‘एएसी ब्लकले निर्माणको दुनियाँमा चाडै नै क्रान्ति ल्याउनेछ’

एरो ब्रिक्स कम्पनी प्रा.लि.ले २०७३ देखि नेपालमा एएसी ब्लक उत्पादन गर्दै आइरहेको छ । एरो लाइट एएसी ब्रान्डमा ब्लक उत्पादन गरी बजारीकरण गरिरहेको कम्पनीले आफ्ना उत्पादन देशभरको बजारमा पु¥याउन सफल छ । यसैक्रममा एएसी ब्लकका विशेषता, नेपाली बजारमा यसको प्रयोग लगायत विविध विषयमा केन्द्रित रहेर कम्पनीका बजार तथा बिक्री प्रवन्धक गोबिन्द रिमालसँग आर्थिक आवाजले गरेको कुराकानीः

एरो लाइटएएसी ब्लक कस्तो प्रोडक्ट हो?
एएसी ब्लक एउटा आधुनिक युगको नविनतम प्रविधि युक्त सुरक्षित निर्माण सामग्री हो । एरो ब्रिक्स कम्पनि प्रा.लि.ले २०७३ सालदेखि यी ब्लकहरु पूर्ण स्वचालित जर्मन प्रबिधि प्रयोग गरी एरो लाइट एएसी ब्रान्डमा उत्पादन गरी बजारीकरण गरिरहेको छ । जुन बालुवा, सिमेन्ट, चुना, जिप्सम र अल्मिनाको प्रयोग गरी निर्माण गरिन्छ । एएसीको अर्थ एरिएटेड प्रबिधिबाट अटोक्लेभ मेशिनमा निर्मित कंक्रिट हो । कंक्रिट भित्र अनगिन्ति प्वालहरु बनाइ कंक्रिटको आयतन बढाउने प्रबिधिलाई एरियसन प्रबिधि भनिन्छ । र, बाफको मद्दतले चापद्वारा पकाउने मेशिनलाई अटोक्लेभ भनिन्छ । यिनै दुई प्रविधि र मेशिनको सहयोगमा निर्माण हुने कंक्रिट नै एएसी ब्लक हो । एएसी ब्लकहरु बजारमा पाइने अन्य परम्परागत माटोको इट्टा वा होलो ब्लकहरु भन्दा झन्डै ३ गुणा हलुका हुन्छन् । हलुका हुने भएकाले यसबाट बनेका घरहरु भूकम्पीय कम्पनमा समेत सुरक्षित हुन्छन् । यी ब्लकहरु अग्नि, ध्वनि, ताप र ओस प्रतिरोधक हुनुका साथै वातावरणमैत्री समेत हुन्छन् । सामान्य ब्लक वा इट्टाको तुलनामा यी ब्लकहरु ठुला हुने भएकाले निर्माण छिटो हुनुको साथ साथै खर्च पनि कम गर्छ ।

