सन्देश श्रेष्ठ
पोखरा । पर्यटन व्यवसायी भरतराज पराजुलीले मंगलबार विहान एउटा स्टाटस लेखे–‘नेतालाई कुर्सीको चिन्ता ! फेवाताललाई झारको चिन्ता, ब्यापारीलाई कोरोनोका चिन्ता, जनतालाई बाढी पहिरोको चिन्ता ! सरकार कता ? देश बन्छ कसरी ? । पोखरा पर्यटन परिषदका निवर्तमान उपाध्यक्ष तथा पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्षसमेत रहेका उनले फेवाताललाई जलकुम्भी र बन्दा झारले ढाक्दासमेत सम्बन्धित निकायले ध्यान नदिएको, कोरोनाका कारण पर्यटन व्यवसायसहित सम्पूर्ण व्यवसाय ठप्प हुँदापनि सरकारले अर्थतन्त्र चलायमान नबनाएको, बाढी पहिरोले जनधनको क्षति गर्दासमेत सरकारले उद्धार र राहत प्रभावकारी रुपमा गर्न नसकेकोप्रति स्टाटस लेख्दै आक्रोस पोखेका हुन् । जनताको दुःखमा सरकार उदासिन बनेको उनको आरोप छ ।
जनताको दुःखसँगै जलकुम्भी झार र बन्दा झारले फेवाताल कुरुपहुँदै जाँदापनि सम्बन्धित निकायले उक्त झार हटाउने पहल नथालेकोप्रति उनको सबैभन्दा बढी आक्रोस देखिन्छ । हुनपनि पोखराको फेवातालमा पानीको सतहसँगै जलकुम्भी झार र बन्दा झार फैलिरहेको छ । अविरल वर्षासँगै मुहान क्षेत्रका हर्पनखोला, अँधेरीखोला, लौरुक खोला, वेतयानी खोलालगायतका खोलाहरुमा आएको बाढी फेवातालमा मिसिएर पानीको सतह बढेसँगै जलकुम्भी झार र बन्दा झारपनि फैलिन थालेको हो । तर झार दिन दुई गुणा र रात चौगुणा फैलिदापनि त्यसको समाधानका लागि सरकारको ध्यान जान सकेको छ ।
फेवातालमा पानीको सतहसँगै वर्षेनी जलकुम्भी झार र बन्दा झार बढ्ने गर्दछ । यस वर्षपनि पानीको सतहसँगै जलकुम्भी झार र बन्दा झार बढ्न थालेको फेवा हर्पन मत्स्य सहकारी संस्थाका अध्यक्ष ईन्द्रबहादुर जलारीले जानकारी दिए । तालको माथिल्लो सिरान क्षेत्रमा रहेको सीमसार क्षेत्रमा रहेको जलकुम्भी झार र बन्दा झार बाढीसँगै बगेर फेवातालमा आउने गरेको उनले बताए ।
फेवातालमा विगत २५ वर्षदेखि जलकुम्भी झार देखिदै आएको छ । बन्दा झार भने विगत १५ वर्षदेखि देखिएको अध्यक्ष जलारीले बताए । बन्दा झारलाई अंग्रेजीमा वाटर लेटुस भनिन्छ । यो झार जलकुम्भी झारजत्तिकै फैलिने गुण भएको झार भएको बताइन्छ । तर बन्दा झारले भन्दा जलकुम्भी झारले पानीमा भएको पोषक तत्व उपयोग गर्ने गर्दछ । जसका कारण माछालाईसमेत असर पार्ने बताइन्छ ।
जलकुम्भी झारका कारण फेवाताल कुरुप हुँदै आएको छ । सुन्दर फेवाताललाई पानीको माथिल्लो भागमा जलकुम्भी झारले छपक्कै ढाक्दा तालको सुन्दरता ह्रास भई कुरुप देखिने गरेको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरोलले बताए । जलकुम्भी र बन्दा झारले ताल ढाक्दा तालको सुन्दरता कुरुप त हुन्छ नै,‘उनले भने,‘त्योसँगै पर्यटकले तालको सुन्दरता देख्न नपाउँदा उनीहरु खिन्न हुन्छन्, जसका कारण पर्यटनमा दीर्घकालिन असर पुग्छ ।’ त्यस्तै जलकुम्भी झार र बन्दा झारका कारण ताल पारीबाट दूध, तरकारी लिएर आवतजावत गर्नेहरुको दैनिकीमा असर परेको उनको भनाई छ । अन्य समयमा भने पर्यटकलाई डुंगा सयरमासमेत प्रभावित पर्ने उनले बताए ।
जलकुम्भी झार र बन्दा झारकै कारण आफूहरुको पेशासमेत समस्या देखिएको अध्यक्ष जलारीले बताए । झारले फेवाताल त कुरुप बनाउँछ नै,‘उनले भने,‘सँगसँगै झारमा जाल अड्किने, जाल च्यातिने र डुंगा चलाउनसमेत अप्ठेरो हुँदा हाम्रो पेशा नै संकटमा पर्ने खतरा छ ।’
फेवातालको सुन्दरता बचाउनका लागि तालमा देखिएको जलकुम्भी झार र बन्दा झार फाल्ने अभियान वर्षेनी चलाईंदै आएको छ । उसो त १ करोड खर्चेर झार फाल्ने फ्लोडिङ मेसिनसमेत ल्याएर प्रयोग गरिएको हो । तर यो प्रभावकारी बन्न सकेको छैन । तालको सुन्दरता बचाउन जलकुम्भी झार र बन्दा झारको दीर्घकालिन समाधान खोज्नुपर्ने गण्डकी प्रदेश सांसद राजिव पहारी बताउँछन् । बर्खामा आएर कराएर मात्रै हुँदैन,‘सांसद पहारीले भने,‘हिउँदमै यसको स्थायी समाधान खोज्नुपर्छ र अभियानका रुपमा यसलाई लैजानुपर्छ ।’ उनले झारको स्थायी ब्यबस्थापनका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले पहलकदमी लिनुपर्ने बताए ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोखरेल भने झार फाल्ने अभियान सञ्चालन गर्नुपर्ने र त्यसका लागि स्थायी दस्ता नै निर्माण गरेर अघि बढ्नुपर्ने बताउँछन् ।
Comments are closed.