एन्फा कास्कीमा अनियमितता देखिएको छानविन समितिको निश्कर्ष

 

पोखरा ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बनाएको छानविन समितिले एन्फा कास्कीमा अनियमितता रहेको निश्कर्ष निकालेको छ । एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा लेखा विज्ञ विष्णुप्रसाद पराजुली र कास्कीका आनन्द रञ्जित सदस्य रहेको छानविन समितिले एन्फा कास्कीभित्र अनियमितता रहेको निश्कर्ष निकाल्दै कार्वाहीका लागि एन्फालाई सिफारिस गरेको हो ।

jutta mela

छानविन समितिले सोमबार पोखरामा पत्रकार भेटघाट गरि अनियमितताबारेको छानविन सकिएको बताएको छ । पत्रकार भेटघाटमा समितिका अध्यक्ष वीरबहादुर खड्काले छानविन सकेर प्रतिवेदन तयार पारेको र सो प्र्रतिवेदन एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई बुझाईने बताए । छानविन समितिको निश्कर्षबारे भने अहिल्यै सार्वजनिक गर्न नमिल्ने उनले बताए । समितिको निश्कर्ष एन्फा अध्यक्षलाई बुझाएपछि मात्रै यसबारे बोल्न मिल्ने उनको भनाई छ । हामीले कसैलाई बचाउनुपनि छैन, अनि फसाउनुपनि छैन,‘उनले भने,‘छानविनका क्रममा हामीले जे देख्यौं, त्यसलाई जस्ताकोतस्तै ईमान्दारिताका साथ राखेका छौं ।’

एक हप्ता लगाएर गरिएको छानविनका क्रममा करीब २९ लाख रुपैयाँ अनियमितता भएको देखिएको श्रोतले बताएको छ । १८ वटा शीर्षकमा सो रकम अनियमितता भएको श्रोतको दाबी छ ।

पत्रकार भेटघाटमा समितिका अध्यक्ष खड्काले अनियमितताबारे अहिल्यै केहि भन्न नमिल्ने बताएपनि घुमाउरो रुपमा अनियमितता देखिएको स्वीकारे । अनियमितता छ वा छैन भनेर अहिल्यै सबै कुरा भन्न मिल्दैन,‘उनले भने,‘अनियमितता भएरै एन्फाले छानविन समिति बनायो, हामीपनि अनियमितता भएकैले छानविनमा जुटेका हौं, अहिलेलाई यत्ति बुझ्नुस् ।’

समितिका सदस्य विष्णुप्रसाद पराजुलीले एन्फा कास्कीले वार्षिक अडिट नगरेको, प्रतियोगिता सम्पन्न गरेको १ महिना भित्रमा खर्च सार्वजनिक गर्नुपर्ने भएपनि त्यस्तो नगरेको, खर्चको विवरण पारदर्शी नगरी अनियमित गरेको पाइएको बताए । कतिपय बिल फर्जि नै भनिहाल्न नमिल्ने भएपनि विधिसम्मत नदेखिएको पाइएकाले त्यस्तो बिललाई समितिले रिजेक्ट गरेको उनको भनाई छ । उनले अडिट नगरेको क्लवलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले नवीकरण नगर्नुपर्ने भएपनि क्लव नवीकरण गरेको पाइएकाले एन्फाकोपनि कमजोरी औंल्याइएको जानकारी दिए ।

समितिले अनियमिततामा अध्यक्ष मिलन गुरुङ दोषी ठहर गरेको छ । मिलनमाथि दोषी करार गरिएपनि उनलाई कस्तो कार्वाही गर्ने भन्नेबारेमा भने समिति मौन छ । समितिको काम तथ्य के हो भन्ने निकाल्ने हो,‘छानविन समितिका अध्यक्ष खड्काले भने,‘कस्तो कार्वाही गर्ने भन्ने त एन्फाको हो ।’

छानविन समितिले दोषी देखाएपनि कार्वाही हुनेमा आशंका व्यक्त गरिएको छ । मिलनलाई कार्वाही गरे कर्मा छिरिङको विगतका पोल खुल्ने डरले उनीमाथी कार्वाही हुने सम्भावना कम रहेको एन्फा श्रोत बताउँछ । कर्मा छिरिङले अध्यक्षमा चुनाव लड्दा मिलनमार्फत विभिन्न जिल्ला समितिका प्रतिनिधिलाई पैसा दिएर भोट किनेकोलगायतका कर्तुत खुल्ने डरले कर्मा छिरिङ मिलनसँग डराउने गरेको श्रोतको दाबी छ । मिलनलाई मात्रै कार्वाही गर्दा भाँडभैलो हुने भएकाले कर्मा छिरिङको दवाबमा एन्फाले कास्की जिल्ला फुटबल संघलाई नै विघटन गरेर तदर्थ समिति बनाउने डिजाइन भइरहेकोसमेत श्रोतको दाबी छ । तर छानविन समितिका संयोजक खड्का भने मिलनलाई जोगाउन अब कसैले नसक्ने दाबी गर्छन् । कसैले चाहेरपनि उसलाई बचाउन सक्दैन,‘उनले भने,‘यदी त्यस्तो कसैबाट प्रयास भए उ आफै नांगिन्छ ।’ ‘हिजो भक्तपुर फुटबल संघ र मकवानपुर फुटबल संघलाई कार्वाही गर्नेले कास्कीलाई जोगाउने त कुरै हुँदैन’–उनले भने । उनले पोखरा फुटबलको उर्वर भूमि भएकाले कसैलाई बचाउने नाममा फुटबल ध्वस्त पार्न नहुनेसमेत बताए ।

यसैबीच, छानविनको नाममा मिलनलाई जोगाउने खेल भइरहेको आशंका व्यक्त गर्दै सामुहिक राजिनामा दिन लागेको कास्की जिल्ला फुटबल संघका सम्पूर्ण पदाधिकारी अहिले ब्याक भएका छन् । सामुहिक राजिनामा दिने र त्यसको ड्राफ्ट तयार भइसकेको बताएका उनीहरु एन्फाको निर्देशनमा ब्याक भएको बताइन्छ ।

You might also like

Comments are closed.