कुमुदिनीमा चिनियाँ वृत्तचित्र र फोटो प्रदर्शनी

आर्थिक आवाज
पोखरा । पोखराको कुमुदिनी होम्स माविमा चिनियाँ वृत्तचित्र र फोटो प्रदर्शनी शुरु भएको छ । कुमुदिनी परिसर गैहपाटन पोखरामा शुरु प्रदर्शनी विहिबारसम्म जारी रहने छ । चिनियाँ सांस्कृतिक केन्द्र नेपालको आयोजनामा कुमुदिनी होम्स्मा सो प्रर्दशनीको आयोजना गरिएको हो ।

बुधबार एक कार्यक्रमबीच पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसी, सांस्कृतिक केन्द्रकी प्रमूख सिताइ पाइमो र निर्देशक स्याउ च्याङले संयुक्त रुपमा प्रदर्शनीको उद्दघाटन गरेका हुन् । कार्यक्रममा मन्तव्य राख्दै महानगर पालिकाका प्रमुख जिसीले चिनियाँ भाषा, संस्कृति र विकासका बारेमा विद्यार्थीहरुलाई जानकारी उद्देश्यले प्रर्दशनी आयोजना गरेकोमा आयोजकहरुलाई धन्यवाद दिए ।

चीनले पछिल्लो समयमा गरेको विकास र प्रगति विश्वका लागि नै उदाहरणीय भएको भन्दै छिमेकी नेपालले पनि त्यसबाट फाइदा लिन सक्ने उनले बताए । केही समय अगाडि चीनका राष्ट्रपति सिजिङ पिङले गरेको नेपाल भ्रमणले दुई देशवीचको सम्बन्ध मजवुत पारेको स्मरण गर्दै विद्यालयस्तरमा हुने यस्ता कार्यक्रमले जनस्तरमा पनि महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए ।

कार्यक्रममा चिनियाँ सांस्कृतिक केन्द्रकी प्रमुख पाइमाले नेपाल र चीनबीचको मित्रता थप बलियो बनाउन थुप्रै कार्यक्रमहरु आयोजना हुने गरेको बताइन् । उनले दुई देशबीच लामो समयदेखि सम्बन्ध रहेको बताउँदै पोखरामा आयोजित यो कार्यक्रमले पनि त्यसमा थप योगदान गर्ने विश्वास व्यक्त गरिन् । सो अवसरमा उनले कुमुदिनीको प्रशंसा गर्दै कार्यक्रम आयोजना गरेर चीनको संस्कृति बारे विद्यार्थीहरुमा जानकारी गराउन नेतृत्वदायी भूमिका खेलेको बताइन् ।

विद्यालयका अध्यक्ष अशोक पालिखेले चिनियाँ भाषा, संस्कृति र विकासका बारेमा विद्यार्थीहरुलाई अवगत गराउन प्रदर्शनी महत्वपूर्ण अवसर बनेको जानकारी दिए । अध्यक्ष पालिखेका अनुसार कुमुदिनीका कक्षा ५देखि ७ सम्मका विद्यार्थीहरुलाई चिनियाँ भाषाको कक्षा समेत संचालन हुँदै आएको छ ।

कार्यक्रममा सहभागी महानगर प्रमूख, सांस्कृतिक केन्द्रका प्रमुख र निर्देशक सहितका अतिथिहरुले कुमुदिनी परिसरमा रहेको जेके चित्रकला संग्राहलयको पनि भ्रमण गरेका थिए । संग्रहालयमा नेपालका प्रख्यात चित्रकारहरुले कोरेका चित्रहरु संग्रह गरिएको छ । संग्रहालयको निःशुल्क भ्रमण गर्न सकिने विद्यालयका अध्यक्ष पालिखेले जानकारी दिएका छन् ।

कार्यक्रममा कुमुदिनीमा विद्यार्थीहरुले चिनियाँ गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । प्रदर्शनीमा चीनका ग्रामीण भेगका विभिन्न २० वटा फोटो प्रर्दशनीमा राखिएका छन् । विद्यार्थीलाई चिनियाँ लिपी र पेपर क्राफ्टबारे समेत प्रशिक्षण दिइने छ । चीनको परिचय झल्काउने, चिनियाँ विकास र महत्वकांक्षी परियोजना वान बेल्ट वान रोड (बिआरआइ) बारे विभिन्न वृत्तचित्रहरु प्रदर्शन गरिएका छन् ।

प्रदर्शनीमा पोखराका अन्य विद्यालयका विद्याथीहरुले सहभागिता जनाउने बताइएको छ । नेपालमा रहेको चिनियाँ सांस्कृतिक केन्द्रले गत ३ वर्षदेखि विभिन्न कलेज तथा विद्यालयहरुमा यस्ता कार्यक्रम आयोजना गर्दै आइरहेको छ । विद्यार्थीहरुलाई चिनियाँ भाषा, संस्कृति र विकास बारेमा जानकारी दिने उद्देश्यले आगामी दिनमा कार्यक्रम गर्ने जानकारी केन्द्रले दिएको छ ।

You might also like

Comments are closed.