पोखरा ।
गण्डकी प्रदेशमा हालसम्म एक तिहाई भन्दा बढी रोपाईं सकिएको छ गण्डकी प्रदेशमा मध्य असार सम्ममा ३६.२७ प्रतिशत रोपाईं सम्पन्न भएको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक निलकण्ठ पोखरेलले जानकारी दिए ।
असार १५ गतेसम्ममा अघिल्लो वर्षको तुलनामा गण्डकी प्रदेशमा झण्डै १ प्रतिशत बढी रोपाईं भएको छ । अघिल्लो असार १५ गतेसम्ममा ३५.८० प्रतिशत रोपाईं भएको थियो ।
गण्डकी प्रदेशमा यस वर्ष हालसम्म कास्कीमा ५५ प्रतिशत, म्याग्दीमा ७५ प्रतिशत वागलुङमा ४५ प्रतिशत, तनहुँमा ३७.१० प्रतिशत, स्याङ्गजामा ३५ प्रतिशत, नवलपुरमा ३३.८५ प्रतिशत तथा गोरखा र लमजुङमा समान २०÷२० प्रतिशत तथा सबैभन्दा कम पर्वतमा १५ प्रतिशत रोपाईं भएको छ ।
गण्डकी प्रदेशमा हालसम्म भएको रोपाईं प्रगति राम्रो भएको प्रदेश निर्देशक पोखरेलले बताए । मनसुन छिटै शुरु हुनु, कोरोना कहरका कारण शहरबाट मान्छे गाउँ फर्किनु, जागिरमा भएकाहरु घरमै फुर्सदिलो हुँदा जनशक्ति बढ्नु र परम्परागत भन्दा यान्त्रिकीकरणमार्फत खेती गर्ने संस्कृति बढ्दा रोपाईं समयमै भइरहेको उनको भनाई छ ।
उनले असार मसान्त सम्ममा गण्डकी प्रदेशमा ९५ प्रतिशत रोपाई सकिनेसमेत दाबी गरे । बाँकी ५ प्रतिशत मकै काटेर धान रोप्नुपर्ने भएकाले साउन अन्तिमसम्मै पुग्नसक्ने उनको भनाई छ ।
गण्डकी प्रदेशका हिमाल पारिको जिल्ला मनाङ र मुस्ताङमा भने धानबाली लगाईंदैन ।
Comments are closed.