आठौं राष्ट्रिय खेलकुदका पदक बिजेता खेलाडीलाई नगदसहित सम्मान गरिने

पोखरा । गण्डकी प्रदेश सरकारले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक बिजेता खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने भएको छ । प्रदेश सरकारले गत चैत २७ गतेदेखि बैशाख ११ गतेसम्म नेपालगञ्जमा भएको प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई नगदसहित सम्मान गर्न लागेको हो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा आउँदो शुक्रबार अपराह्न सवा ४ बजे एक कार्यक्रम गरी खेलाडीलाई सम्मान गर्न लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेशकी समाजिक विकास मन्त्री नरदेवी पुनलगायतको उपस्थितिमा हुने सम्मान कार्यक्रममा सिंगल इभेन्ट्समा स्वर्ण पदक बिजेतालाई १० हजार, रजत पदक बिजेतालाई ७ हजार र काश्य पदक बिजेतालाई ५ हजार नगदसहित सम्मान गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार सामुहिक खेलतर्फ स्वर्ण पदक जित्ने टीमका प्रत्येक खेलाडीलाई ७ हजार, रजत पदक जित्ने प्रत्येक खेलाडीलाई ५ हजार र काश्य पदक जित्ने प्रत्येक खेलाडीलाई ३ हजार नगदसहित सम्मान गरिने उनले बताए ।

jutta mela

यसैगरी स्वर्ण पदक जिताएका खेल प्रशिक्षकलाई ५ हजार, रजत पदक जिताएका प्रशिक्षकलाई ३ हजार र काश्य पदक जिताएका प्रशिक्षकलाई २ हजारसहित सम्मान गरिने जनाइएको छ ।

खेलाडी सम्मानका लागि करीब १८ लाख खर्च लाग्ने अनुमान गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । खेलाडी सम्मानका लागि गण्डकी प्रदेश सरकारले ११ लाख ७८ हजार ८ सय रुपैयाँ समितिलाई प्रदान गरेको उनले जानकारी दिए । सम्मान कार्यक्रम लगत्तै खेलाडीको सम्मानमा रात्री भोजको समेत आयोजना गरिने श्रेष्ठले बताए ।

You might also like

Comments are closed.