‘गण्डकी प्रदेशका ऋणिहरुको वित्तीय अनुशासन राम्रो छ’

ऋषिराम ढकाल, गण्डकी प्रदेश प्रमुख, राष्ट्रिय वाणिज्य बैंक

पूर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले गण्डकी प्रदेशमा २८ वटा शाखाबाट वित्तीय सेवा प्रदान गरिरहेको छ । पछिल्लो समय बैंकले आफ्नो सेवा सुविधालाई निकै सुधार गर्न सफल छ । यसै क्रममा बैंकबाट प्रदान हुने सेवा सुविधा, लगानीका क्षेत्र, वित्तीय अवस्था लगायत विविध विषयमा केन्द्रित रहेर बैंकका गण्डकी प्रदेश प्रमुख ऋषिराम ढकालसँग आर्थिक आवाजले गरेको कुराकानीः

गण्डकी प्रदेशमा राष्ट्रिय वाणिज्य बैंकको वित्तीय अवस्था कस्तो छ ?

गण्डकी प्रदेशमा पर्यटन, साना तथा मझौला उद्योग व्यवसायमा बैंकिङ लगानी बढी हुन्छ । प्रदेशका ११ वटै जिल्लामा राष्ट्रिय वाणिज्य बैंकको २८ वटा शाखाहरुबाट वित्तीय सेवा उपलब्ध भइरहेको छ । अब छिट्टै २ वटा थप शाखाहरु सञ्चालनमा आउने छन् । प्रदेशमा  निक्षेप संकलन १० अर्ब रुपैयाँ र कर्जा लगानी १६ अर्ब रुपैयाँ छ । प्रदेशमा ग्राहक संख्या करिब ४ लाख छ ।

jutta mela

मुलुक संघीयतामा गइसकेको अवस्थामा बैंकले अंगिकार गरेको संघीय प्रणालीको ढाँचा कस्तो छ ? 

देश संघीय शासन प्रणालीमा गएसँगै बैंकिङ क्षेत्रले पनि संघीय प्रणाली अनुसार आफ्ना संरचना तयार पारेको छ । नेपाल राष्ट्र बैंकले तोके अनुसार नै हामी अहिले संघीय संरचना अनुरुप ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरी कारोबार संचालन गरिरहेका छौं । गण्डकी प्रदेशमा पनि प्रादेशिक कार्यालयमार्फत अन्य शाखाहरुको अनुगमन तथा निरीक्षण भइरहेको छ ।

कुन–कुन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्दै आइरहनुभएको छ ?

राष्ट्रिय वाणिज्य बैंकले सबै क्षेत्रहरुलाई प्राथमिकतामा राखी पोर्टफोलियो विविधीकरण गर्दै एकाग्र जोखिम (कन्सर्नट्रेसन रिस्क) कम गर्दै लगानी गरिरहेका छौं । यसमा पनि कृषि तथा व्यापार व्यवसाय नै प्राथमिकतामा देखिन्छन् ।

राष्ट्रिय वाणिज्य बैंकलाई कतिपयले झण्झटिलो बैंक भन्छन् । के भन्नुहुन्छ ?

अझै पनि कतिपय जनमानस पुरानै राष्ट्रिय वाणिज्य बैंक देख्नुहुन्छ । उहाँहरु हालसम्म पनि राष्ट्रिय वाणिज्य बैंक छिर्नुभएको छैन । जजसले यस बैंकसँग कारोबार गरिरहनुभएको छ, उहाँहरुलाई मात्र यसको खासियत र यसका सेवा सुविधाहरु तथा ग्राहकको केयरिङ थाहा छ । समय सापेक्ष रुपमा सेवालाई आधुनिकीकरण गर्दै छिटो छरितो ग्राहकमैत्री सेवा प्रदान गरिरहेका छौं ।

कर्जा र निक्षेपको औषत अनुपात कस्तो छ ?

राष्ट्रिय वाणिज्य बैंकको हालको कर्जा र निक्षेपको अनुपात ७७ प्रतिशत छ र सीसीडी अनुपात ७४ प्रतिशत छ । हामी कम्फर्ट जोनबाट काम गर्छौं ।

गण्डकी प्रदेशमा खराब ऋणको समस्या कत्तिको छ ?

अन्य प्रदेशको तुलनामा यहाँका उद्यमी, व्यवसायी र किसानहरुसंग वित्तीय ज्ञानको अनुशासन राम्रो देखिन्छ । जुनसुकै परिस्थितिमा पनि सावा, व्याज तथा किस्ता तिर्ने हैसियत राख्नुहुन्छ । यस प्रदेशको कर्जा प्राय असल बर्गमा नै देखिन्छ । राष्ट्रिय वाणिज्य बैंकको यस प्रदेशको ‘एनपिए लोन’ जम्मा ०.८५ प्रतिशत छ । केही केही कर्जाहरु मात्र समस्या ग्रस्त छन् । तिनीहरु पनि असुलीको प्रक्रियामा छन् ।

सामाजिक उत्तरदायित्वको बहन कसरी गरिरहनुभएको छ ?

बैंकले स्थानीय स्तरमा रहेका विद्यालय, कलेज, आमासमूह, सेना, प्रहरी तथा विभिन्न क्षेत्रमा वित्तीय साक्षरताका कार्यक्रमहरु संचालन गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका सहयोगहरु गर्दै आइरहेका छौं । हालसालै मात्र कास्की कारागारमा रहेका कैदी बन्दीहरुका लागि ५० थान विभिन्न पुस्तकहरु र ३ थान वाटर डिस्पेन्सर बितरण गरेका थियौं । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं ।

अन्त्यमा के भन्नुहुन्छ ?

राष्ट्रिय वाणिज्य बैंक हिजोको अवस्थामा छैन । बैंकको सेवा तथा सुविधामा धेरै सुधार भएको कुरा हाम्रा ग्राहक वर्गले बुझिसक्नुभएको छ । अझै पनि केही भ्रम छ भने सेवा लिएर बैंकलाई परीक्षण गर्नसमेत म आग्रह गर्दछु । हरेक उद्यमी तथा व्यवसायीलाई ओत लाग्न ठुलो छाता चाहिन्छ । त्यो छाता भनेको राष्ट्रिय वाणिज्य बैंक हो । अहिले हामी वित्तीय क्षेत्रमा अग्रणी स्थानमा रहेर कार्य गरेका छौं । पूर्ण सरकारी स्वामित्वको बंैक भएको नाताले यसका धेरै सबल पक्षहरु छन्, जुन ग्राहकले बुझ्न जरुरी छ । हामीले हाल निक्षेपमा ९.७५ प्रतिशतसम्मको उत्कृष्ट व्याजदर दिएको कुरा अवगत गराउन चाहन्छु ।

You might also like

Comments are closed.