कास्की २ मा साढे ६३ प्रतिशत मत खस्यो, ४ ठाउँ बम विष्फोट

सन्देश श्रेष्ठ
पोखरा, १४ मंसिर । प्रतिनिधि सभा सदस्यको लागि शनिबार भएको कास्की क्षेत्र–२ को उप–निर्वाचनमा साढे ६३ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले कास्की–२ मा ६३.४० प्रतिशत खत खसेको जनाएको हो । अघिल्लो आम चुनावमा ६७ प्रतिशत मत खसेको यो क्षेत्रमा यसपटक ४ प्रतिशत कम मत खसेको हो । शनिबार भएको मतदानमा ४५ हजार ५ सय ६३ मत खसेको हो । कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन ।

शनिबार विहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । साँझ ५ बजेसम्म लाइनमा बसेकाहरुलाई मतदान गर्न दिइएको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुबेदीले जानकारी दिए । यसपटकको चुनावमा एउटा मात्रै मत पत्रमा मतदान गर्नुपर्ने भएकाले मतदान एकदमै सहज भएको थियो । प्रायः लाइनमा नबसी मतदाताले मतदान गरेका थिए भने लाइनमा बस्दापनि १०/१५ मिनेट भन्दा बस्नुपरेको थिएन ।

 

पोखरा महानगरभित्रका ११ वटा वडामा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र रहेका थिए । ति सबै मतदान केन्द्रमा छिटपुट घट्ना बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी सुबेदीले बताए ।

शनिबार भएको कास्की–२ को निर्वाचनमा पुरुष भन्दा महिलाको मत धेरै खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार उप–निर्वाचनमा पुरुष भन्दा करीब १० प्रतिशत बढी महिलाले मतदान गरेका हुन् । उनका अनुसार महिला ५४.३९ प्रतिशत अर्थात २४ हजार ७ सय ७९ र पुरुष ४५.६१ प्रतिशत अर्थात २० हजार ७ सय ८४ मतदानमा सहभागी भएका हुन् ।

यसैबीच, मतगणना जिल्ला समन्वय समिति कास्कीमा हुँदैछ । सबै मतदान केन्द्रबाट मुचुल्का तयार गरी साँझ नै मतपेटिका जिल्ला समन्वय समिति लगिएको थियो । सर्बदलीय बैठकपछि मतगणना शुरु गर्ने तयारी गरिएको छ ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन । यसअघीको निर्वाचनमा कुल ७० हजार ६ सय ५१ मतदाता रहेको कास्की २ मा अहिले १ हजार २ सय २० जना मतदाता थपिएर ७१ हजार ८ सय ७१ पुगेको हो । कास्की–२ मा नेकपाकी विद्या भट्टराई अधिकारी, नेपाली कांग्रेसबाट खेमराज पौडेल, समाजवादी पार्टीबाट ईञ्जिनियर धर्मराज गुरुङ, राप्रपाबाट रोमबहादुर भण्डारी, राप्रपा संयुक्तबाट गंगा मल्ल, साझा पार्टीबाट रजनी केसी, विवेकशील नेपाली दलबाट जमुना शर्मा, नेपाली कांग्रेस बिपीबाट चन्द्रबहादुर रानाभाट, नेकपा मालेबाट टेकनाथ भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट बिरबहादुर विश्वकर्मा र मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ चुनावी प्रतिष्पर्धामा छन् ।

त्यस्तै स्वतन्त्रबाट कमलजंग कुँवर, यक्षप्रसाद पंगेनी, लक्ष्मीकुमारी भुजेल, सुनिल भुषाल, उमनाथ गौतम, दीपक रेग्मी, नवराज बास्तोला, रनबहादुर दमै र पुरुषोत्तम खनाल रहेका छन् । स्वतन्त्र उम्मेद्वार सुनिलबहादुर कोइरालाको उम्मेद्वारी कायम रहेपनि उनले पछि नेकपालाई समर्थन जनाएका थिए ।

४ ठाउँ बम विष्फोट

प्रतिनिधि सभाको एकमात्र निर्वाचन हुने कास्की–२ मा निर्वाचन चलिरहँदा ४ ठाउँमा बम बिष्फोट भएको छ । निर्वाचनको दिन शनिबार पोखराका विभिन्न ४ ठाउँमा बम विष्फोट भएको हो ।

पोखरा–१६ मा एकाविहानै बम विष्फोट भएको थियो । पोखरा–१६ स्थित शान्ति माविमा निर्वाचन सुरु हुनु भन्दा करीब १५ मिनेट अघि नै बम विष्फोट भएको थियो । त्यसको करीब १५ मिनेटपछि सरस्वती टिका मावि भरतपोखरीमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सरस्वती टिका माविको २ सय मिटर तल पुण्डिखौलामा निर्वाचन शुरु हुने समय विहान ठीक ७ बजे विष्फोट भएको हो । त्यस्तै पोखराको नयाबजारस्थित नवप्रभात माविको मतदान स्थलमै बम विष्फोट भएको थियो । मतदान भइरहेको बुथभन्दा करीब २० मिटर टाडा मतदान स्थलमै विहान करीब ८ बम विष्फोट भएको हो । बम भित्र ढुंगा राखिएको छर्रा बम विष्फोट हुँदा केहिबेर मतदानसमेत स्थगित भएको थियो । तर वातावरण सहज भएपछि पुनः मतदान प्रक्रिया अगाडि बढाइएको थियो ।

त्यस्तै, पोखरा १६ स्थित चण्डिका विद्यालयको मतदानस्थल नजिकै बम विष्फोट भएको थियो । त्यहाँ भने दिउँसो मतदान चलिरहेका बेला बम विष्फोट भएको हो । चार वटै ठाउँमा भएको विष्फोटबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । विष्फोट गराउने व्यक्ति र समूहको खोजी भइरहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्कीले बताए ।

मतदान स्थलमै बम विष्फोट भएपछि मतदाता त्रसित बनेका थिए । उनीहरुले सुरक्षा ब्यबस्था चुस्त नबनाउँदा मतदान स्थलमै विष्फोट हुने अवस्था आएको टिप्पणी गरेका छन् । तर कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले भने सुरक्षा ब्यबस्था कडा पारेको दाबी गरे । छिटपुट घट्ना हुनुलाई सामान्य मान्नुपर्ने भन्दै उनले मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्ने वातावरण मिलाएको बताए ।

You might also like

Comments are closed.