गण्डकी प्रदेशमा नेकपाको पालिका संयन्त्र विघटन

सन्देश श्रेष्ठ
पोखरा, बैशाख १०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले पालिका संयन्त्र विघटन गरेको छ । नेकपा गण्डकी प्रदेशको मंगलबार पोखरामा बसेको बैठकले गण्डकी प्रदेशका एघारै जिल्लाका पालिका संयन्त्र विघटन गर्ने निर्णय गरेको हो । बैठकले नगरपालिका, गाउँपालिका र वडा संयन्त्रहरु विघटन गरेको नेकपा गण्डकी प्रदेश सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिए ।

त्यस्तै पालिका संयन्त्रले हालसम्म गरेका निर्णयहरुको स्वामित्व प्रदेश कमिटीले लिने निर्णय गरेको छ । बैठकले पाटी संयन्त्र गठन नभएका पालिकाहरुमा जिल्ला कमिटीले सम्बन्धित पालिका र वडाहरुलाई परिचालित गरी कमिटी गठन गरेर अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउन निर्देशनपनि दिएको सचिव नेपालीले जानकारी दिए ।

jutta mela

बैठकले बागलुङ, पर्वत, म्याग्दी, मनाङ, मुस्ताङ, लमजुङ र तनहुँका पालिकाहरुमा तत्काल कमिटी बनाउने, तनहुँको व्यास नगर कमिटीमा सम्बन्धित नगरपालिकाका पार्टी वडा अध्यक्षहरुलाई समावेश गर्ने तथा अन्य थप्नुपर्ने भए बरिष्ठता र जेष्ठताको आधारमा संख्या थप्न पार्टीको तनहुँ जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा गण्डकी प्रदेशका ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टी एकताको मर्म अनुसार अगाडि बढ्न निर्देशन दिए । उनले सरकारले गरेका कामहरुको स्वामित्व ग्रहण गर्दै पार्टीलाई सरकारको सहयोगीको रुपमा उभ्याएर ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल बनाउनुपर्नेमा जोड दिए ।

सह ईञ्चार्ज खगराज अधिकारीले नेतृत्वमा को आयो भनेर कोकोहोला मच्चाउने र पूर्व पार्टीको नजरले आफ्ना र अर्का भन्दै छुट्याएर गुट उपगुट बनाउनेतर्फ नलाग्न पार्टी सदस्यहरुलाई निर्देशन दिए । उनले भने,‘अबपनि यो गुट र उ गुट भनेर लाग्ने हो भने पाटी बन्दैन, पार्टी बनाउनलाई सबैले गुटको अन्त्य गर्नुपर्छ ।’

नेकपा गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डे (उत्तम)ले पार्टीसँग देश बनाउने अभिभारा नेकपामा आएकाले त्यसका लागि तयार रहन आग्रह गरे । उनले गाउँगाउँमा गएर जनताको समस्या बुझ्दै समाधानका लागि लाग्न र पाटीलाई गतिशिल र प्रभावकारी बनाउनका लागि भूमिका खेल्न आग्रह गरे ।

You might also like

Comments are closed.