एकैदिन ‘निरमाया’ तीन सो मञ्चन

पोखरा ५ माघ
पोखरामा मञ्चन जारी नाटक निरमाया एकै दिन तीन सो मञ्चन भएको छ । नाटक हेर्ने दर्शकको संख्या बढ्दा शनिबार तीन वटा सो मञ्चन गरेको पोखरा थिएटरले जनाएको छ ।
शनिबार विहान १० बजे, दिउँसो १ बजेर र साँझ पौने पाँच बजे नाटक मञ्चन गरिएको थियो । शनिबार चलचित्र रणवीरको प्रमोसनका लागि पोखरा आएका निर्माता तथा कलाकार समेत पोखरा थिएटर पुगेका थिए । नाटक हेरेपछि प्रतिक्रिया दिदै चलचित्र रणवीरकी नायिका सुपुष्पा भट्टले नाटक राम्रो लागेको प्रतिक्रिया दिइन् ।

नाटक हेर्नका लागि पोखरा बाहिरबाट समेत दर्शकहरु आउन थालेको पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तन कार्कीले बताए । ‘नाटक हेर्नकै लागि पोखरा आउनेक्रम बढ्दै छ, यसबाट हामी उत्साहित बनेका छौ’ उनले भने । नाटक हेरिसकेका दर्शकको सन्तुष्टिको कारण भएको प्रचारप्रसारका कारण नयाँ पुस्तालाई समेत थिएटरले आर्कषण गरिरहेको कलाकार प्रकाश घिमिरे बताउँछन् । ‘विस्तारै पोखराको नाट्य क्षेत्र व्यवसायिक तरिकालेनै अगाडी बढ्ने आशा थपिएको छ’ उनले भने ।

पौष २७ गतेबाट मञ्चन शुरु भएको नाटक माघ १२ गतेसम्म मञ्चन हुनेछ । एक घण्टा ४० मिनेट अवधिको नाटकले नाटक हेर्न पुगेका दर्शकको मन जितिरहेको छ । यो नाटक वरिष्ठ साहित्यकार सरुभत्त श्रेष्ठले झण्डै ३० वर्ष अगाडी लेखेका हुन् । गरिब, शोषित, दलित, यौन पिडित समाजको नाङ्गो यर्थाथलाई अभिव्यक्त गर्ने अभिप्राय बोकेको नाटक निरमायाले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिन्छ । हालसम्म गन्र्धव नाटकघर सञ्चालन भएपछि यहाँ निरमाया सहित २३ वटा नाटक मञ्चन भए ।

You might also like

Comments are closed.