एरो लाइट एएसी ब्लक कहाँ प्रयोग गर्न सकिन्छ र कस्ता निर्माण गर्न सकिन्छ ?
एएसी ब्लक जमिन माथि निर्माण हुने सम्पूर्ण निर्माण कार्यमा प्रयोग गर्न सकिन्छ । स्टिल स्ट्रक्चर, आर.सी.सी. स्ट्रक्चर, अस्थायी किसिमका टहरादेखि आधुनिक गगनचुम्बी घरहरुमा पनि एएसी ब्लक प्रयोग गरि निर्माण गर्न सकिन्छ । विशेष प्रकारका भट्टी, ध्वनिक निर्माण, अडिटोरियम, प्रयोगशाला, चिस्यान कक्ष, थियटर र ध्वनि प्रतिरोधी स्टुडियोहरु निर्माण गर्न पनि एएसी ब्लकहरु उपयुक्त हुन्छन् । नेपालमा बिगतका वर्षहरुमा भारतबाट आयात गरि केहि भबनहरुमा एएसी ब्लकहरु प्रयोग भइसकेका छन् । आजको दिनसम्म आइपुग्दा केही महत्वपूर्ण निर्माणमा एएसीले आफ्नो उपस्थिति जनाइसकेको छ । कास्कीको रुदिखोला ‘ए’ हाइड्रो पावरको पावर स्टेसन, लमजुङको रुदिखोला ‘बि’ हाइड्रो पावरको पावर स्टेसन यसका केही उदाहरणहरु हुन् । आवासीय भवन, हाउजिङ, अस्पताल, बिजनेस कम्प्लेक्स, अपार्टमेन्ट, विद्यालय, कलेज, होटेल, सभाहल, सिनेमा हल, औद्योगिक भवन जस्ता निर्माणमा एरो लाइट एएसीको प्रयोग भइसकेको छ । एरो लाइट एएसी ब्लकलाई पुनर्निर्माणको काममा समेत प्रयोग गर्न सकिन्छ । एएसी ब्लकहरु हलुका हुने हुँदा ग्रामीण तथा बिकट क्षेत्रमा पनि सहजै पु¥याई भवनहरु निर्माण गर्न सकिन्छ । गाउँ सहर जताततै सबै प्रकारका भवन तथा पर्खाल निर्माण गर्न उपयुक्त यी ब्लकले निर्माणको दुनियाँमा चाडै नै आफ्नो छाप छोडी क्रान्ति नै ल्याउने पक्का छ ।

jutta mela

एएसी ब्लक र परम्परागत इट्टाको लागत तुलना करी गर्न सकिन्छ ?
एएसी ब्लकको प्रयोग गरी भवन निर्माण गर्दा गाह्रो (पर्खाल)को निर्माण लागतमा कम्तिमा २० प्रतिशतदेखि ४० प्रतिशतसम्मको बचत गर्दछ । एएसी प्रयोग गरि निर्मित घरहरुमा निर्माण पश्चात पनि हिटिङ–कुलिङ, ध्वनी प्रतिरोध निर्माण गर्ने खर्च समेत कम गर्दछ । दुर्गम तथा पहाडी ठाउँहरुमा निर्माण गर्नु पर्दा एएसी ब्लकले लागतमा ठुलै बचत गर्दछ । परम्परागत माटोको इट्टाको सट्टामा एएसी ब्लक प्रयोग गर्दा सिमेन्ट र बालुवाको खपत ५० प्रतिशतसम्म कम गर्दछ र ज्यालामा पनि ४० प्रतिशतसम्म कम हुन्छ भने गाह्रो निर्माण पछिको प्लास्टरको कार्यमा पनि ३०–४० प्रतिशतसम्म बचत हुन्छ ।

नेपालमा एएसी ब्लक उत्पादनको अवस्था कस्तो छ ?
बिक्रम सम्बत २०७३ सालबाट मात्रै उत्पादन सुरु भएको एएसी ब्लक आजसम्म आइपुग्दा देशमा ६ ओटा एएसी उत्पादक कम्पनीहरु संचालनमा आएका छन् भने भारतबाट आयात भएर पनि नेपालमा एएसी ब्लकहरु बिक्रीवितरण भइरहेकाछन् । पर्सा, चितवन, धादिङ भक्तपुर र ललितपुरमा यस्ता कम्पनीहरुले ब्लकहरु उत्पादन गरी बिक्रीवितरण गरिरहेका छन् । नेपालकै पहिलो बालुवामा आधारित उत्पादक कम्पनि एरो ब्रिक्स कम्पनि प्रा.लि.ले चितवनको खैरहनीमा दैनिक ५०० घनमिटर ब्लक उत्पादन क्षमताको मेशिन जडान गरि दैनिक ३३६ घनमिटर ब्लक उत्पादन गरि पूर्वमा मेचीदेखि पश्चिममा लम्कीसम्म बिक्री वितरण गरिरहेको छ । देशभरि ८० भन्दा बढी वितरकहरुबाट आफ्नो उत्पादन उपभोक्तासम्म पु¥याइरहेको छ । नेपालमा सामान्यतया ३ साइजकमा ब्लकहरु उत्पादनभइ बजारीकरण भइरहेका छन् । लम्बाई २४ इन्च, उचाई ८ इन्चमा उपलब्ध ब्लकहरु ४, ६ र ८ इन्चसम्मका मोटाइमा बजारमा उपलब्ध छन् ।

