कम्युनिष्टलाई सत्ताको मात लाग्नु हुँदैनः नेपाल

सन्देश श्रेष्ठ
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्टलाई सत्ताको मात लाग्न नहुने बताएका छन् । नेपाल यातायात मजदुर संगठन गण्डकी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टलाई बाहिर हुँदाजस्तै सत्तामा पुगेपछिपनि मात लाग्न नहुने बताएका हुन् । सत्तामा पुगेपछि सत्ताको मात लाग्नेगरेको संसारमा धेरै उदाहरण छन्,‘उनले भने,‘तर कम्युनिष्टलाई त्यसरी सत्तामा पुगेपछि पनि सत्तामा मात लाग्नु हुँदैन, अहंकार बढ्न दिनु हुँदैन ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले कम्युनिष्ट पार्टीलाई नै सक्षम र गतिशिल बनाउनुको विकल्प नभएको बताए । के कांग्रेस, राजपा वा राप्रपा राम्रा छन् त ? छैनन्,‘उनले भने,‘ परिवर्तनको सम्वाहक भनेको कम्युनिष्ट नै हो, त्यसैले कम्युनिष्टलाई नै सक्षम र गतिशिल बनाउनुको अर्को विकल्प छैन ।’ उनले संसारमा धेरै देशका कम्युनिष्टहरुले धक्का खाएको बताउँदै उनले नेपालको कम्युनिष्टले धक्का खान नहुने बताए । उनले पानी बिना माछा बाँच्न नसक्ने भन्दै जनता बिनापनि कम्युनिष्ट नहुने बताए । त्यसैले सबै जनताको मन जित्नेगरी सरकारले काम गर्न जरुरी रहेको बताए । भन्ने वित्तिकै जादूको छडीजस्तो परिवर्तन नहुने भन्दै तर शुरुवात भने गर्नुपर्ने र वर्तमान सरकारले त्यो गर्नेमा आफू आशावादी भएको बताए । वर्तमान सरकारले बाटो निर्माणमा उल्लेख्य काम गरेको भन्दै मध्य पहाडी लोकमार्गमा भएको काम त्यसैको उदाहरण भएको उनले उल्लेख गरे ।

नेता नेपालले परिवर्तन बिरोधीले ब्यबस्था फेर्ने सपना देख्न थालेको भन्दै त्यसप्रति सबै जनता सचेत हुनुपर्ने बताए । परिवर्तन बिरोधीहरु अहिले चलमलाई राखेका छन्,‘पुरानो ब्यबस्था फर्काउने सपना देख्न थालेका छन्, हामी सचेत भएनौं भने बदमासी गर्न सक्छन्, त्यसैले हामी सँधै सचेत रहनुपर्दछ ।’ लोकतन्त्र, कम्युनिष्ट र जनतालाई असफल बनाउने प्रयास भइरहेको भन्दै यसो भएमा वर्तमान सरकार, कम्युनिष्ट र जनता सबै असफल हुने यहि कारण देश नै असफल हुने खतरा रहेको बताए ।

नेता नेपालले पार्टी एकीकरणको नाममा कसैमाथि पनि अन्याय गर्न नहुने बताए । उनले अन्याय भएको ठाउँमा छानविन गर्ने उद्घोष गर्दै यदी अन्याय भएको ठहर भए अन्याय गर्ने नेतालाई पनि कार्वाहीको भागिदार बनाउने बताए । उनले पार्टी विधिसम्मत ढंगले चल्नुपर्ने बताए । हिजो जुन कमिटीमा थियो त्यहि आधारमा जिम्मेवारी दिइनुपर्छ,‘उनले भने,‘पार्टी एकीकरणको नाममा होस् वा अन्य कुनैपनि बहानामा कसैलाईपनि अन्याय गरिनु हुँदैन, यदी अन्याय भएको छ भने त्यसको छानविन गरिन्छ, छानविनमा अन्याय भएको ठहर भए अन्याय गर्ने नेतालाई पनि कार्वाहीको भागिदार बनाइन्छ ।’

नेता नेपालले उप चुनावमा एक भएर नेकपाका उम्मेद्वारलाई जिताउन आग्रह गरे । चुनाव परिक्षा हो,‘उनले भने,‘रिस पोख्ने चुनावको बेला होइन, जस्तै रिस उठेपनि पार्टीले चुनावमा उठाएको उम्मेद्वारलाई जिताउनु कार्यकर्ताको जिम्मेवारी हो, चुनाव सकिएछि रिस पोख्ने हो कि के गर्ने हो त्यतिबेलै गरौंला ।’ उनले चुनावमा उम्मेद्वार हुने चाहना धेरैको भएपनि जसलाई पार्टीले आधिकारिक उम्मेद्वार घोषणा गर्छ उसलाई सघाउनु सबैको दायित्व भएको बताए ।

नेता नेपालले मजदुरले कम्युनिष्ट बाहेक आशा राख्नै नसक्ने बताए । मजदुरको पक्षमा कम्युनिष्टले मात्र काम गर्ने भन्दै सबै मजदुरलाई कम्युनिष्ट सदस्य बनाउन पहल गर्न निर्देशन दिए ।

You might also like

Comments are closed.