गण्डकी प्रदेशको बर्खे अधिवेशन शुरु

उपलब्धीको रक्षा गर्दै अगाडि बढ्नुको विकल्प छैन : चुमान

सन्देश श्रेष्ठ
पोखरा, १५ जेठ

गण्डकी प्रदेशको बर्खे अधिवेशन शुरु भएको छ । बजेट अधिवेशनका रुपमा चिनिने यो अधिवेशन बुधबारदेखि शुरु भएको हो । अधिवेशनको पहिलो दिन गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख बाबुराम कुँवरले पठाएको अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरेका थिए । प्रदेश प्रमुखको पत्र वाचन लगत्तै अधिवेशन औपचारिक रुपमा शुरु भएको थियो । अधिवेशनको पहिलो दिन दलका नेताहरुले मन्तव्य राखेका थिए ।

उपलब्धीको रक्षा गर्दै अगाडि बढ्नुको विकल्प छैन: चुमान

मन्तव्य राख्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेश सरकारले ‘समृद्ध गण्डकी प्रदेश, सुखी गण्डकी प्रदेशबासी’ भन्ने नारालाई सार्थक बनाउन कोशेढुंगा सावित हुनेगरी बजेट ल्याउने बताए । गण्डकी प्रदेश सरकारले परिवर्तनको आकांक्षालाई पूरा गर्नेगरी योजना र बजेट ल्याउन लागेको छ–उनले भने,‘अबको बजेट जन अपेक्षा पूरा गर्नेगरी आउँदैछ ।’

मन्त्री चुमानले संघीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धीहरु जोगाउने र संरक्षण गर्नका लागि दृढतापूर्वक अगाडि बढ्नुको विकल्प नभएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेको र अब यसलाई ब्यबहारिक रुपमा बास्तविकतामा रुपान्तरणका निम्ति सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । देश धेरै अगाडि बढेकाले पछाडि फर्कनसक्ने अवस्था नरहेको उनको भनाई थियो । उपलब्धीको संरक्षण गर्नेबाहेक पछाडि फर्किने ठाउँ छैन–उनले भने,‘अगाडि बढ्नुको हामीसँग कुनै विकल्प नै छैन र छुटपनि छैन ।’ उनले अब पछाडि फर्किनु भनेको उल्टो दिशा पक्रनु भएको भन्दै त्यो दिशा पक्रिनु भनेको प्रतिगामीतर्फ फर्किनु भएको बताए ।

मन्त्री चुमानले अघिल्लो अधिवेशनमा प्रतिपक्षीपनि सत्तापक्षजस्तै भएर सहयोग गरेको भन्दै प्रतिपक्षी दलहरुको प्रशंसा गरे । हिउँदे अधिवेशनमा हामी एउटै पक्ष हो कि भन्ने आभाषजस्तोपनि लाग्यो मलाई–उनले भने,‘अब आगामी अधिवेशनमा पनि सहकार्य, समन्वय ब्यापक र विशेष हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले यसअघीका अधिवेशनमा सदासयता देखाएर सत्तापक्षलाई सहयोग ग¥यो भन्दैमा त्यसलाई कमजोरी नठान्न चेतावनी दिए । दुई तिहाईको दम्भले ग्रस्त वर्तमान सरकारले पछिल्लो एक वर्षमा केहिपनि नदिएको बताउँदै उनले भने,‘भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, महंगी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न वर्तमान सरकार असक्षम भयो ।’ वर्तमान सरकार आएपछि काण्डैकाण्ड भएको भन्दै उनले थपे,‘निर्मला हत्याकाण्ड, वलात्कार र हत्याको श्रृंखलाबद्ध घट्ना भए, सत्तापक्षकै नेता संलग्न भएर बालुवाटार जग्गा दर्ता काण्ड, वाइडवडी काण्ड, बुढी गण्डकी,सुन काण्डजस्ता दुई तिहाई सरकारको विशेष उपहार पाएका छन् ।’

नेता नेपालीले वर्तमान सरकारले मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोग र शिक्षा विधेयक ल्याएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाए । उनले सिएनएनजस्तो अन्र्तराष्ट्रिय संस्थाले भ्रष्टाचारीहरुले सरकार चलाएको देश हो भन्दापनि सरकारले कडा प्रतिवाद नगर्नुले स्वाभिमानी नेपालीको शिर निहुरिनका साथै प्रधानमन्त्री ओलीको शून्य सहनशिलतालाई माथ खुवाई दिएको टिप्पणी गरे ।

नेता नेपालीले संघ सरकारले संघीयतालाई आत्मसाथ गर्न नसकेको आरोप लगाए । संघ सरकार संघीयताको मर्म बिपरित हिंडेको छ–उनले भने,‘आजसम्म कर्मचारी समायोजन गर्न नसक्नु, धेरै स्थानिय तहमा कर्मचारी निल हुनु, प्रदेश सरकारलाई कर्मचारी भर्ना गर्न नदिनू, प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई संघ सरकार मातहत राख्नू, प्रदेश प्रहरी भर्ना गर्न नदिनू, कानून निर्माणमा नियन्त्रण गर्नुलगायतका क्रियाकलापले यसको पुष्टी गर्छ ।’ उनले प्रधानमन्त्री ओलीले प्रदेश सरकार संघ सरकारकै एकाई हो भनेर भन्नू र प्रदेशहरु किन छट्पटाएका हुन् भनेर अभिव्यक्ति दिनुले प्रधानमन्त्री संघीयता बिपरित मात्र नभई संविधानकै बिपरित रहेको प्रष्ट हुने तर्क गरे ।

