एपिएफसँग मनाङ स्तब्ध

सन्देश श्रेष्ठ
पोखरा, ११ फागुन । एपिएफ क्लब पोखरामा जारी १७औं आहा ! रारा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा एसिएफले मनाङ मस्र्याङदी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

एपिएफको जितमा प्रदीप लामाले निर्णायक गोल गरे । उनले ७०औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । सन्तोष श्रेष्ठले मैदानको दायाँ साइडबाट प्रहार गरेको कर्नर किकमा पेनाल्टी एरियाको बिच भागमा अनमार्क रहेका लामाले गरेको हेडर बलले सेकेण्ड बारहुँदै जाली चुमेको थियो ।

शुरुवातदेखि नै काउन्टर अट्याकमार्फत गोल गर्ने रणनीति बनाएको एपिएफबिरुद्ध मनाङ पहिलो हाफमा हाबी भयो । लगातार दवाबमा राखेर खेलेको मनाङले पहिलो हाफमा आधा दर्जन गोल गर्ने अवसर खेर फाल्यो । पहिलो हाफमा केही कमजोर खेल प्रदर्शन गरेको एपिएफले दोश्रो हाफमा लय समात्यो । उसले पनि दोश्रो हाफमा ४ वटा गोल गर्ने मौका गुमायो ।

शनिबारको खेलमा एपिएफका लागि निर्णायक गोलकर्ता प्रदीप लामा म्यान अफ दी म्याच भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिएको थियो । बिजयी भएपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले दोश्रो रोजाइका युवा खेलाडीले आफ्नो रणनीति अनुसार नै खेल्दा जित निस्केको बताए ।

पराजित मनाङमस्र्याङ्दीका विदेशी प्रशिक्षक टोपे फुजाले पाएका अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको बताए । प्रतियोगिता अन्तर्गत आइतबार नेपाली सेनाको त्रिभूवन आर्मी क्लब र हिमालयन शेर्पाबीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लवका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।

You might also like

Comments are closed.