इक्यान शैक्षिक मेलाको समापन शुक्रबार, दुईदिनसम्म विद्यार्थीको उत्साहजनक सहभागिता

आर्थिक आवाज, पोखरा, २७ मंसिर । पोखरामा जारी इक्यान शैक्षिक मेला शुक्रबार सकिदैछ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले वैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर बुधबारदेखि आयोजना गरेको ‘इक्यान शैक्षिक मेला’ अर्थात ईक्यान फेयर शुक्रबार समापन हुन लागेको हो ।

मेलाको शुक्रबार साँझ एक औपचारिक कार्यक्रम गरेर समापन गरिने ईक्यान कास्कीका अध्यक्ष भूवन क्षेत्रीले जानकारी दिए । समापन साँझ हुने भएकाले शुक्रबार दिनभर मेलामा सबै स्टल खुल्ला रहने र शैक्षिक परामर्श जारी रहने उनले स्पष्ट पारे । पोखरा सभागृहमा भएको इक्यान शैक्षिक मेलामा विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको अध्यक्ष क्षेत्रीले बताए । उनले भने, ‘मेलाको पहिलो र दोश्रो दिन विद्यार्थी र अभिभावकहरुको सहभागिता उत्साहजनक रह्यो, समग्रमा भन्दा मेला भव्य रुपमा सफल भयो ।’

jutta mela

मेलाको उद्देश्य वैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकहरुलाई काउन्सिलिङ गर्नु रहेको र त्यस उद्देश्यमा मेला सफल भएको उनले दाबी गरे । उनका अनुसार मेलामा राखिएको स्टल तथा पेभेलियनहरुमा विद्यार्थी र अभिभावकको दुई दिनसम्म शैक्षिक परामर्श लिनेको उत्साहजनक सहभागिता छ ।

मेलामा पेभेलियनसहित ७० वटा वैदेशिक तथा स्वदेशी शैक्षिक स्टल छन् । अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेशलगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा प्रत्यक्ष सहभागी भएको इक्यान कास्कीका अध्यक्ष क्षेत्रीले जानकारी दिए । एउटै छानामुनी विश्वभरका नामी कलेजहरुले दिने शिक्षा, छात्रवृत्ति तथा सम्बन्धित देशको अवस्था, भिसा प्रोसेस लगायतबारे जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको उनले स्पष्ट पारे ।

शैक्षिक मेलामा विद्यार्थीसहित अभिभावक पनि सहभागी गराउने उद्देश्यले मेला निःशुल्क गरिएको इक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक सन्दीप अर्यालले बताए । उनले मेलामा बढी भन्दा बढी सहभागि गराउने उद्देश्यले पोखराका विभिन्न कलेज पुगेर मौखिक जानकारी गराउनुका साथै पर्चा पम्प्लेटसमेत वितरण गरिएको जानकारी दिए ।

यसअघि शैक्षिक मेलाको बुधबार गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रमुख कुँवरले नेपालका राजनीतिज्ञ र विद्वानहरुले मीठा भाषण गरेपनि त्यो व्यवहारमा नउतार्दा देशको अवस्था यो हालतमा पुगेको बताए । गण्डकी प्रदेश स्तरीय शैक्षिक मेलाबाट १० लाख संकलन गरेर ८ खर्च गरी २ लाख बचत गर्ने लक्ष्य रहेको इक्यान कास्कीका सचिव रुद्रप्रसाद अर्यालले जानकारी दिए ।

You might also like

Comments are closed.