कास्की–२ मा भोलि चुनाव, तयारी पूरा

आर्थिक आवाज

पोखरा । प्रतिनिधि सभाको एकमात्र निर्वाचन हुने कास्की निर्वाचन क्षेत्र नम्बर २ को चुनावी तयारी पूरा भएको छ । कास्की–२ मा हुने उपनिर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको हो । जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुबेदीले निर्वाचनका लागि कर्मचारी परिचालनदेखि सुरक्षासम्मको सबै तयारी पूरा भएको बताए । उनले भने, ‘निर्वाचन हुने ३२ वटै मतदान स्थलमा रहेका ८२ वटै मतदान केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।’ उनका अनुसार प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित कर्मचारी पुगिसकेको छ । त्यस्तै मतपत्रसहित सम्पूर्ण निर्वाचन सामग्रीसमेत पुगेको उनले बताए । उनले निर्वाचनका लागि मतदान स्थलमा डोरी टाँगेर लाइनमा बस्ने ब्यबस्थासमेत भइसकेको जानकारी गराए ।

निर्वाचन अधिकारी सुबेदीले नया मतदातालाई मतदाता परिचय पत्रसमेत वितरण गरिसकिएको जानकारी दिए । विहीबार र शुक्रबार नया मतदातालाई परिचय पत्रको आधारमा सम्बन्धित मतदान केन्द्रबाट परिचय पत्र वितरण गरिएको उनले बताए । नया मतदाता मध्ये ९५ प्रतिशतले मतदाता परिचय पत्र लगिसकेको उनले दाबी गरे । बाँकीलाई निर्वाचनको दिन शनिबार आएपनि परिचय पत्रको आधारमा मतदाता परिचय पत्र वितरण गर्ने ब्यबस्था मिलाइएको उनले बताए ।

मतदाताले मतदाता परिचय पत्रको आधारमा मतदान गर्न पाउने उनले जानकारी दिए । मतदाता परिचय पत्र नभएको तर मतदाता नामावलीमा नाम भएकाहरुलाई परिचय खुल्ने कुनैपनि परिचय पत्र भए त्यसका आधारमा मतदान गर्ने ब्यबस्था मिलाइएको उनले बताए । उनका अनुसार नागरिकता वा घर÷जग्गाको लालपूर्जाको आधारमासमेत मतदान गर्न पाइनेछ ।

निर्वाचनका लागि सुरक्षा ब्यबस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । प्रत्येक मतदान स्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिने कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । कास्कीमा एक तिहाई मतदान स्थललाई अति सम्बेदनशील मानेर त्यस अनुसारै सुरक्षा ब्यबस्था मिलाइएको उनले बताए । उनका अनुसार मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछ ।

मतदान विहान ७ बजेबाट शुरु हुने निर्वाचन कार्यालय कास्कीले जनाएको छ । विहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए । साँझ ५ बजेसम्म लाइनमा बसेकाले नसकिञ्जेलसम्म मतदान गर्न पाउनेछन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन । यसअघीको निर्वाचनमा कुल ७० हजार ६ सय ५१ मतदाता रहेको कास्की २ मा अहिले १ हजार २ सय २० जना मतदाता थपिएर ७१ हजार ८ सय ७१ पुगेको जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुबेदीले जानकारी दिए । कास्की–२ मा नेकपा, नेपाली कांग्रेससहित १० दलका उम्मेद्वार र ११ स्वतन्त्रसहित २१ जना चुनावी प्रतिष्पर्धामा रहेका छन् । कास्की–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडाहरु पर्दछन् ।

मतगणना साँझबाटै शुरु गर्ने तयारी

कास्की–२ को मतगणना शनिबार साँझबाटै गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभाको एकमात्र निर्वाचन हुने कास्की–२ मा मतदान सकिएलगत्तै मतगणना गर्ने तयारी गरिएको हो । जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुबेदीले साँझबाटै मतगणना गर्ने तयारी गरिएको बताए ।

साँझ ५ बजे मतदान सकिएर साढे ५ बजेसम्ममा मुचुल्का उठाएर तत्कालै मतपेटिका सदरमुकाम ल्याउने तयारी गरिएको उनले बताए । मुख्य सहरी क्षेत्र र त्यसको नजिकका क्षेत्रमा मतदान स्थल रहेकाले ८ बजेसम्ममा सबै मतदान केन्द्रबाट मतपेटिका आइसक्ने अनुमान गरिएको उनले बताए ।

मतगणना जिल्ला समन्वय समितिको कार्यालयस्थित कुनै एक हलमा गर्ने तयारी गरिएको छ । मतपेटिका ल्याइसकेपछि सर्बदलीय तथा सर्वपक्षीय बैठक बसेर मतगणनाको आचारसंहिता बनाइने र त्यसपछि मतगणना शुरु गरिने निर्वाचन अधिकारी सुबेदीले बताए ।

मतगणना शुरु भएको ८ घण्टाभित्र मत परिणाम आइसक्ने अनुमान गरिएको छ । यसअघीको चुनावमा प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिकसमेत गणना गर्दा ढिलाइ हुने गरेपनि यसपटक प्रतिनिधि सभाको मात्रै गणना हुने भएकाले छिट्टै नतिजा आउने अनुमान गरिएको हो ।

You might also like

Comments are closed.