कंगारुद्धारा ३ दिने सेमिनार आयोजना

आर्थिक आवाज । कंगारु एजुकेशन फाउण्डेसनले पोखरामा ‘स्टुडेन्ट सेमिनार’ आयोजना गरेको छ । सोमबार सुरु हुने सेमिनार ३ दिनसम्म जारी रहने कंगारुका निर्देशक टि.आर. काफ्लेले जानकारी दिए । सोमबार न्युजिल्याण्डका लागि तथा मंगलबार र बुधबार अष्ट्रेलियालाई लक्षित गरेर सेमिनार आयोजना गरिएको हो । कँगारुकै चिप्लेढुंगास्थित सेलवेज टावरको पाँचौ तलामा सेमिनार हुने काफ्लेले जानकारी दिए । ‘दुवै देशका उत्कृष्ट कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु सेमिनारमा प्रत्यक्ष सहभागी हुनेछन्,’ उनले भने, ‘विद्यार्थीलाई उचित प्रोग्रामका बारेमा जानकारी दिँदै जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था मिलाउन सेमिनारमा पहल गर्नेछौं ।’

सोमबारको सेमिनारमा न्युजिल्याण्डको नेल्सन सिटीमा रहेको नेल्सन मार्लबोरोज इन्स्टिच्युट अफ टेक्नोलोजी (एनएमआइटी) कलेजका प्रतिनिधि यासिर साफिक सहभागी हुनेछन् । मंगलबारको सेमिनारमा अष्ट्रेलियाको लागि आरएमआइटी युनिभर्सिटीका प्रतिनिधि आउने काफ्लेले जानकारी दिए । ‘युनिभर्सिटीका अन्तर्राष्ट्रिय संयोजक साम्युइल फ्लिन विद्यार्थीमार्फत प्रस्तुत हुनेछन्,’ उनले भने । बुधबार हुने सेमिनारमा साउथर्न क्रस युनिभर्सिटीका एप्लिकेसन संयोजन गर्ने संस्था एडुको ग्लोबलका शुभी प्रधानले विद्यार्थीलाई परामर्श प्रदान गर्नेछिन् । जेहेन्दार विद्यार्थीलाई विशेष छात्रबृत्तिको व्यवस्था समेत गरिने काफ्लेले जानकारी दिए । सेमिनारमा आउने विद्यार्थीलाई प्रिभिलेज कार्ड वितरण गरिने अपरेशन इन्चार्ज बबिता पराजुलीले जानकारी दिइन् । ‘जुन कार्ड विद्यार्थीले कंगारुका अन्य सेवाहरुमा प्रयोग गर्न सक्नेछन्,’ उनले भनिन्, ‘प्रिभिलेज कार्ड प्रस्तुत गरेमा विद्यार्थीको भिषा प्रोसेसिङ निःशुल्क गरिनेछ ।’

हाल कंगारुमा ४ जना क्रियाशील काउन्सिलर छन् । जसमध्ये २ जना विदेशबाट अध्ययन गरेर आएका छन् । विदेश अध्ययन गर्न जाने क्रममा विदेशबाट नै अध्ययन गरेर फर्किएका काउन्सिलरसँग परामर्श लिँदा सत्य र तथ्य एकैसाथ पाइने हुँदा विद्यार्थीहरु अत्यन्तै लाभान्वित हुने बताउँछन् निर्देशक काफ्ले ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.