कोरोना रोक्न कांग्रेसले ल्याएको संकल्प प्रस्ताव बहुमतद्वारा अस्वीकृत

 

पोखरा ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि १ घर १ पिसीआर टेस्ट गर्न माग गर्दै कांग्रेसले ल्याएको संकल्प प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको छ ।

नेपाली कांग्रेसका तीन सांसदहरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले गण्डकी प्रदेशसभामा दर्ता गरेको संकल्प प्रस्ताव विहीबार बसेको प्रदेश सभा बैठकले बहुमतद्वारा अस्वीकृत गरेको हो । संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गर्ने प्रयास असफल भएपछि विहीबार बसेको बैठकमा निर्णयार्थ पेश गरिएको थियो । सत्तापक्षमा बहुमत भएकाले विहीबारको बैठकमा सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रस्तावको बिपक्षमा बहुमतले मत जाहेर गरे भने प्रस्तावको पक्षमा बिपक्षी सांसदहरुले मत जाहेर गरे ।

कांग्रेस सांसद त्रय खड्का, श्रेष्ठ र गुरुङले राखेको संकल्प प्रस्तावमा गण्डकी प्रदेशमा १ घर १ पिसीआर टेस्ट गर्ने ब्यबस्था गर्दै प्रक्रिया थालनी गर्न प्रदेश सरकारलाई दिन माग गरेका थिए । त्यस्तै संकल्प प्रस्तावमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोके अनुसारको क्वारेन्टिन ब्यबस्था गर्नुपर्ने, स्वास्थ्य जनशक्ति, भेन्टिलेटर लगायत आवश्यक स्वास्थ्य उपकरण आइसियु र आइसोलेसन कक्षको ब्यबस्था एवम् निर्माण गर्नुपर्ने तथा कोरोनाका कारण मृत्यू भएकाहरुको शव ब्यबस्थापन गर्न प्रदेशका ११ वटै जिल्लामा स्थान ब्यबस्था गर्न माग गरिएको थियो ।

प्रस्तावकको तर्फबाट विहीबारको संसद बैठकमा प्रदेश सभा सदस्य कुमार खड्काले कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारलाई पटक÷पटक ध्यानाकर्षण गराएपनि सम्बोधन नभएकाले संकल्प प्रस्ताव ल्याउनुपरेको प्रष्टीकरण दिए । उनले संकल्प प्रस्ताव पारित गरेर जाँदा कोरोना रोकथाम र नियन्त्रण प्रभावकारी हुने भन्दै यसमा बिपक्षीले ल्यायो भनेर सानो मन नगर्न सत्तापक्षलाई आग्रह गरे ।

संकल्प प्रस्तावबारे सरकारको तर्फबाट विभागिय सामाजिक विकास मन्त्री नरदेवी पुनले जवाफ दिदै कोरोना रोकथामका लागि संकल्प प्रस्ताव जरुरी नभएको बताइन् । सरकारले आफ्नो तर्फबाट कोरोना रोकथामका लागि कुनै कसुर बाँकी राखेको छैन,‘उनले भनिन्,‘आफ्नो औकात अनुसार सरकारले भरपुर मिहिनेत गरिरहेकै छ ।’ उनले क्वारेन्टिन सुधार्ने, आइसोलेसन सुविधा सम्पन्न बनाउने तथा बिस्तार गर्ने, पिसीआर मेसिन थप्नेलगायतका कार्य गर्नैपर्ने भएकाले त्यसतर्फ सरकार लागिरहेको बताइन् । उनले पिसीआर टेस्टको दायरा बढाउन पिसीआर मेसिन थप एउटा चाँडै आउने र दक्ष प्राविधिक तयार पार्ने काम भइरहेकोपनि उल्लेख गरिन् ।

यसअघी प्रस्तावमाथि भएको छलफलमा भाग लिदै सत्तापक्षीय र बिपक्षी सांसदहरुले जुहारी खेले । परम्परागत रुपमा सत्तापक्षले संकल्प प्रस्तावको बिरोध गर्दै त्यसको आवश्यक्ता नभएको बताए भने बिपक्षीहरुले सरकारले नसकेपछि प्रदेश सभाले नै निर्देशन दिनुपर्ने भएकाले संकल्प प्रस्ताव आवश्यक भएको जिकिर गरे । सत्तापक्षीय सांसदहरु गायत्री गुरुङ, मायानाथ अधिकारी, मोहन रेग्मी, राजिव पहारीलगायतले कोरोना रोकथाममा प्रदेश सरकारले राम्रो काम गरिरहेकाले सरकारलाई धन्यवाद दिनुपर्नेमा बिपक्षीले उल्टो संकल्प प्रस्ताव ल्याएर राजनीति गर्न खोजेको आरोप लगाए । बिपक्षी सांसदहरु मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ, सरिता गुरुङ, ओमकला गौतमलगायतले प्रस्ताव जनताको हितमा भएकाले सबै मिलेर पारित गर्नुपर्नेमा जोड दिएका थिए ।

You might also like

Comments are closed.