गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्र ५४ प्रतिशत कर्मचारीको भरमा

सन्देश श्रेष्ठ
पोखरा, २७ कात्तिक । गण्डकी प्रदेशमा दरबन्दीको ४६ प्रतिशत स्वास्थ्य कर्मचारी सेवामा नखटिएको पाइएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको ‘स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी’ को अवसरमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा.बिनोद विन्दु शर्माले ५४ प्रतिशत स्वास्थ्य कर्मचारी मात्रै सेवामा खटिने गरेको जानकारी दिएका हुन् । उनका अनुसार गण्डकी प्रदेशमा कुल ६९८ जना स्वास्थ्य कर्मचारी रहेकोमा ३७७ रहेको र ३२१ जना कर्मचारीको दरबन्दी खाली रहेको छ ।

४६ प्रतिशत कर्मचारी नखटिदा स्वास्थ्यमा चाहेजस्तो सेवा दिन नसकिएको निर्देशक शर्माले बताए । उनले भने,‘हामीसँग कर्मचारी अभाव छ, ५४ प्रतिशत कर्मचारीले शतप्रतिशत सेवा दिने प्रयास गरिरहेका छौं, तर चाहेजस्तो सेवा भने दिन सकिएको छैन ।’ उनले पव्लिक हेल्थ र स्वास्थ्य शिक्षामा ४२ प्रतिशत मात्रै कर्मचारी रहेको र ५८ प्रतिशत कर्मचारीको दरबन्दी खाली रहेको जानकारी दिए । त्यस्तै मेडिकल डाक्टरहरुको दरबन्दी ४९ प्रतिशत अझै खाली रहेको र ५१ प्रतिशतले धानीरहेको अवस्था रहेको उनले बताए ।

जनशक्तिको अभावमा सेवा प्रभावकारी बनाउन समस्या रहेको भन्दै उनले खाली रहेको दरबन्दीमा पदपूर्ति गरिदिन सरकारलाई आग्रह गरे । हामी सेवा दिन सक्छौं,‘उनले भने,‘तर यहि अवस्थामा सकिदैन, त्यसैले पहिलो शर्त भनेको तत्काल पदपूर्ति गर्नु हो ।’ उनले एकाध घट्नाका लागि हेलिकोप्टर प्रयोग गरेर हतार हतार आकस्मिक उपचारका लागि उद्धार गर्नु भन्दा भएको दरबन्दीमा पदपूर्ति गरेर सहज सेवा दिनु सयौं गुणा राम्रो र हितकारी हुने बताए ।

jutta mela

प्रदेश स्वास्थ्य निर्देशनालयले स्वास्थ्य क्षेत्रमा बजेट एकदमै न्यून हुँदा सेवा प्रभावकारी बनाउन नसकिएको पनि बताएको छ । उसले कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा हुनुपर्ने बताएको छ । हाल स्वास्थ्य क्षेत्रमा देशको कुल बजेटको ४.४८ प्रतिशत मात्रै विनियोजन गरिदै आएको छ ।

स्वास्थ्य निर्देशक शर्माले गण्डकी प्रदेशमा ५ वर्ष मुनिको बाल मृत्यू दर प्रति हजारमा २७ जना रहेको छ । जबकी यो राष्ट्रिय बाल मृत्यू दर भन्दा १२ जनाले कम हो । राष्ट्रिय बाल मृत्यू दर प्रति हजारमा ३९ जना रहेको छ । त्यस्तै गण्डकी प्रदेशमा जन्म मृत्यू दर प्रति हजारमा २३ जना रहेको छ । यो राष्ट्रिय जन्म मृत्यू दर भन्दा २ प्रतिशतले बढी हो । मातृ मृत्यू दरपनि नघटेको जनाइएको छ । मातृ मृत्यूदर नघट्नुको कारण म्याटेरनल वेटिङ रुम नहुनु, प्रत्येक स्थानिय तहमा प्राथमिक अस्पतालको अभाव, स्वास्थ्य उपकरण नहुनुलगायतका समस्या रहेको उनल ेबताए ।

गण्डकी प्रदेशमा कुष्ठ प्रभावितको संख्या नगन्य मात्रामा रहेको स्वास्थ्य निर्देशक शर्माले जानकारी दिए । प्रति हजारमा एक भन्दा कम भएको अवस्थालाई कुष्ठ प्रभावित नभएको मानिने भएकाले गण्डकी प्रदेश कुष्ठ प्रभावित नभएको क्षेत्र भइसकेको उनले दाबी गरे ।

गण्डकी प्रदेशको प्रमुख रोगहरु मध्ये अपर रेस्पिरेटोरी ट्रयाक्ट इन्फेक्सन पहिलो नम्बरमा रहेको छ । त्यस्तो दोश्रोमा ग्याष्ट्रिक, तेश्रोमा दुर्घटना, चौथोमा टाउको सम्बन्धी, पाचौंमा लोअर रेस्पिरेटोरी ट्रयाक्ट इन्फेक्सन, छैटौंमा उच्च रक्तचाप, सातौंमा टन्सिललगायतका समस्या रहेको निर्देशक शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा यस वर्ष ३ हजार २ सय ४२ जनामा डेंगु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै स्क्रब टाइफस ५१ जनामा, भाइरल इन्फ्लुएञ्जा २१७ र ४६ जनामा विषाक्त खानाले विरामी भएको पाइएको स्वास्थ्य निर्देशक शर्माले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालयले तत्काल पदपूर्ति गर्न, कर्मचारीहरुको दक्षता अभिबृद्धिका लागि आवश्यक तालिम ब्यबस्थापन, प्रादेशिक सूचना ब्यबस्थापन प्रणाली स्थापना गर्न, संघ, प्रदेश र स्थानिय तहबीच समन्वय, सहकार्य र सह अस्तित्वको साझेदारी प्रवभावकारी बनाउने, स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य उपकरणहरुको ब्यबस्थापन, प्रादेशिक कन्भेन्सनल हल निर्माण, प्रादेशिक स्वास्थ्य विभाग स्थापना, प्रादेशिक आयुर्वेदिनक अस्पताल स्थापनालगायतमा ध्यान दिइ स्वास्थ्य क्षेत्रमा बजेट बृद्धि गर्न माग गरेको छ ।

You might also like

Comments are closed.