ए एण्ड बि इन्टरनेशनलमा अमेरिकन प्रविधि, जटिल प्रकारका शल्यक्रिया सफल

सुरेन्द्र पौडेल
पोखरा, ३१ असार ।

पोखरा ५ पर्स्याङका कृष्णकुमार सुनार निर्माण क्षेत्रमा काम गर्ने क्रममा ३ तला माथिबाट लडे । उनको खुट्टाको गेडी भाँचियोे, नितम्बको पनि गेडी फेर्नुपर्ने भयो । लामो समय वैशाखीको सहारामा जीवन बिताउन बाध्य सुनार गत माघबाट भने पुरानै अवस्थामा फर्किएका छन् । पोखराको विन्ध्यबासिनीमा रहेको ए एण्ड बि इन्टरनेशनल हस्पिटलमा डा. रविमोहन ढकालको टिमले गत माघमा उनको सफल शल्यक्रिया गरेर नितम्ब र खुट्टाको गेडी फेरेपछि उनी एक साताबाटै हिड्न सक्ने भए । अहिले उनी स्कुटर चलाएर हिड्नमात्र होइन, पुरानै व्यवसायमा काम गर्नसक्ने भएका छन् ।

पोखरा न्युरोडकी शारदा सुवेदीलाई २०४२ देखि घुँडाको समस्या थियो । घुँडाको समस्या बढ्ने क्रममा २०७४ बाट हिड्नै नसक्ने अवस्थामा पुगिन् । तलमाथि गर्दा, सिडि उक्लदा अरुको सहारा लिनुपर्ने बाध्यता आइप¥यो । छोराछोरीसँग अमेरिका घुम्न जाँदासमेत ह्विलचिरयमा हिड्नुपर्दाको दुःख स्मरण गर्छिन् उनी । अहिले शारदा सुवेदीको खुट्टाले पनि नयाँ जीवन पाएको छ । उनी अहिले घरको सबै काम गर्न सक्छिन्, उकालो ओराले पनि गर्छिन् । डा. ढकालकै समूहले ए एण्ड बि हस्पिटलमा गत माघमै उनको सफल सल्यक्रिया गरेका थिए । ‘मैले नयाँ जीवन पाएको अनुभूति गरेकी छु,’ उनले भनिन् ।

हाडजोर्नी तथा नशा रोगका विशेषज्ञ डाक्टर रवि अमेरिकामा अध्ययन पश्चात नेपालमा आएका हुन् । अहिले ए एण्ड बि इन्टरनेशनल हस्पिटलमा कार्यरत उनले सुवेदी र सुनारको मात्रै होइन लामो समयसम्म उपचार गराउन नसकेका हाडजोर्नीका जटिल प्रकारका रोगीहरुको उपचार गराउन सफल भएका छन्, नयाँ जीवन दिएका छन् । ए एण्ड बि मा अमेरिकन प्रविधिको उपचार सुरु गरिएको बताउँछन् उनी । ‘जोर्नी बिग्रिएर हिड्नै नसक्ने, विरलै हुने अपरेसन यहाँ सफल भएको छ,’ डाक्टर ढकालले भने, ‘विशेष प्रकारको मेटललाई रिप्लेस गरेर शल्यक्रिया गर्छौं ।’ मेटल लगायतका  उपचारका लागि आवश्यक अन्य सम्पूर्ण सामान अमेरिकाबाटै निर्यात गरिएको उनले जानकारी दिए । ‘८ महिनाका अवधीमा जटिल प्रकारका ५ वटा अपरेशन गरेका छौं,’ उनले भने, ‘सबै अपरेसन सफल हुनु मेरो लागि मात्रै नभइ अस्पतालको पनि सफलता हो ।’

सन् २००८ मा एबि केयर एण्ड रिहाबिलिटेसन हस्पिटलबाट सुरु भएको अस्पताल गत वर्षदेखि ए एण्ड बि इन्टरनेशनल हस्पिटलमा रुपान्तरण भएको हो । अस्पतालले अन्तर्राष्ट्रियस्तरको उपचार सेवा प्रदान गर्न सफल भएको बताउँछन् प्रवन्ध निर्देशक ऋषि खतिवडा । २५ वटा बेडको स्वीकृत लिएको हस्पिटलले सेवालाई निरन्तर विस्तार गरिरहेको छ । २४ सैं घन्टा इमर्जेन्सी, आइसियु तथा अप्रेसन, हाडजोर्नी तथा नशाको विशेषज्ञ सेवा तथा जटिल प्रकारका अपरेशन सेवा, मधुमेह, थाइराइड, पेट, छाति, मुटु सम्बन्धी उपचार, पिसाब तथा मृगौला सम्बन्धी समस्याका उपचार, प्रसुती तथा स्त्रीरोग उपचार, क्यान्सर रोगको परीक्षण, नाक, कान, घाँटी, मानसिक रोगको उपचार लगायतका सेवा हस्पिटलबाट प्रदान भइरहेको खतिवडाले जानकारी दिए ।

बिगत १० वर्षदेखि फिजियोथेरापी तथा अकुपेशनल थेरापी उपचार  प्रदान गर्दै आइरहेको हस्पिटलले सेवाग्राहीको विश्वास जित्दै आधुनिक तथा स्तरीय सेवा प्रदान गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत लतालक्ष्मी पराजुलीले बताइन् । २० जना भन्दा बढी चिकित्सक हस्पिटलमा कार्यरत रहेको उनले जानकारी दिइन् । मेरुदण्ड लगायतका जटिल प्रकारका अपरेसन सेवा सुरु गरेपछि हस्पिटलको उचाई बढेको बताउँछिन् उनी । ‘अमेरिकन प्रविधिलाई हामीले यहाँ प्रयोग गरेका छौं,’ उनले भनिन्, ‘आगामी दिनमा सेवालाई अझ बढी स्तरीकरण गर्न हामी सफल हुनेछौं ।’

lcci
You might also like

Comments are closed.