कवाडी व्यवसायी संघको मागः भ्याटमा जाने निर्णय खारेज गर (विज्ञप्तिसहित)

आर्थिक आवाज
पोखरा, ६ साउन । कवाडी व्यवसायी संघ कास्कीले कवाडी व्यवसाय मूल्य अभिबृद्धि कर (भ्याट)मा अनिवार्य आबद्ध हुनुपर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । कवाडी व्यवसायी संघ कास्कीका अध्यक्ष केशवप्रसाद अधिकारीले सोमबार एक विज्ञप्ती जारी गर्दै सरकारले अनिवार्य गरेको मूल्य अभिबृद्धि कर कार्यान्वयन गर्ने अवस्था नरहेको जनाउँदै सो निर्णय खारेज गर्न माग गरेका हुन् ।

विज्ञप्तीमा कवाडी व्यवसायमा भ्याट लागू हुने अवस्था नभएको जनाउँदै यो लागु भए कवाडी व्यवसायबाटै पलायन हुने अवस्था आउने चेतावनी दिइएको छ । भ्याटमा जाने निर्णय कार्यान्वयन गर्न नसक्ने उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो व्यवासयमा अधिकतम वार्षिक १०–१५ लाख मात्र व्यापार हुने र सो रकम बराबरको कारोबार स्थायी लेखा नम्बर लिइ गर्न सकिने अवस्था हुँदाहुँदै हामीलाई पेशाबाट पलायन वा अन्य वैकल्पिक व्यवसाय गर्न बाध्यपार्ने नियतबाट भएको निर्णय हामीले कार्यान्वयन गर्ने अवस्था कदापि छैन भन्ने विषयमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

विज्ञप्तीमा स्थानीय तहले तोकेका सबै प्रकारका करहरु तिरिरहेको र विधिवत रुपमा सञ्चालनमा रहेका साना व्यवसायीहरुलाई प्रत्यक्ष असर पुग्ने गरी भ्याटमा जाने निर्णय वर्तमान सरकारको अलोकप्रिय र व्यवसायीको हित प्रतिकुल रहेको उल्लेख छ ।

कवाडी संघ कास्कीले भ्याटमा जानुपर्ने बाध्यकारी निर्णय खारेज नभए यहि साउन ७ र ८ गते पोखरा महानगरपालिका भित्र रहेका सम्पूर्ण कवाडी सामान खरिद बिक्री केन्द्रहरु बन्द गर्ने चेतावनीसमेत दिइएको छ ।

You might also like

Comments are closed.