कानुनी जग बसाल्यौं, संघीय प्रणालीमा हरियो बत्ती बाल्यौंः मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकार स्थापना भएको २ वर्षमै संघीय शासन प्रणालीको राजमार्गमा हरियो बत्ती बाल्न सफल भएको दाबी गरेका छन् । गण्डकी प्रदेश सरकारको ‘दोश्रो वार्षिकोत्सव’ समारोहलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले पछिल्लो २ वर्षमा प्रदेशले आफ्नो औचित्य, सामथ्र्य, आफ्नो सान्दर्भिकतासमेत पुष्टी गरेको जिकिर गरेका हुनु । उनले संघीयताबारे प्रश्न उठाउनेहरुलाई हुने विरुवाको चिल्लो पात भनेझैं संघीय शासन प्रणाली मुलुकको निर्माणको लागि, विकासको लागि, समृद्धिको लागि यात्रा शुरु गरेको बताए ।

मुख्यमन्त्री गुरुङले संघीय शासन प्रणाली सहि ट्रयाकमा अघि बढिरहेको दाबी गरे । संघीय शासन प्रणालीको गति बढाउनुपर्ने जरुरी रहेको बताउँदै उनले भने,‘हामीले बढाउन खोजेको त वायुपंखी गतिमा हो । तर चिप्ले किराको गतिमा थियो, त्यो भन्दा अलि बढेर कछुवाको गतिमा पुगेको छ, यद्वपी त्यसले बाटो चैं विराको छैन, बरु गति मात्रै धेरै बढाउनुपर्ने जरुरी छ ।’

मुख्यमन्त्री गुरुङले संघीय प्रणालीको मूल औचित्य प्रदेश सरकार नै भएको बताए । प्रदेश सफल नभई संघीय शासन प्रणाली सफल र बलियो हुँदैन भन्ने कुरा संघीय सरकारले बल्ल बुझेको भन्दै यसको महशुष प्रदेश सरकारले नै गराएको उनको भनाई छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न, विकास र समृद्धीमा जानपनि प्रदेश सरकार सफल हुनुपर्छ भन्नेमा संघ सरकार पुगेको उनले बताए ।

jutta mela

मुख्यमन्त्री गुरुले यो २ वर्षमा गण्डकी प्रदेश सरकारले कानुनी जग बसालेको बताए । उनले अब कानुनको अभावमा प्रदेशमा अँध्यारोमा छामछुम गर्नुपर्ने स्थिति नरहेको बताए । मुख्यमन्त्री गुरुङले इआइए रिपोर्टका कारण संघले रोक्दा डेढ वर्षदेखि सडक र पुल निर्माणका कामहरु ठप्प भएको, ढुंगा, गिट्टी बालुवामा भइरहेको ब्रह्मलुट रोक्नका लागि केन्द्रीय मापदण्ड बनाउनका लागि राष्ट्रिय विकास समाधान समितिमा राखेको बताए । प्रदेशमा सुशासन कायम गर्न, श्रोत र साधनको समुचित प्रयोग गरेर विकासमा लगाउनका लागि बाटो खोलेको उनले बताए ।

मुख्यमन्त्री गुरुङले संघीयतालाई अफवाह फैलाउन खोज्नेहरुले करका बारेमा भ्रम सृजना गर्न खोजेको आरोप लगाए । उनले प्रदेश सरकार सुशासन कायम गर्न र आर्थिक पारदर्शिता कायम गर्न प्रतिबद्ध रहेको बताउँदै विधी र प्रक्रियाबाहेक हुकुमी वा मनपरी शैलीमा एक पैसापनि खर्च नगर्ने र गर्न नदिनेमा दृढ रहेको उल्लेख गरे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले भोका नाङ्गा जनताको जीवनस्तरमा परिवर्तन ल्याउँदै विकास र समृद्धीमा उपलब्धी हासिल गरेको खण्डमा मात्र बदलिएको ब्यबस्था र सरकार लोकप्रिय हुने बताए । उनले गण्डकी प्रदेशलाई प्रकृतिले वरदान दिएपनि यसको सदूपयोग हुन नसकेको भन्दै कच्चा माल, खनिजलगायतमा आधारित रहेर उद्योग सञ्चालन गर्नेतर्फ प्रदेश सरकार लाग्नुपर्ने बताए ।

प्रमुख बिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सरकारको नारा सुन्दर र लोकप्रिय भएपनि कार्यान्वयनमा फितलो भएको टिप्पणी गरे । प्रदेश सरकार छ, यसको उपस्थिति र उपलब्धी सरकार आफै वा कुनै दल विशेषले भन्ने होइन,‘उनले भने,‘यो त जनताले अनुभूति गर्ने कुरा हो ।’ सुशासन ब्यबहारमा देखाउन आग्रह गर्दै नेता नेपालीले अर्को प्रदेशमा जाँदासमेत शीर ठाडो पारेर हिंड्ने खालको छुट्टै युनिक कुनै एउटा कार्यक्रम सञ्चालन गर्नसमेत प्रदेश सरकारलाई सुझाव दिए ।

कार्यक्रममा ‘गण्डकी प्रदेश सरकारको २ वर्ष कार्यप्रगति’ पुस्तक विमोचन गरिएको थियो । सो अवसरमा १ लाख नगदसहित कानुन सचिव दलबहादुर अधिकारीलाई सर्वोत्कृष्ट प्रदेश निजामति कर्मचारी पुरस्कार, ७५ हजार नगदसहित खिमबहादुर खड्कालाई उत्कृष्ट कर्मचारी तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट हुने कर्मचारीलाई पुरस्कृत गरिएको थियो । कर्मचारीको कार्य क्षमता, कार्यकुशलता र लगनशीलताको आधारमा उत्कृष्ट हुने कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले जानकारी दिए ।

You might also like

Comments are closed.