नेता नेपालीले सरकारलाई विप्लव नेतृत्वको नेकपाप्रति निशेधको राजनीति नगर्न र नेकपालाई पनि वार्ताको माध्यमबाट समाधान खोजी संघीय लोकतान्त्रिक गणतन्त्रमा आउन नेपाली कांग्रेस संसदीय दलको तर्फबाट आग्रह गरे ।

नेता नेपालीले सरकारले गत वर्ष ल्याएको नीति तथा कार्यक्रममा समावेश ५० हजारलाई स्वरोजगार र एक लाखलाई रोजगारी दिने कार्यक्रम नारामा मात्रै सिमित भएको टिप्पणी गरे । उनले बहुप्रचारित होमस्टे कार्यक्रमपनि झञ्झटिलो कार्यविधीका कारण गाउँलाई आकर्षण गर्न नसकेको बताए । होमस्टे सञ्चालनमा खर्च गर्ने भनेपनि बाटो बनाउने, आमा समूहको भवन बनाउने लगायतमा खर्च गर्नु बजेटको कार्यविधी बिपरित भएको उनले तर्क गरे । कृषिमा कार्यविधीलाई नै संसोधन गरेर रकम बाँडिएको भन्दै त्यसरी रकम बाँडिदा आस्थाका आधारमा विभेद गरिएको बताए । मोडल फार्मको नाममा अनुदान दिइदा सत्ता पक्षका लाई दिने र प्रतिपक्षी दलकालाई नदिने गरेको उनको आरोप थियो । उनले विधी र प्रक्रिया बिपरित अनुदान वितरण गरिएको भन्दै यसबारे मन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म संसदीय प्रक्रिया अगाडि बढ्न नदिने चेतावनीसमेत दिए ।

नेता नेपालीले कालीगण्डकी नदी गण्डकी प्रदेशमा पर्ने भएपनि एकतर्फी रुपमा अर्को प्रदेशले डाइभर्सन गर्न लागेको भन्दै उक्त कार्य रोक्न प्रदेश सरकारलाई आग्रह गर्दै त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दृढतापूर्वक सहयोग गर्ने बताए ।

नेता नेपालीले यौन कृयाकलाप र लागू पदार्थसमेत खान पाउने खालको ईञ्जोय जोन बनाउने भनेकोबारे पर्यटनमन्त्रीले जवाफ दिनुपर्ने बताए । सांसदहरुलाई सहभागि नगराउनुको परिणाम बजेट खर्च गर्न नसक्नुमा देखिएको भन्दै आगामी बजेटमा सांसदहरुलाईसमेत सहभागि गराएर बजेट कार्यान्वयन गर्नुपर्ने उनको भनाई थियो । त्यस्तै, स्थानिय स्तरमा निर्माण हुने बाटो निर्माणका लागि उपभोक्ता समिति बनाउनु सामान्य कुरा भएपनि प्रदेशबाटै उपभोक्ता समिति बनाएर स्थानिय सबै उपभोक्तालाई नसमेट्नु गम्भीर विषय भएको बताए । साथै उनले आस्थाका आधारमा कर्मचारीको सरुवा र बढुवा गरेको भन्दै आगामी दिनमा पक्षपात नगर्न सचेत गराए ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले नेपालमा ३ प्रकारको सरकार भएको बताउँदै नेपाल सरकार, छायाँ सरकार र भूमिगत रहेको विप्लव नेतृत्वको नेकपाको जन सरकार भन्दै व्यंग्य गरे । उनले शान्ति सुरक्षा कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, महंगी नियन्त्रण गर्न सरकार असफल भएको बताए । थापाले दामासाहीका आधारमा बजेट विनियोजन भएमा गरीब, निमुखा र उत्पीडित समुदाय लाभान्वित नहुने भएकाले बजेट समस्या र आवश्यक्ताका आधारमा हुनुपर्ने बताउँदै दामासाहीका आधारमा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गराए ।

साविक नयाँशक्ति पार्टीका हरिशरण आचार्यले प्रदेश राजाले छाडेको फिरादीजस्तो भएको टिप्पणी गरे । उनले रुञ्चे स्वरले हैन सशक्त ढंगले अगाडि बढ्न प्रदेश सरकारलाई सुझाव दिदै भने,‘हैनभने कसैले दुई हात थाप्दैमा संघीयता थामिदैन ।’

प्रदेश सभा नियमावली प्रतिवेदन प्रदेश सभामा प्रस्तुत

गण्डकी प्रदेश सभा नियमावली संसोधन समितिको प्रतिवेदन प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा समितिका सभापति मायानाथ अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका हुन् । प्रस्तुत प्रतिवेदनमाथि अर्को बैठकबाट दफावार छलफल हुने गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । प्रदेश सभाको अर्को बैठक यहि जेठ १७ गते अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

You might also like

Comments are closed.