कृषि उपज खरिद बिक्री केन्द्र चाँडै सञ्चालनमा आउँदैछः बिनोद श्रेष्ठ

बिनोद श्रेष्ठ
उपाध्यक्ष तथा महोत्सव सहसंयोजक
लेखनाथ उद्योग वाणिज्य संघ

पुस ३ गतेदेखि लेखनाथ महोत्सव हुँदैछ । महोत्सवको प्रमुख उद्देश्य भनेको स्थानीय कृषिजन्य उत्पादनको बजारीकरण गर्नु नै हो । लेखनाथ र यस आसपासका क्षेत्रमा उत्पादन हुने कृषिजन्य सामग्रीहरु जुन बजारको अभावमा मूल्य नपाउने, खेर जाने स्थिति थियो, त्यसको अन्त्यका लागि महोत्सव शुरु गरेका हौं । अहिले पनि हाम्रो प्रमुख प्राथमिकता स्थानीय कृषिजन्य उत्पादनको बिक्री वितरण नै हो ।

महोत्सवबाट प्राप्त रकम पनि सामाजिक क्षेत्रमा लगाउने गरेका छौं । हामीले स्थानीय क्लब, आमा समूहलगायतमा तालिम तथा सीपमूलक प्रशिक्षण गराउने गरेका छौं । सरसफाई, सचेतनामूलक कार्यक्रम लगायतलाई पनि निरन्तरता दिदै आएका छौं ।

महोत्सवबाट प्राप्त आम्दानीकै प्रमुख हिस्साले पोखरा महानगरपालिकासँग मिलेर हामीले कृषि उपज खरिद बिक्री केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं । महोत्सव स्थल नजिकै निर्माण भइरहेको यो कृषि उपज खरिद बिक्री केन्द्र २ करोडको लागतमा निर्माण गरिन लागेको हो । यसमा महानगरपालिकाको १ करोड र लेखनाथ उद्योग वाणिज्य संघले १ करोड खर्च गरेर बनाइदैछ । यो अबको २ महिना भित्र सञ्चालनमा आउँछ । यो सञ्चालनमा आएपछि लेखनाथ क्षेत्र र आसपासका रुपा गाउँपालिका, मादी र भरतपोखरी लगायतका क्षेत्रका कृषिजन्य उत्पादनले बजार पाउँछ भने उपभोक्ताले पनि सहजै कृषि उपज खरिद बिक्री केन्द्रमा सुपथ मूल्यमा पाउँछन् ।

महोत्सवले जातजाति बिचको एकतालाई पनि मजबुत बनाउने काम गरेको छ । महोत्सवमा सबै जातजाति सहभागी हुने, आ–आफ्नो जातीय पहिचान झल्कने भेषभूषासहितको झाँकी प्रस्तुति र दैनिक रुपमा प्रस्तुत हुने सांस्कृतिक कार्यक्रमले सबैलाई जोड्ने काम गरेकाले यसले जातीय सद्भाव कायम गर्नपनि मद्दत पुगेको छ ।

You might also like

Comments are closed.