के तपाईं फुटपाथमा ब्यापार गर्दै हुनुहुन्छ ? हटाई हाल्नुस, नत्र महानगरले कार्वाही गर्ला ।

सन्देश श्रेष्ठ
पोखरा । के तपाईं पोखराका मुख्य बजार क्षेत्रको सडकपेटीमा ब्यापार गर्दै हुनुहुन्छ ? यदि त्यसरी सडकपेटी ढाक्नेगरी फुटपाथमै व्यापार गर्दै हुनुहुन्छ भने तुरुन्तै हटाई हाल्नुस् । नत्र तपाईंलाई महानगरले जरिवाना तिराउन सक्छ । जरिवाना मात्रै होइन तपाईंको पसल पनि महानगरले हटाउने अभियान शुरु गरेको छ । फुटपाथ पसलले पैदल यात्रु आवतजावतमा असर पर्नुका साथै पोखराको सुन्दरता नै कुरुप बन्न थालेपछि पोखरा महानगरपालिकाले बजार क्षेत्रका फुटपाथ पसलहरु हटाउने अभियान शुरु गरेको हो ।

महानगरले आइतबार महेन्द्रपुलबाट फुटपाथ हटाउन शुरु गरेको छ । जसको नेतृत्व पोखरा महानगरपालिकाका नगर प्रहरी नायव निरीक्षक पुरुषोत्तम थापाले गरेका छन् । फुटपाथ हटाउन प्रहरी, पोखरा उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्सलगायतका व्यापारिक संघसंस्थाका प्रतिनिधि पनि सँगसँगै हिंडेका छन् ।

महानगरले फुटपाथमा रहेका नाङ्ले पसल, सटर बाहिर निकालेर राखिएका सामानहरुदेखि सटर भित्र रहेको पसल बाहिर अर्को पसल राख्ने सबै पसलहरु हटाउने भएको छ । शुरुमा फुटपाथमा पसल राख्नेहरुलाई सम्झाई बुझाइ गरेर पसल हटाउन लगाइने छ । पहिलो पटक सम्झाउँदा अटेर गरि पुनः फुटपाथमा पसल राखे ५ हजारदेखि १० हजारसम्म जरिवानासहित पसल हटाउने छ । पहिलो पटक फुटपाथ हटाउन भनेर दिइएको निर्देशन एक हप्ताभित्रमा पनि नहटाए कार्वाही प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।

महेन्द्रपुलबाट शुरु भएको अभियान सहरका सबै क्षेत्र पुग्ने नगर प्रहरी नायव निरीक्षक थापाले जानकारी दिए । उनले पहिलो दिन महेन्द्रपुल, पालिखेचोकदेखि गैह्रापाटना हुँदै चिप्लेढुंगा सिद्धार्थचोकसम्म, दोस्रो दिन पृथ्वीचोकदेखि सभागृहचोक, सृजनाचोक हुँदै न्यूरोडसम्म, तेस्रो दिन बिरौटा र चौथो दिन बगर क्षेत्रमा फुटपाथ पसल हटाइने बताए ।

jutta mela

अबदेखि फुटपाथ सधैं खुल्ला राख्ने उद्देश्यले फुटपाथ हटाउन शुरु गरिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । फुटपाथ पैदल यात्री हिंड्नका लागि बनाइएको हो, ‘तर फुटपाथ ओगटेर पसल राख्दा यात्रीलाई सास्ती भयो, अनि हेर्दापनि पोखरा कुरुप भयो, त्यसैले यो अभियान सञ्चालन गरेका हौं ।’ प्रमुख जिसीले पहिले पनि फुटपाथ खाली गराउने गरिएको भन्दै अहिले त्यसैलाई निरन्तरता दिइएको बताए ।

२०७१ सालमा पनि फुटपाथ हटाउने अभियान शुरु गरिएको थियो । बाक्लो मात्रामा रहेका फुटपाथ पसलहरु हटाएर पृथ्वीचोक, नयाँबजार, चिप्लेढुंगा, सिद्धार्थचोक, सृजनाचोक लगायतका क्षेत्रमा सस्तो बजार सञ्चालन गरी उनीहरुलाई प्रतिस्थापन गरिएको थियो । तत्कालीन उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीको निर्देशन र तत्कालीन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीबबहादुर कोइरालाको संयोजकत्वमा फुटपाथ हटाउने कार्य भएको थियो ।

फुटपाथ हटाउने अभियानलाई नागरिक समाजले स्वागत गर्दै सहयोग गरेका थिए । तर समय क्रमसँगै फुटपाथमा पुनः ब्यापार शुरु भएको छ । शुरुमा फाट्टफुट्ट भएपनि अहिले बाक्लो मात्रामा फुटपाथ पसलहरु छन् । महेन्द्रपुलमा ब्यापार गर्दै आएकी मिना सुबेदीले अन्यले फुटपाथमा ब्यापार गर्न थालेपछि आफूले पनि सटर भित्रको ब्यापार बाहिर निकालेर गर्न थालेको बताइन् । उनले भनिन्, ‘अरुको हटाइन्छ भने मेरो हटाउन मलाई समस्या छैन, तर अरुले फुटपाथमा ब्यापार गर्दा आफ्नोमा व्यापार घट्यो, त्यसैले फुटपाथमा निकालेर ब्यापार गर्न बाध्य भएकी हुँ ।’

महानगरले सबैलाई समान तरिकाले फुटपाथबाट हटाउने जनाएको छ । सडक पेटिमा सामान राख्नै नपाउनेगरी फुटपाथ क्लियर गर्ने प्रमुख जिसीले बताए ।

You might also like

Comments are closed.