आदिकवि नेपालकै उत्कृष्ट क्याम्पस

तनहुँ । तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले यस वर्ष नेपालको सर्वोत्कृष्ट व्यवस्थापन क्याम्पसको सम्मान प्राप्त गरेको छ । नेपालका १ हजार ८ सय ५४ क्याम्पसहरु मध्ये आदिकवि एम.बि.एस. कार्यक्रममा नेपालकै सर्वोत्कृष्ट क्याम्पसको अवार्डबाट सम्मानित भएको हो ।

नेपालमा सञ्चालित कूल ६ सय सामुदायिक क्याम्पसहरुमा यस क्याम्पसले नेपालको दोश्रो उत्कृष्ट क्याम्पसको अवार्ड पनि प्राप्त गरेको छ । बि.बि.एस. तर्फबाट तेस्रो उत्कृष्ट क्याम्पसको अवार्ड पनि प्राप्त गरेको छ ।

क्याम्पसले व्यवस्थापन कार्यक्रमतर्फ न्यु बिजनेस एज ले प्रदान गर्ने बि. स्कुल कनक्लेभ तथा न्यू बिज स्कुल रेटिङ ¥याङकिङ अवार्ड लगायतका तीन महत्वपूर्ण अवार्ड हात पारेको हो ।

अवार्डलाई व्यवस्थापन विषयको नेपालमा सबैभन्दा प्रतिष्ठित र उच्च सम्मानको रूपमा हेरिन्छ ।

न्यु बिजनेस एज म्यागाजिनले हरेक वर्ष नेपाल भर व्यवस्थापन विषय पढाइ हुने क्याम्पसहरुको अध्ययन अध्यापन, नतिजा, पूर्वाधार र व्यवस्थापन आदिलाई प्रमुख आधार मानेर उत्कृष्ट क्याम्पस छनौट गर्ने गरेकोमा आदिकविले सम्पुर्ण आधारहरु पुरा गरी उत्कृष्ट क्याम्पसमा अवार्ड प्राप्त गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।

व्यवस्थापन विषय पढाई हुने उत्कृष्ट उच्च शैक्षिक संस्था संस्थाहरुलाई सन २०१३ देखि हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आइएको छ ।

२०४४ सालमा जनस्तरवाट सञ्चालित आदिकवि भानुभक्त क्याम्पसले उच्च शिक्षामा निरन्तर प्रगतिको उचाइ हासिल गर्दै आइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए । उच्च शिक्षाको राष्ट्रिय मान्यता क्यु. ए. ए. प्रमाणपत्र प्राप्त यस क्याम्पस यसका सरोकारवालाहरुको मेहनत र सद्भावले उच्च शिक्षाको आकर्षक गन्तव्य बन्न सफल भएको उनले बताए ।

सोहीको खुशीयालीमा बुधबार क्याम्पसमा बधाईज्ञापन कार्यक्रमको आयोजना गरी खुशीयाली साटासाट गरिएको छ । कार्यक्रममा क्याम्पसलाई बधाई ज्ञापन गर्दै व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले क्याम्पसले बि. स्कुल कनक्लेभ तथा न्यू बिज स्कुल रेटिङ ¥याङकिङ अवार्ड २०१९ मा एम.वि.एस. तर्फ वेस्ट क्याम्पसको सम्मान प्राप्त गर्नेले समुदायको सान बढेको बताए ।

साथै इमान र निष्ठाको मार्गमा अघि बढे क्याम्पसले लिएको मानक विश्वविद्यालय निर्माणतर्फ क्याम्पसले थालेको अभियानले साकार रुप पाउने विश्वास व्यास गरे ।

सोही अवसरमा न्यौपानेले क्याम्पसको पुर्वाधार विकासको लागी नगरपालिकाले ५० लाख र स्नातक र स्नाकोत्तरमा अध्ययन गर्दै गरेका विद्यार्थीलाई विभिन्न अनुसन्धानको लागी अनुसन्धान कोषको लागी २० लाख विनियोजन गरेको जानकारी गराएका थिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त वधाई ज्ञापन कार्यक्रममा निवर्तमान अध्यक्ष समुन्द्र गोदार, आमन्त्रित सदस्य पि.एल.श्रेष्ठ, उपाध्यक्ष श्रीराम कार्की, क्याम्पस गुणस्तर सुधार समिति संयोजक कमलामोहन वाग्ले, प्राध्यापक संघ इकाई अध्यक्ष विजयराज खनाल, व्यवस्थापन विभाग प्रमुख रामभक्त घिमिरे र स्व.वि.यु. उपसभापति सुदर्शन पोख्रेलले बधाई मन्तव्य राखेका थिए ।

कार्यक्रममा क्याम्पस प्रमखु महाप्रसाद हड्खलेले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख सदाखर तिमिल्सिनाले गरेका थिए ।

You might also like

Comments are closed.