‘गण्डकी नदीजस्तै विकासमा उर्लिरहेको छ प्रदेश सरकार’ : मुख्यमन्त्री गुरुङ

सन्देश श्रेष्ठ
पोखरा, २३ वैशाख

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी नदीजस्तै गण्डकी प्रदेश सरकार विकासमा उर्लिरहेको बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २३ र २४ जोड्ने खहरे खोलामा निर्माण गर्न लागिएको पुलको सोमबार शिलान्यास गर्दै उनले प्रदेश सरकारले विकासको मूल फुटाइरहेको बताएका हुन् । पुल, पुलेसादेखि बाटो निर्माणका लागिपनि प्रदेश सरकार नै कुर्नुपरेको उनले बताए । हिजो केन्द्रीकृत राज्यसत्ता हुञ्जेल नआएको विकास अहिले प्रदेश सरकार आउने वित्तिकै हुन थालेको उनको भनाई छ । विकासमा देख्नुपर्छ प्रदेश सरकार–उनले भने,‘प्रदेश सरकार गण्डकी नदीजस्तै कञ्चन अनि पवित्र छ, गण्डकी प्रदेश सरकार गण्डकी नदीजस्तै विकासमा उर्लिरहेको छ ।’ उनले देशभरका ७६१ सरकार मध्ये गण्डकी प्रदेश सरकारले मात्र सहर र गाउँको विकासलाई समान रुपमा अगाडि बढाएको बताए ।

मुख्यमन्त्री गुरुङले विकासको प्रतिफल नआई समृद्धी प्राप्त नहुने बताए । प्रदेशबासीको घर÷घरमा विकास आउँछ–उनले भने,‘प्रदेश सरकार भोकाहरुको पेट भर्न चाहन्छ, नाङ्गाहरुको आङ भर्न चाहन्छ ।’ उनले जनताले अब पुल, बाटोको अभावमा बस्नु नपर्ने बताए । पुल नभएर जनता छुट्टिएर बस्नु पर्दैन–उनले भने,‘कुनैपनि गाउँ पुल नभएको हुँदैन ।’

jutta mela

मुख्यमन्त्री गुरुङले चाँडै चक्लाबन्दी ऐन ल्याउने बताए । चक्लाबन्दी गरेर खेती गर्नेलाई प्रोत्साहित गर्ने उद्धेश्यले चक्लाबन्दी ऐन ल्याउन लागेको उनले प्रष्ट्याए । कृषिको आधुनिकीकरण गर्नुपर्नेमा जोड दिदै उनले भने,‘अब निर्वाहमुखी खेती गर्ने होइन, पेट भर्ने हिसाबले मात्रै खेती गर्ने होइन, व्यवसायीक हिसाबले आम्दानी गर्ने, व्यवसाय गर्नेगरी खेती गर्नुपर्छ ।’ उनले चक्लाबन्दी गरेर खेती गर्नेले माग गरे ट्रयाक्टरसमेत प्रदेश सरकारले अनुदानमा उपलब्ध गराउने बताए । प्रदेश सरकार सँधै किसानको पक्षमा रहेको बताउँदै उनले भने,‘जाँगरिला हातहरुलाई, पौरखी हातहरुलाई प्रदेश सरकार सहयोग गर्न तयार छ ।’

मुख्यमन्त्री गुरुङले संघ सरकारले अड्कलेर बजेट दिदा प्रदेश सरकारले सोंचेजस्ता काम गर्न नसकेको बताए । संघले अड्कलेर बजेट पठाइरहेको छ–उनले भने,‘संघको अनुदानको आधारमा बाँच्नु परेकाले भनेजस्तो गर्न सकेका छैनौं, जनताको अपेक्षा पूरा गर्न सकेका छैनौं ।’

मुख्यमन्त्री गुरुङले पुल, पुलेसा तथा बाटाहरु समयमै निर्माण नगर्ने तथा कमसल काम गर्नेहरुलाई ब्ल्याक लिस्टमा राख्ने चेतावन दिए । ठेकेदारले समयमै काम गर्नुपर्छ–उनले भने,‘कामहरु गुणस्तरीय रुपमा गर्नुपर्छ, कमस गरेभने कार्वाही हुन्छ, त्यस्तालाई ब्ल्याकलिस्टमा राखिन्छ र पछि कुनैपनि काम दिइन्न, कार्वाहीपनि गरिन्छ ।’

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकारले गरेका कामहरु समयमै सम्पन्न हुने बताए । उनले जनतालाई सास्ती नहोस् भनेर सरकारले विकासका कामहरु धमाधम गरिरहेको बताए ।

प्रदेश सांसद रामजी बराल (जीवन)ले जनताको आँखामा छारो हाल्ने तरिकाको विकास गर्न नहुने बताए । उनले विकासले जनताको जीवनस्तर उकास्न र जीवनयापनलाई सहज बनाउनुपर्ने बताए ।

अर्का प्रदेश सांसद राजिव पहारीले पुल निर्माण गरेर जनतालाई थोरै भएपनि राहत दिन सफल भएको भन्दै आगामी दिनमा जनताको पक्षमा काम गरिरहने प्रतिबद्धता जनाए ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीले पुलसँगै पोखरा २३ र २४ मा विकास पुग्ने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.