यो ब्लक कुन प्रविधिमा आधारित छ ?
एरो ब्रिक्सले उत्पादन गरिरहेको एएसी ब्लक विश्वस्तरीय जर्मन प्रविधिमा आधारित छ । कम्पनी स्थापना गर्दा विदेशी टेक्निसियनहरुले जडान गरी सफल उत्पादन सुरु गरेको कम्पनीले हाल विदेशीको निरन्तर परामर्श र अनुगमनमा नेपाली इन्जिनियर, तथा टेक्निसियन हरुले नैउत्पादन गर्दै आइरहेका छन् ।

उपभोक्तामा एएसी ब्लकबारे सचेतना कस्तो छ ?
कुनैपनि नयाँ सामग्री बजारमा आउँदा सुरुमा यसबारे बुझ्न समय लाग्नु र प्रयोग पूर्व यसबारे अनुसन्धान हुनु सामान्य नै हो र यो एएसी ब्लकमा पनि लागु भइरहेको छ । निर्माण क्षेत्रमा नविनतम प्रविधिको खोजिभइरहेको समयमा भित्रिएको एएसी छोटो समयमै उपभोक्ताहरुको माझमा लोकप्रिय भइसकेको छ । लामो समयदेखि खोजिरहेको बस्तु बजारमा उपलब्ध भएकोमा इन्जिनियर, आर्किटेक्ट, कनट्याक्टर, र निर्माण व्यवसायीहरु खुसि भएका छन् । विनासकारी भूकम्पले नेपालको निर्माण प्राक्टिसमा सर्वसाधारणको आँखा खोलिदिएको छ, फलस्वरूप हलुका र वातावरणमैत्री एएसी जस्ता निर्माण सामग्रीको प्रयोग बढिरहेको छ । ३–४ वर्ष अगाडि विदेशबाट आयात गरी नगन्य मात्रमा प्रोयोग भइरहेको एएसी आजको दिनमा स्वदेशमै ५–६ कम्पनीले उत्पादन गरी उपभोक्ता माझ पु¥याइरहेका छन् । परिणाम स्वरुप एएसीको बजार हिस्सा दिनानुदिन तिब्रगतिमा बढिरहेको छ भने सर्बसाधारण मानिसहरुमा पनि एएसी प्रयोग प्रतिको आकर्षण बढ्दो छ ।

एरो ब्रिक्सको एरो लाइटएएसीबाट निर्मित संरचनाहरु के–कस्ता छन् ?
एरो ब्रिक्सले आफ्नो उत्पादनको ३ वर्ष पुरा गर्दै गर्दा केहि उल्लेख योग्य निर्माणमा एरो लाइट एएसी प्रयोग गरी नेपाली उपभोक्ताको निर्माण प्राक्टिस बदल्न सफल भएको छ्र विद्यालय तर्फ काठमाडौंको मिल्स बेरी स्कुल, हिमालयन कलेज अफ एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी, रिपुमर्दिनी सैनिक विद्यालय, शिशुनिकुञ्ज स्कुल, रुपन्देहीको नभप्रभात स्कुल, मायादेवी टेक्निकल इन्स्टिच्युट, रम्भादेवी उच्च मा.वि. यसका केही उदाहरण हुन् । गोर्खाको लाप्राकमा गैर आवासीय संघले निर्माण गरेको ५७३ घरको सामुदायिक बस्ति, ललितपुरको इमाडोलमा डाउन टाउन रेसिडेन्सि, काठमाडौं दरबारमार्गमा नेपालट्रस्टको जग्गामा बनेको व्यावसायिक भवन, काठमाडौंकै बल्खुमा बनेको एडभान्स इन्जिनिरियङ कलेज, काठमाडौंको ठमेलमा बनेका होटेल र ब्लकहरु यसका थप उदाहरणहरू हुन् नवलपरासीको भुमहीमा बनेको हुलासको अटो मोटर क्राफ्ट, ब्रिज ग्लासको फ्याक्ट्री, नवलपुरको मेघा रिसोर्ट पनि एरो लाइट एएसीको प्रयोग गरी निर्माण भएका हुन् । सोलुखुम्बुको रेडियो स्टेसन भवन, रामेछापमा निर्माणाधीन खिम्ती हाइड्रो पावर, ताप्लेजुङको तमोर हाइड्रो, कास्कीको रुडी ए र लम्जुङको रुडी बि हाइड्रो पनि एरो लाइट एएसी ब्लक बाटै निर्मित संरचनाहरू हुन् । यिनीहरु त केही उदाहरण मात्रै हुन् । गत ३ वर्षमा ५०० भन्दा धेरै साना ठुला आवासीय तथा व्यावसायिक निर्माणमा एरो लाइटले आफ्नो सफल प्रयोग गरिसकेको छ ।

