवा संचालनको सुझाव राख्दै त्यस्तो सेवा भए भारतीय नागरिकलाई पोखरा पुग्न सहज हुने भनाई राखेका छन् ।
बोर्डर टाउन सेल्स मिसन अन्तर्गत चलिए पोखरा अभियान पुनः सुरु गर्न पश्चिमाञ्चल होटल संघ पोखराको अगुवाईमा आगरा आइपुगेको होटलकर्मीको टोलीसँग आगराका व्यवसायीले पोखरा पुग्नका लागि कनेक्टिभिटीको सवाल अगाडि सारेका हुन् ।
संघले नेपाल पर्यटन बोर्डसँग मिलेर आगरामा मंगलबार साँझ आयोजना गरेको अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा नेपाल भारत मैत्री बस सेवा आगरा डिपोका प्रबन्धक अनिल कुमारले पोखरा दिल्ली सिधा बस सेवा संचालनरत भएजस्तै आगरालाई पनि त्यस्तो सेवामार्फत् पोखरासँग जोड्न जरुरी भएको भनाई राखे ।
यसैगरी साहसिक खेलमा रुचि भएकालाई पोखरा अत्यन्तै राम्रो गन्तव्य भएको भारतका पूर्वमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता रामसकल गुज्जरले बताएका छन् । उनले पोखरा गएकाबेला आफूले पनि धेरै साहसिक खेलमा सहभागी भएर मनोरञ्जन लिएको अनुभव सुनाए । भाजपा वरिष्ठ नेता गुज्जरले पोखरा सुन्दर र घुम्नलायक ठाउँ भएको बताएका हुन् । ‘पोखराको आफ्नै विशेषता छ । तपाईंहरु जानुभयो भने हरेक कुरामा इन्जोय गर्न सक्नुहुन्छ,’ उनले भने । गुज्जरले आगरादेखि
पोखरा सीधा यातायात सुविधा मिले पर्यटक आउजाउ गर्न सजिलो हुने दाबी गरे । ‘आगराका पर्यटकमात्रै पोखरा गएर हुँदैन । पोखराका पर्यटक पनि आगरा आउनुपर्छ । एक्सचेन्ज अफर चलाएर दुवैले आआफ्नो क्षेत्रको विकासमा टेवा पु¥याउनुपर्छ,’ गुज्जरले भने, ‘त्यसका लागि आगरा टु पोखरा सीधा यातायात सुविधा सुरु भए सजिलो हुने थियो । म यता सरोकारवाला निकायसँग त्यसबारे कुरा राख्नेछु ।’
होटल एण्ड रेष्टुरेण्ट अनर एशोसिएशन आगराकाका प्रतिनिधि रमेश वादवाले पोखरा र काठमाडौं लगायत थुप्रै अन्य शहरहरु निकै सुन्दर भएको भन्दै भारतीयले ती शहरको भ्रमण गर्नुपर्ने सुझाव राखे । पोखराप्रति भारतीयहरु पनि जिज्ञासु भएको भन्दै पोखरा सम्बन्धी प्रबद्र्धन कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे । आगरा  स्थित होटल चाणक्यकी प्रबन्ध निर्देशक बन्दना प्रसादले पोखरा सम्बन्धी प्रबद्र्धनात्मक वृत्तचित्र हेरेर आफू प्रभावित भएको बताइन् । पोखरा र आगरा विच पर्यटक आदानप्रदान गरेर अगाडि बढ्न सकिने प्रशस्त संभावना भएको उनले स्मरण गराइन् ।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले अहिले उत्तर भारतमा चर्को गर्मी भएको भन्दै आनन्ददायी मौसममा रमाउनका लागि पोखरा आउन भारतीयलाई आग्रह गरे । भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न प्याकेजहरु समेत आफूहरुले व्यवस्था गरेको उनले सुनाए । हनिमुन प्याकेज, मनसुन प्याकेज, धार्मिक तिर्थयात्रा प्याकेज, शैक्षिक भ्रमण प्याकेज र माइस(मिटिङ, इन्सेन्टिभ्स र कन्फरेन्स) प्याकेज जस्ता सुविधाहरु भारतीय पर्यटकका लागि व्यवस्था गरिएको उनले सो अवसरमा जानकारी दिए ।
कार्यक्रमका अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा र वरपरका पर्यटकीय आकर्षण र सुविधाका बारेमा जानकारी गराएका थिए । नेपाल पर्यटन बोर्ड भारतीय पर्यटकलाई नेपालमा स्वागत गर्न सधैं तयार रहेको भनाई पनि उनले सो अवसरमा राखे ।
संघका सल्लाहकार परिषद्का संयोजक एवं पूर्व अध्यक्ष हरिशर्मा गैह्रेले सन् २०१२ बाट सुरु भएको चलिए पोखरा अभियानबारे जानकारी गराएका थिए । संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखरामा भारतीय पर्यटकका लागि पोखरा उपयुक्त गन्तव्य भएको भन्दै भारतीय पर्यटकलाई पोखरामा स्वागत गर्न आफूहरु तयार रहेको भनाई राखे । यही असार २० गते सम्म संचालन हुने अभियान उत्तर प्रदेशको राजधानी लखनउ र विहारको राजधानी पटनामा पनि संचालन हुने कार्यक्रम रहेको छ ।
You might also like

Comments are closed.