एरो ब्रिक्स कम्पनीमा कति लगानी भएको छ ?
प्रारम्भिक रुपमा ६० करोड रुपैयाँको लगानीमा सुरु भएको एरोब्रिक्स आजसम्म पुग्दा एक अर्ब रुपैयाँको कम्पनी भएको छ । व्यापारिक साझेदारको रुपमा खजुरिको बिस्कुट उत्पादक कम्पनी, चिकेन र दानाको सफल व्यवसायी भ्याली ग्रुप, लगानी गर्ने कम्पनी सिड इन्फ्रा, र केही प्रतिष्ठित निर्माण व्यवसायी, व्यवसायी र आर्किटेक्ट छन् ।

एरो ब्रिक्सको कर्मचारी सञ्जाल कस्तो छ ?
एरो ब्रिक्स कम्पनीको उत्पादन युनिटमा ७० जना सहित हेडअफिस र बजारमा गरि सय जना भन्दा बढी प्रत्यक्ष कर्मचारी रोजगारमा छन् । उत्पादन युनिट चितवनमा अन्य ५० भन्दा बढीले अप्रत्यक्ष रोजगार पाइरहेका छन् । कम्पनीले पूर्ण स्वचालित मेशिन प्रयोग गर्नुको साथै अधिकांश अपरेटरहरु स्थानीय महिलाहरु छन् । जसले गर्दा उक्त क्षेत्रको सामाजिक तथा आर्थिक उन्नतिमा समेत सहयोग पु¥याइरहेको छ ।

एरो ब्रिक्स कम्पनीको आगामी योजना के छ ?
नेपालमा नवनिर्माण सामग्रीको रुपमा भित्र्याइएको एएसी ब्लकलाई निर्माण क्षेत्रको एक अग्रणी निर्माण सामग्री बनाउन कम्पनि लागिपरेको छ । अबको ३–४ वर्ष भित्र इट्टाको बजार हिस्साको २५–३० प्रतिशत एएसीले विस्थापन गर्ने हाम्रो विश्वास छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै स्थानहरुमा आफ्नो वितरण संजाल निर्माण गरी आक्रामक बजारीकरण गरिरहेका छौं । नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रियस्तरको एएसी ब्लक उचित मूल्यमा उपलब्ध गराउनु कम्पनीको मुख्य उद्देश्य हो । नेपालमा एएसी ब्लकको उत्पादन सुरु भइ बजारीकरण गर्दै गर्दा भारतबाट अनियन्त्रित रुपमा कम गुणस्तरीय ब्लक भित्रिने क्रम पनि बढेको छ । यसले नेपाली लगानीकर्ता र उद्योगलाई नकारात्मक असर पुग्ने हुँदा राज्यले नै यो व्यवसायलाई संरक्षण गर्न आवश्यक नीति निर्माण गरी स्वदेशीलाई प्रोत्साहन र विदेशी आयातलाई कडाइ गर्नु जरुरी छ । राज्य स्तरबाट यो उद्योगलाई सहि सम्बोधन भएमा यसले देश विकासमा ठुलो टेवा पु¥याउने र एक दीगो उद्योग हुनेमा कम्पनि विश्वस्त छ ।

You might also like

Comments are closed.